|

लमजुङ : गाउँगाउँका घरैपिच्छे  रहेको ढिकी‚ जाँतो पछिल्लो समय लोप हुन थालेको छ। युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत कुटानी पिसानीका ती साधन लोप हुन थालेका हुन्। 

दोर्दी गाउँपालिका–४ नेवार गाउँका ७६ वर्षीय बुद्धिमान श्रेष्ठले आफ्नो जीवनको धेरै वर्ष ढिकी कुटेर र जाँतो पिनेरै बिताए। ढिकीमा कुटेको धानको चामल, काउनो, साबा साथै जाँतोमा पिनिएको मकैको भात, कोदोको ढिँडो, फापरको रोटी तथा ढिँडोलगायतका खानेकुरा ढिकी र जाँतोमा कुट्ने र पिन्ने गरेर परिवारलाई खुवाएर जीवन धान्दै आए।

उनलाई नै यतिबेला विगतमा ढिकी जाँतोमा सङ्घर्ष गरिएका ती दिन समय कथाजस्तै लाग्ने गरेको छ। उनका पालामा गाउँमा ढिकी‚ जाँतो नभएको कुनै घर हुँदैन थियो। पछिल्लो समय ती साधन हराउन थालेपछि गाउँघरका वृद्धवृद्धालाई कुनै बेलाको कथाजस्तै भएको हो। गाउँमा बिजुली बत्ती पनि आयो। साथै‚ गाउँगाउँमा भित्रिएको आधुनिक मिलको प्रयोग हुन थाल्यो।

पहिलाको जसरी जोस जाँगर पनि उमेरसँगै घटेपछि ढिकी‚ जाँतो गर्न असम्भव हुन पुग्यो। युवापुस्ताले ढिकी‚ जाँतो बेवास्ता गर्न थालेपछि गाउँघरबाट लोप हुन पुगेको उनको भनाइ छ। तत्कालीन समयमा उनी मात्र होइन‚ उनीजस्तै वृद्धवृद्धाले समेत बिहान भाले बास्नसाथ ढिकी‚ जाँतो गर्ने गर्दथे। यसरी ढिकी‚ जाँतोमा कुटेको र पिस्दा स्वाद पनि मिठो हुने गरेको बताइन्छ।

त्यस्तै‚ बेँसीशहर नगरपालिका–२ नरुवालका ९३ वर्षीया लक्ष्मी रानाले भनिन, ‘हाम्रा पालामा सबैले घरमा ढिकी राख्थे, मकैको बेग्लै, कोदोको बेग्लै जाँतो राख्थे, गाउँमा विकास आयो, धान कुट्ने र कोदो पिन्ने मेसिन आयो, अहिले केलाई चाइयो र ढिकी जाँतो।’ 

बुहारी चेलीले ढिकी जाँतो चलाएको आवाज, झिसमिसेमा भाले बासेको आवाज, जङ्गलमा वनभाले, च्याखुरा र चराचुरुङ्गी कराएको आवाज सुन्न पाइने सम्झिँदै आजकल त्यस्तो मौलिकता हराइसकेको उनको भनाइ छ। ढिकी जाँतोमा कुटानी पिसानी गरिएका उति बेलाका खानाको स्वाद अहिले पनि आफ्नो जिब्रोमा झुन्डिइरहेको  उनले सुनाइन्।  

सो गाउँमा करिब ११ वर्षअघिसम्म प्रत्येक घरमा ढिकी र जाँतो थियो। विद्युतीय मेसिन आएसँगै विस्तारै विस्तारै घट्दै जाने क्रममा तीन वर्ष अघिबाट गाउँमा दुई जनाको घरमा मात्रै ढिकी जाँतो रहेको स्थानीय सावित्री राना मगरले बताइन्।

उनले भनिन, ‘गाउँमा धान कुट्ने मेसिन आयो, सबै खुसी बन्न थाले।’ ढिकी र जाँतोमा धान, मकै कुट्न तथा पिन्नेलाई समय लाग्ने साथै दुःखसमेत धेरै गर्नु पर्ने भएकाले गाउँलेले यस्ता परम्परागतका सामग्रीको प्रयोग गर्न छाडेको उनको भनाइ छ। विद्युतीय मिलमा एक मुरी धान कुट्नलाई करिब आधा घण्टा लाग्छ तर ढिकीमा बिहानभरिमा पनि धान कुटी नसकिने यहाँका स्थानीयको भनाइ छ। 

पुराना पुस्ताले काम गर्न नसक्ने हुँदा नयाँ पुस्ताले परम्परागत ढिकी‚ जाँतोको बेवास्ता गरी छिटो छरितोका लागि समेत धान कुट्ने विद्युतीय मेसिन नयाँ पुस्ताको प्राथमिकतामा परेसँगै परम्परागत ढिकी‚ जाँतो लोप हुन थालेको छ।

त्यस्तै मर्स्याङ्दी गाउँपालिकाका गाउँमा केही वर्षअघिसम्म गाउँमा प्रत्येक घरमा ढिकी थियो। जाँतो दुई थरी हुन्थ्यो। एकथरी मकै पिन्ने र अर्को थरी कोदो पिन्ने। बिहानै सबैको घरमा ढिकी‚ जाँतो चलाएको आवाज सुनिन्थ्यो। तर अहिले गाउँबाट लोप भएको स्थानीय मोनिका घिमिरेले बताइन्। ‘गाउँमा विद्युतीय मेसिन आयो अनि ढिकी जाँतोको प्रयोग गर्न छाडे,’ घिमिरेले भनिन्। 

ढिकी‚ जाँतो कुटानी पिसानीका सामग्री मात्रै नभई नेपाली समाजको मौलिक संस्कृति र जनजीवनसँग सरोकार राख्ने पक्ष पनि हो। यस्ता परम्परागत मौलिक ढिकी जाँतोको संरक्षण गर्दै भावी पुस्तालाई देखाउनुपर्दछ। 

साथै यस जिल्ला पर्यटकीयस्थल भएकाले यस जिल्लामा आउने विदेशी तथा स्वदेशी पर्यटकको लागिसमेत ढिकी जाँतोमा कुटानी पिसानी गरेर बनाइएको मिठो स्वादिला विभिन्न परिकारले आकर्षित गर्न सकेमा पर्यटक वृद्धिमा समेत टेवा पुग्ने देखिन्छ। जिल्लाका दर्जनौँ गाउँमा सञ्चालित घरबासमा पर्यटक पुग्ने गर्दछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.