|

काठमाडौं : लोकगायिका विष्णु माझीको अवाजमा दशैँ गीत 'दशैँ तिहार आइसक्यो' सार्वजनिक भएको छ। सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीत सपना म्युजिक इन्डस्ट्रिजको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। 

विदेशमा रहेका आफ्ना श्रीमानलाई बोलाउँदै गरेकी श्रीमतीको दृश्टिविन्दुबाट गीत लेखिएको छ। दशैँ तिहार नजिकिँदै गर्दा पनि घर आइनपुगेका श्रीमानलाई श्रीमतीले गीतमार्फत बोलाएकी छन्। सुन्दरमणि अधिकारीकै निर्देशन तथा निर्माणमा बनेको गीतको भिडियोमा प्रिया विष्टको नृत्य तथा अभिनय रहेको छ। 

विष्णु माझीको हरेक गीत सार्वजनिक हुँदा विशेष चर्चा हुने गर्छ। यो गीतलाई पनि दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। युट्युबमा अपलोड भएको दुई दिनमा झण्डै १० लाखपटक यो गीत हेरिसकिएको छ। 

लामो समयदेखि मिडियादेखि पर रहेकी विष्णु माझीका गीतहरू भने नियमित रूपमा सार्वजनिक भइरहने गर्छन्। यसअघि उनी तीज गीत 'चरी जेलैमा' का कारण चर्चामा आएकी थिइन्।

युट्युबमा धेरै कीर्तिमान बनाएको उक्त गीतमा पनि विष्णुका श्रीमान् सुन्दरमणिकै शब्द तथा संगीत रहेको थियो। उक्त गीतलाई दुई करोडभन्दा बढी पटक हेरिसकिएको छ। 'सालको पात टपरी', 'लालुमै', 'झुम्का' आदि उनका पछिल्ला समयका चर्चित गीत हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.