|

काठमाडौं :यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ भने जगदम्वा श्री पुरस्कार नृत्य सम्राट भैरव बहादुर थापालाई प्रदान गरिने भएको छ।

मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले उक्त कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको गुठिले जनाएको छ ।

जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरव बहादुर थापा नेपालको नृत्य विधामा प्रख्यात मानिन्छन्।  यसअघि ‘मदन पुरस्कार २०७७’का लागि नौ पुस्तक सार्वजनिक भएका थिए।

देशैभरबाट प्राप्त दुई सय २२ पुस्तकबाट मदन पुरस्कारका लागि ९ पुस्तक छानिएका थिए।

उक्त सूचीमा एकलव्यको देब्रे हात, ‍करिया, कल्प-ग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिंगो फुलांगे, मोक्षभूमि, रमिते, लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह रहेका थिए।

वि. सं. २०१२ सालमा मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो। वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान- विदुषीहरूलाई यो पुरस्कार प्रदान गरिन्छ।

गुठीले वि. सं. २०२५ सालसम्म ४/४ हजार रूपैयाँका चारवटा पुरस्कार (साहित्य, समाजशास्त्र र विज्ञान जस्ता चार विषयमा) प्रत्येक वर्ष दिन सक्ने व्यवस्था रहे पनि वि. सं. २०२६ सालदेखि २ वटा कृतिका लागि १०/१० हजार नगद पुरस्कार बनायो।

वि. सं. २०३३ सालदेखि एउटा सर्वोत्कृष्ट कृतिलाई रू. २५ हजारको नगद पुरस्कार दिने व्यवस्था भयो। वि. सं. २०४० सालमा रकम रू. ३० हजार पुग्यो। वि. सं. २०४२ सालमा रू. ४० हजार र वि. सं. २०४३ सालदेखि रू. ५० हजार गर्दै वि. सं. २०५१ सालदेखि उक्त राशि वृद्धि गरी रू. १ लाख थियो। वि. सं. २०७५ देखि यो पुरस्कारको राशि चारलाख रूपैयाँ  छ।

गुठीकी संस्थापिका रानी जगदम्वाको २०४५ साल साउन २९ गते निधन भएपछि गुठीकी संस्थापिकाको स्मृतिलाई चिरस्थायी राख्ने उद्देश्यले निधनको ४५ औँ दिन जगदम्बाश्री पुरस्कार विधिवत् स्थापना गरिएको हो ।

जगदम्बाश्री पुरस्कार मदन पुरस्कार गुठीबाट दिइने दोस्रो पुरस्कार हो । यो पुरस्कार गुठीको अक्षय कोषको वार्षिक ब्याजबाट प्रत्येक वर्ष श्रव्य-दृश्य वा अरू किसिमका कामबाट नेपाली वाङ्मयको श्रीबृद्धिमा उल्लेख्य योगदान पुर्‍याई देश-विदेशका प्रतिष्ठित विद्वान्, विद्वत-संस्था वा प्रतिष्ठानहरूलाई दिने गरिएको छ। दुबै पुरस्कार पुरस्कार प्रायः बडादशैँको नवमीमा प्रदान गरिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.