|

जनकपुरधाम : धनुषाको एक नगरपालिकाका कृषि अधिकृतलाई मेयरको निर्देशनमा कुटपिट भएको छ।

विदेह नगरपालिकाका कृषि अधिकृत चन्देश्वर ठाकुरमाथि कार्यालयमै कुटपिट भएको हो। अधिकृत ठाकुरले मेयर बेचनदासको प्रत्यक्ष निर्देशनमा आफूमाथि कुटपिट तथा दुव्र्यवहार भएको आरोप लगाएका छन्।

अधिकृत ठाकुरले भने, ‘शुक्रबार दिउँसो साढे २ बजेको समयमा मेयरका लठैत वडा नम्बर ३ बस्ने सत्रुधन राय आफूलाई कार्यालयमै आएर गालीगलौज गर्दै पिठ्युमा एक लात र गालामा एक झापड हिर्काए।’

कृषि शाखामार्फत नगरपालिकाभित्र भएको विभिन्न कृषि कार्यक्रमको मेयर दासले मोटो रकम कमिसन मागेको र सो नदिएको निहुँमा कुटपिट गराएको अधिकृत ठाकुरले आरोप लगाएका छन्।

उनले आफूलाई कुटपिट गराउनुमा नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत संजिव साहकोसमेत संलग्नता रहेको बताएका छन्। ठाकुरले आफूमाथि कुटपिट भएको घटनालगतै प्रशासकीय अधिकृतलाई जानकारी दिन जाँदा उल्टै किन घटना गराएको ? भनेर प्रश्न गरेको सुनाए।

प्रशासकीय अधिकृतसँगै रहेका मेयर दासले पनि गालीगलौज गरेको अधिकृत ठाकुरले आरोप लगाए। अधिकृत ठाकुरले भने, ‘मेयर साहेब आएर मलाई गाली गर्दै तेरो बाउ हुँ म, मैले भनेको नमान्ने ? तलाई कसैले बचाउन सक्दैन। भनेर गालीगलौज गर्नुभयो।’

मेयरले कृषिमा भएको विभिन्न कार्यक्रमको १२ लाख रुपैयाँ कमिसन मागेको र नदिएपछि आफ्नो मान्छे लगाएर कुटपिट गरेको आरोप लगाए।

अधिकृत ठाकुरले एक महिना अघि मेयरका भाइ लखन दासले १० वटा बाख्रा वितरण गरी एकसयको भुक्तानी लिएको सूचना पत्रकारलाई दिएको निहुँमा मेयरले यस्तो गराएको हुन सक्ने वडा नम्बर ४ का वडाध्यक्ष विनोद गोहितमानले बताए। उनले ठाकुरले बाख्रा वितरण सम्बन्धी यर्थाथ जानकारी दिएपछि अधिकृतमाथि मेयर रूष्ट बनेको जानकारी दिए।

मेयर दाससँग  घटनाबारे बुझ्दा ठाकुरले जनताको काम नगरेकाले जनताले घेरा हालेको बताउँदै केही जानकारी लिनुपरे नगरपालिकामा आएर बुझ्नु भन्दै जंगिए। दुई साताअघि मात्रै जनकपुरमा एक महिलामाथि दुव्र्यवहार गरेको भन्दै मेयर दासमाथि कुटपिट भएको थियो।

त्यसअघि नगरपालिका कार्यालयमै एक कार्यालय सहयोगीसँग खुट्टा मसाज गराएको तस्बीर सार्वजनिक भएपछि उनको चर्को आलोचना भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.