|

काठमाडौं : नेपालमा कोरोनाविरुद्धको (कोभिसिल्ड) खोप गत माघ १४ गतेबाट लगाउन सुरु गरिएको थियो। पहिलो डोज खोप लगाएको झण्डै तीन महिना पछि वैशाखमा दोस्रो डोज खोप लगाइएको थियो।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, सार्वजनिक संस्थान र बैंक तथा वित्तिय संस्थानका कर्मचारीसहितलाई लगाइयो।

भारतमा उत्पादन गरिएको कोभिसिल्ड खोपको पहिलो डोज लगाएका झण्डै ४ लाख ३८ हजार ८ सय ७९ जनाले दोस्रो डोज कोभिसिल्ड खोप लगाएका थिए। यसरी पहिलो चरणमा पूर्ण खोप (अर्थात् दोस्रो डोज) लगाएको पाँच महिना पूरा भएको छ।

नेपालमा पहिलो चरणमा पूर्ण खोप लगाएकाहरू समय पाँच महिना भइसकेको छ। यस्तो बेलामा खोप लगाएपछि शरीरमा बनेको एन्टिबडी अवस्था के कस्तो छ? र यही खोपले कहिलेसम्म सुरक्षा दिन्छ भन्ने निश्चित नभएको चिकित्सकहरू बताउँछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग ट्रपिकल अस्पतालका सरुवा रोग  विशेषज्ञ डा शेरबहादुर पुन नेपालमा बुस्टर डोज आवश्यक छ/छैन भन्ने कुरा अहिले नै यकिन भइनसकेको बताउँछन।

उनका अनुसार बुस्टर डोज भन्नेबित्तिकै पूर्ण खोप लगाएको केही समयमा एन्टिबडी खस्कँदै गएपछि लगाउने हो। तर, हाम्रोमा पूर्ण खोप लगाएकाहरूको पाँच/ ६ महिना पछिसम्म पनि एन्टीबडी कस्तो भएको छ भन्ने अनुसन्धान नभएको उनले बताए।

 ‘हालसम्म खोप लगाएर बनेको एन्टीबडीले कहिलेसम्म काम गर्छ? भन्ने यकिन नभए पनि, अहिलेको अवस्थासम्म राम्रो काम गरेको छ, हाल समुदायमै संक्रमण फैलिएर प्राकृतिक रूपमै एन्टीबडी बनेको अवस्था छ' उनले भने, 'जसले गर्दा हालको अवस्थासम्मलाई बुस्टर डोजको आवश्यक नपर्ला, तर भर्खरै आएको खोप हुनाले भोलिका दिनमा बुस्टर डोज आवश्यक नपर्ला भन्न सकिँदैन, हाम्रो जस्तो देशमा बुस्टर डोजको बारेमा बिश्व स्वास्थ्य संगठले भने पछि नै लगाउने होला।’

के हो बुस्टर डोज खोप

बुस्टर डोज पूर्ण खोप (अर्थात् दोस्रो डोज) लगाएको केही समयपछि शरीरमा बनेको एन्टीबडी खस्कँदै गएमा पुन लगाइने खोप हो।

हालसम्म नेपालमा कोभिडविरुद्धका कोभिसिल्ड, एस्ट्रेजेनिका, भेरोसेल, जोन्सन एण्ड जोन्सनलगायतका खोप लगाइएका छन्। डबल डोजअन्तर्गत कोभिसिल्ड, एस्ट्रेजेनिकाभेरोसेल खोप लगाइएको छ।

विश्व स्वास्थ्य सङ्गठनको अपिल आग्रहविपरीत धेरै देशले निश्चित उमेर समूहका मानिसमा बुस्टर डोज लगाउन सुरु गरिसकेका छन्। अमेरिकाले मोर्डेना वा फाइजरको दोस्रो खोप लगाएको आठ महिना पुगेका जुनसुकै उमेर र स्वास्थ्यस्थितिका मानिसलाई बुस्टर डोज लगाउन भनिसकेको छ।

दुबईमा उच्च जोखिम समूहका मानिसहरू खोपको दोस्रो मात्रा लगाएको तीन महिना र अरू मानिसहरू ६ महिनापछि बुस्टर डोज लगाउनयोग्य हुने भनिएको छ। इजरायलले दोस्रो मात्रा लगाएको पाँच महिना पुगेका ४० वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिँदै आएको छ। चिली, युरुग्वेक्याम्बोडियाले जोखिम समूहमा रहेका र ज्येष्ठताका आधारमा यसअघि सिनोफार्मसिनोभ्याकको पूर्ण मात्रा लगाइसकेका व्‍यक्तिहरूलाई बुस्टर डोज लगाउन भनिरहेका छन्।

त्यस्तै, थाइल्याण्ड र इण्डोनेसियाले यसअघि सिनोभ्याकको पूर्ण मात्रा लगाइसकेका स्वास्थ्यकर्मीहरूलाई तेस्रो मात्रामा फरक कम्पनीको खोप लगाउन भनेका छन्। थाइल्याण्डमा जम्मा आठ प्रतिशत र इण्डोनेसियामा जम्मा १२ प्रतिशत मानिसले मात्र पूर्ण मात्रामा कोभिड खोप लगाउने अवसर पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.