|

काठमाडौंः तपाईंले आफूलाई को भनेर चिन्नुहुन्छ? 'म'? अनि तपाईंको आमाले? अनि तपाईंको बुवाले? दाइले, दिदीले, भाइबहिनीले? छोराछोरीले? प्रेमी अथवा प्रेमिकाले? श्रीमान अथवा श्रीमतीले? अनि तपाईंको साथीले तपाईंलाई को भनेर चिन्छन्? तपाईंलाई चिन्ने जति सबैले तपाईं कोको भनेर चिन्छन्? अनि ति सबैले आफैँलाई चाहिँ को भनेर चिनाउँछन्? 

तपाईंको आमा बाबुले आफ्नो सन्तान भनेर चिने जस्तै, दाइ, दिदीले भाइ अथवा बहिनी भनेर चिने जस्तै भाइबहिनीले दाइ अथवा दिदी भनेर चिन्लान्। प्रेमिकाले प्रेमी अथवा प्रेमीले प्रेमीका भनेर, साथीले साथी नै भनेर चिन्ला। के तपाईं त्यो सबै हो? कि तपाईं आफूले आफूलाई चिन्ने 'म' तपाईं हो? कि ति मध्ये कोही पनि तपाईं होइन? त्यसो भए फेरि तपाईं को हो? तपाईं भन्नुहोला म 'म' हो। त्यसो भए 'म' को हो? 

'म' त म पनि हो। के तपाईंको 'म' र मेरो 'म' फरक फरक 'म' हो? कि संसारका सबै 'म' एउटै 'म' हो? यदि एउटै हो भने, फरक फरक हो भने पनि आखिर 'म' हो चाहिँ को? 

पुरानो घरमा मञ्चन भइरहेको नाटक 'म'ले दर्शकको दिमाग यस्तै यस्तै प्रश्नहरूले खैलाबैला पारिदिन्छ। सुलक्षण भारतीको लेखन, निर्देशन तथा एकल अभिनय रहेको नाटक सबैको लागि आफ्नो आफ्नो मसम्म पुग्ने यात्राको छोटो अंश हो। 

नाटकमा 'म' को हुँ भन्ने प्रश्नले सताइरहेको पात्रको कथा देखाइएको छ। आफैभित्र रहेका अनेक 'म'हरू जो राम्रा पनि छन् र नराम्रा पनि। एउटा कुरामा हाँसिरहेको छ त्यही कुरामा रोइरहेको पनि छ। त्यो दुई मध्ये वास्तविक 'म' को हो? अरुलाई दुःख दिइरहेको छ फेरि अरुले दुःख पाएकोमा उ भन्दा बढी दुःखी पनि छ। त्यो दुई मध्ये वास्तविक 'म' जसलाई हामी म भन्छौँ त्याे को हो भनेर चिन्न नसकिरहेको पात्रको मलाई खोज्ने यात्रामा नाटक आधारित रहेको छ। उक्त पात्रको कथा हेरिरहँदा दर्शक पनि आफ्नो आफ्नो 'म'लाई खोज्न थाल्छन्। 


'म' पुरानो घर थिएटरमा मञ्चन भएको पहिलो नाटक हो। जुन पुरानो घरकै प्रस्तुतीमा तयार भएको हो। लेखक तथा निर्देशक भारती भन्छन्, 'यो नाटक एउटा लेखक वा निर्देशकको खोजी भन्दा पनि कलाकारको खोजी हो। कलाकार भएर चरित्रहरूको खोजी गर्ने क्रममा भेटिएको एउटा प्रश्न हो 'म'।' 

नाटकको सहायक निर्देशक सृजना अधिकारी हुन् भने प्रकाश परिचालनमा कुन्दन चौधरी र ध्वनीमा राजकमल फकिर रहेका छन्। त्यस्तै भेषभुषा सरिता भुजेलको हो। 

असोज १ गतेदेखि मञ्चन सुरु भएको नाटक २० गतेसम्म चल्नेछ। 'म' पछि पुरानो घरको प्रस्तुतीमा नाटक 'तीन तल्ला' मञ्चन हुने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.