नाकामा कुकुर परिचालन, ड्रोनबाट निगरानी

|

धनगढी : सुदूरपश्चिम प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको छ। दशैँ, तिहार र छठ पर्वमा विभिन्न अपराधिक क्रियाकलाप तथा दुर्घटना बढ्न सक्ने भएकाले उक्त योजना लागु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

चाडपर्वका बेला हुनसक्ने चोरी, डकैती र ठगी लगायतका अपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागु गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले बताए।

प्रदेश प्रहरी र ९ वटै जिल्लाका सुरक्षा निकायले बनाएको सुरक्षा योजना लागु गरिएको उनले जानकारी दिए। योजना अनुसार विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने, राजमार्ग क्षेत्रमा रिफ्रेस सेन्टर स्थापना गर्ने, राजमार्ग क्षेत्रमा सरप्राइज चेकिङ गर्ने र स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन गरिनेछ। 

कैलाली प्रहरीले पनि छुट्टै विशेष सुरक्षा योजना लागु गरेको छ। चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाउँदै जिल्लाभर लागु गरिएको कैलाली प्रहरीले जनाएको छ।

दशैँ, तिहार र छठ पर्वका बेला हुनसक्ने चोरी, डकैती, ठगीलगायतका अपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए।

कैलाली जिल्लालाई दुई भागमा विभाजन गर्दै एकीकृत सुरक्षा योजना बनाइएको र एक सय ७३ स्थानमा विशेष टोली परिचालन गरिएको उनले बताए।

‘हामीले प्रदेशको अस्थायी राजधानी समेत भएकाले धनगढी उपमहानगरपालिका एउटा र अन्य क्षेत्रलाई अर्को गरेर दुई भागमा बाँड्दै सुरक्षा योजना बनाएका छौं,’ अधिकारीले भने, ‘धनगढी उपमहानगरमा ५६ विशेष टोली परिचालन गर्छाैं।’ बाँकी १ सय १७ भागमा पनि त्यहीअनुसार प्रबन्ध मिलाएका छौँ।’ प्रहरीले स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन गर्ने विषयलाई समेत सुरक्षा योजनामा समेटेको छ।

नाकामा कुकुर परिचालन र ड्रोनबाट निगरानी

यस्तै प्रहरीले सीमा नाकामा यात्रु ठगिने तथा लागुऔषध, विस्फोटक पदार्थ जस्ता वस्तु ओसारपसार हुनसक्ने भएकाले कुकुर समेत परिचालन गर्ने योजना बनाएको छ।

‘चाडपर्वका बेला सीमा क्षेत्रबाट लागुऔषध र विस्फोटक पदार्थ ओसारपसार गर्ने सम्भावना अन्य समयको भन्दा बढी हुन्छ,’ एसपी अधिकारीले भने, ‘त्यसलाई मध्यनजर गरेर हामीले कुकुरको प्रयोग गरेर चेकजाँच गर्छाैं। बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि पनि विशेष टोलीहरू परिचालन गरिनेछ।’

ड्रोनबाट जिल्लाभर निगरानी बढाउँदै शान्ति सुरक्षा कायम गरेर शान्तिपूर्ण तरिकाले चाडपर्व मनाउने वातावरण सिर्जना गरिने प्रहरीको दाबी छ। चाडपर्वका बेला कैलाली जिल्लाभर झण्डै साढे ७ सय प्रहरी परिचालन गरिने बताउँदै प्रहरी उपरीक्षक अधिकारीले सोही हाराहारीमा सशस्त्र प्रहरी पनि परिचालन हुने बताए।

जिल्लाबासीलाई शान्तिपूर्ण तरिकाले चाडपर्व मनाउने वातावरण बनाउने उनले बताए। उक्त सुरक्षा योजना सफल बनाउन सशस्त्र प्रहरी गण, प्रदेश प्रहरी कार्यालय र दंगा नियन्त्रण कार्यालयको समेत सहयोग लिने बताइएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.