भन्सार कार्यालयको गेट अगाडि नाराबाजी

|

झापा : भद्रपुरका व्यापारी तथा कारोबारी आन्दोलनमा उत्रिएपछि भद्रपुर भन्सार कार्यालयको कामकाज ठप्प हुनुका साथै राजश्व सङ्कलन प्रभावित बनेको छ।

राजश्व अनुसन्धान कार्यालय इटहरीको हस्तक्षेप र ज्यादतीविरुद्ध उनीहरू आन्दोलित बनेका हुन्। आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि भन्सारको कामकाजसँगै राजश्व सङ्कलन प्रभावित बनेको भद्रपुर भन्सारका प्रमुख भन्सार अधिकृत प्रमोद पौडेलले बताए।

सामानको घोषणा गर्न कुनै पनि व्यापारी नआइदिँदा भन्सारको मासिक लक्ष्य पुर्‍याउन कठिनाइ हुन सक्ने उनको भनाई छ। आन्दोलित बनेका व्यापारी तथा कारोबारीले बिहीबार भन्सार कार्यालयको गेट अगाडि  नाराबाजी गरेका छन्।

हातमा प्लाकार्ड बोकेर उनीहरूले राजश्व अनुसन्धानको दादागिरी र हस्तक्षेप बन्द गर, व्यवसायीलाई काम गर्न देऊ, व्यवसायीलाई अनावश्यक दुःख नदेऊ जस्ता नाराबाजी गरेका थिए। भन्सारमा राजश्व तिरेको प्रज्ञापनपत्र र बिजबिजक देखाउँदा देखाउँदै राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले मङ्गलबार दुई पोका कपडा नियन्त्रणमा लिएको थियो।

राजश्वका अनुसन्धान अधिकृत रमेश ओझाको नेतृत्वमा खटिएको टोलीले भन्सारदेखि ५० मिटर दुरीभित्रै ठेला भेनासहित कपडा नियन्त्रणमा लिएपछि व्यापारी तथा कारोबारीले प्रतिकार समेत गरेका थिए।

अंशु इन्टरप्राइजेजका प्रोप्राइटर अंशु मित्तलको नाममा बिलबिजक, भन्सार प्रज्ञापनपत्र र भिसिटिएस समेत जारी गरी व्यापारी रञ्जित रायले दुई पोका कपडा लैजाँदै गर्दा राजश्वको टोलीले नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर गएकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाई छ।

भन्सार तिरेको सामानको राजश्व अनुसन्धान अधिकृत ओझाकै अगाडि गणना गर्दा कुनै अनियमितता नदेखिएको र सो सामान राजश्वले छाड्न नमानेको पीडित व्यवसायी रायले गुनासो पोखे।

आन्दोलित बनेका व्यापारी तथा कारोबारीले बुधबार झापा उद्योग वाणिज्य सङ्घ र भद्रपुर नगरपालिका-५ नम्बर वडा कार्यालयलाई ज्ञापन पत्र बुझाएका थिए। राजश्व अनुसन्धान कार्यालयले व्यापारीहरूलाई पटक–पटक अनावश्यक दुःख दिइरहेकोले सहजीकरण गरिदिन भन्दै उनीहरूले सो ज्ञापन पत्र बुझाएका हुन्।

बिहीबार झापा उद्योग वाणिज्य सङ्घमा पदाधिकारीहरूको बैठकमा माथिल्लो निकायलाई तत्काल ध्यानाकर्षण गराउने र राजश्व अनुसन्धान कर्मचारीको ज्यादती र हस्तक्षेपविरुद्ध आवाज उठाउने लगायतको विषयमा छलफल भएको सङ्घका अध्यक्ष नवराज पनेरुले बताए।

राजश्व अनुसन्धान कार्यालयका कर्मचारीले भद्रपुर भन्सार कार्यालयका कर्मचारीको काम कारबाहीमाथि विश्वास नगर्दा त्यसको असर यहाँका व्यापारी र कारोबारीले भोग्नु परेको बताएका छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.