|

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौंका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई सार्वजनिक गरेको छ।

सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका–४ का शंकरसिंह महरा, हरिशसिंह महरा र  रामबहादुर महरालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।

यसअघि बिहीबार प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको भएपनि अन्य तीनजनाको संलग्नता नदेखिएको  बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल गर्दै आएका ५५ वर्षीय महरा बिहीबार बिहान  सन्सेरीमाडौंमै मृत फेला परेका थिए। सन्सेरीमाडौंमा मासु पसल सञ्चालन गर्दै आएका महराको टाउको, छाती र शरिरका अन्य भागमा चोट देखिन्छ।

पक्राउ परेका चारैजना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका छन्।  उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भई बैतडी जिल्ला अदालतबाट सात दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र महराको शव जिल्ला अस्पतालमा परीक्षणपश्चात आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।  

यसरी भयो घटना

प्रहरीले सार्वजनिक गरेकामध्ये २६ वर्षीय रामबहादुर मडै असोज ७ गते बिहान नागरिकता बनाउन भनि जिल्ला प्रशासन कार्यालय गएका थिए। गएको ६ वर्षदेखि भारतमा मजदुरी गर्दै आएका रामबहादुर  नागरिकता बनाउनकै लागि घर फर्किएका थिए।

 नागरिकता बनाएर सोही दिन घर फर्किने क्रममा साँझ सन्सेरीमाडौंमा १ किलो मासु किनेको र त्यही रहेको होटलमा पकाएर रक्सी सेवन गरी केही पर रामबहादुर महराले सञ्चालन गरेको होटेलमा बास बस्न भनि गएका थिए।

उनी होटेलमा पुग्दा त्यहाँ रक्सी सेवन गरिरहेका शंकरसिंह महरा, हरिशसिंह महरा र कमलसिंह महरा ( मृतक)सँग मडैको विवाद भएको थियो। विवाद उत्पन्न भएपछि मडैले आफूसँग रहेको फलामको रडले कमलको टाउको र शरिरका विभिन्न भागमा हिर्काएर फरार रहेका थिए।

फरार रहेका रामबहादुर लगायतका सबैलाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले पक्राउ गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.