|

काठमाडौं :  राष्ट्रिय जनगणना २०७८ मा देशभर रहेका हेमोफिलियाका बिरामीको तथ्यांक पनि समेट्न हेमोफिलिया सोसाइटी नेपालले माग गरेको छ।

करिब ३ हजार नेपाली हेमोफिलियाका बिरामी रहेको अनुमान सोसाइटीको छ। 

काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरी सोसाइटीले राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हेमोफिलियाका बिरामीको पनि गणना हुने भएकाले जनगणनामा उनीहरूको वास्तविक तथ्यांक समेट्ने गरी गणना गर्न, गराउन माग गरेको हो।

महासंघले हेमोफिलिया भएकाहरू अपांगता ऐनमा समेटिएका तथा अपांगताको सूचीमा दसौं नम्बरमा राखिएको जानकारी दिएको छ।

गणक आउँदा घरपरिवारमा हेमोफिलियाका बिरामी भए सबै विवरण प्रष्ट दिन पनि महासंघले अनुरोध गरेको छ।

त्यस्तै, यसबारे गणकलाई पनि सचेत र सजग हुन महासंघले आग्रह गरेको छ।

महासंघका महासचिव दिपक न्यौपानेले वास्तविक तथ्यांक समेट्न तथा गणक र सुपरिवेक्षकलाई यसबारे आवश्यक तालिम दिन माग गरे।

के हो हेमोफिलिया?

हेमोफिलिया वंशाणुगत कारणले रगत जमाउने तत्वको कमी भएर रगत जम्न नसकेर रक्तस्राव हुने शारीरिक अवस्थाको व्यक्ति भनी सरकारले परिभाषा गरेको छ।

हेमोफिलियाका बिरामीमा कुनै पनि कारणले आन्तरिक वा वाह्य रक्तस्राव भएमा रगत बग्न नरोकिने, रक्तस्राव रोक्न प्लाज्मा वा एन्टिहेमोफिलिक फ्याक्टर नै दिनुपर्ने चिकित्सक बताउँछन्।

विश्व हेमोफिलिया महासंघको तथ्यांकअनुसार प्रति ५ हजार पुरुषको जन्म हुँदा तीमध्ये एक जना हेमोफिलियासँगै जन्मन्छन्। हेमोफिलिया सोसाइटी नेपालमार्फत हालसम्म ७ सय ५० जना हेमोफिलियाका बिरामीको पहिचान भएको सोसाइटीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.