जनकपुर–जयनगर रेलको वारेन्टी सञ्चालन नहुँदै सकियो

|

जनकपुरधाम :  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनकपुर–जयनगर रेल्वे तत्काल सञ्चालनका लागि सरोकारवाला निकायलाई निर्देशन दिन आग्रह गरेका छन्।

उपसभापति निधिले प्रधानमन्त्री देउवालाई शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटेर रेल्वे उद्घाटन र सञ्चालनका लागि ध्यानाकर्षण गराएका हुन्।

प्रधानमन्त्री देउवासँग उनले नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीद्वारा संयुक्त रूपमा रेल्वे उद्घाटनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देशन दिन अनुरोध गरेको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।

भेटमा प्रधानमन्त्री देउवाले तत्काल रेल्वे सञ्चालनका लागि सम्बन्धित निकायलाई तयारी अघि बढाउन आवश्यक निर्देशन दिने बताए।

सञ्‍चालन नहुँदै सकियो रेलको वारेन्टी अवधि

जनकपुर–जयनगर सञ्‍चालनको लागि भारतसँग एकवर्ष अघि खरिद गरेर ल्याएको दुईसेट रेलको वारेन्टी अवधि सञ्चालन नहुँदै सकिएको छ।

भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए।

भारतीय रेल निर्माण कम्पनी कोंकण रेलवे कर्पोरसनले २०७७ असोज २ गते नेपालले खरिद गरेको दुईसेट रेल जनकपुर ल्याएर नेपाल रेलवे कम्पनीलाई हस्तान्तरण गरेको थियो। सो दुईसेट रेल कानुन तथा जनशक्तिको अभावमा सोही दिन पूर्वी धनुषाको इनर्वा रेल्वे स्टेशनमा त्रिपालले छोपेर थन्क्याएको थियो। रेल छापेको त्रिपालसमेत च्यातिएर धुजा धुजा भइसकेको छ।

दुईसेट रेलवको इञ्‍जिनियर र बोगीको एकवर्षे वारेन्टी असोज ३ गते सकिएको महाप्रबन्धक झाले बताए। वारेन्टी अवधिमा इञ्जिन  वा बोगीमा कुनै प्रकारको समस्या वा खराबी आए निर्माण कम्पनी पक्षले मर्मत सम्भार गर्नुपर्ने हुन्छ।

परीक्षण भइसकेको इञ्‍जिन लाई समय समयमा स्टार्ट गर्नुपर्ने, मोबिल फेर्नु पर्ने र अन्य मर्मतसम्भार पनि गरिरहनु पर्छ। तर, दुवै रेल थन्क्याएर राखिएको दिनदेखि जस्ताको त्यस्तै छ। छोपेर राखिएको दुवै रेल त्रिपाल च्यातेर उघ्रिएर पार्टपुर्जामा खिया लाग्न थालेको स्थानीयहरू बताउँछन्।

कानुन अभावमा रेल सञ्‍चालन गर्न नसकेको नेपाल रेल्वे कम्पनीले जनाएको छ। प्रधानमन्त्री केपी ओलीको बेला रेल सञ्‍चालनसम्बन्धी ल्याएको अध्यादेश निष्क्रिय भइसकेको छ।

अब सोही विधेयकलाई संसदबाट अनुमोदन बनाई ऐन बनाउनुपर्ने हुन्छ वा अध्यादेशको रूपमा सक्रिय गरे मात्र रेल सञ्‍चालनसम्बन्धी कार्य अघि बढ्ने कम्पनीले जनाएको छ। त्यसकारण रेल कहिलेदेखि सञ्‍चालन हुने भन्ने टुंगो अझै छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.