|

अफगानिस्तानलाई सहयोग गर्ने गरी सबैलाई परिचालन गर्न संयुक्त राष्ट्र संघसँग पाकिस्तानले माग गरेको छ। 

राष्ट्र संघको ७६औं महासभालाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार यस्तो माग गरे।

अफगानिस्तानमा तालिबान विद्रोहीले सत्ता कब्जा गरेर सरकार बनाएपछि विभिन्न संकट उत्पन्न भए पनि धेरै देशले सहयोग नगरेकाले राष्ट्र संघले सबैलाई परिचालन गर्नुपर्नेमा उनले जोड दिए। 

उनले विशेषगरी आर्थिक सहयोग अफगानिस्तानका लागि अत्यावश्यक भइसकेकाले राष्ट्र संघले अन्तरराष्ट्रिय समुदायलाई परिचालन गर्नुपर्ने धारणा राखेका थिए।

'अफगानिस्तानलाई सहयोग गर्न विश्वसँग धेरै समय छैन, धेरै ढिला भइसकेको छ, त्यहाँ गम्भीर संकट उत्पन्न भएको छ, म सबैको ध्यानाकर्षण गराउन चाहन्छु,' उनले भने।

मानवीय सहायता उपलब्ध गराउन अझै ढिला गरे विश्व नै लज्जित हुने गरी क्षति हुने चेतावनीसमेत उनले दिए। उनको सम्बोधनपछि पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा अफगानिस्तान र अफगानी जनताको बेवास्ता गर्न नहुने उनले जोड दिएका छन्।  

'हामीले उनीहरूलाई सहयोग गर्न हेलचेक्रयाइँ गर्‍यौं भने अहिले नै आधा मानिस गरिबीको रेखामुनि छन्, अर्को वर्षसम्ममा ९० प्रतिशत मानिस गरिब हुन्छन्,' प्रधानमन्त्री खानले भने। 

अहिले पनि भोकमरी सुरु भइरहेको र तत्काल सहयोग नगरे महामारी नै चल्ने भन्दै उनले चिन्ता व्यक्त गरे। अफगानिस्तानको डरलाग्दो र दयालाग्दो अवस्थाका बारेमा छिमेकी र विश्व समुदायले कुनै चासो नदिँदा आफूलाई दुःखित र अचम्मित भएको उनको भनाइ छ।

अफगानिस्तानमा उत्पन्न संकट छिमेकी देशका रुपमा पाकिस्तानको मात्र चासो र चिन्ताको विषय नभइ विश्वकै चासो र चिन्ताको विषय भएको भन्दै उनले सबैको ध्यानाकर्षण गराएका छन्।

'सैन्य शक्तिमार्फत समस्याको समाधान गर्न खोजियो, त्यो गलत थियो र असफल पनि भयो, अब फेरि त्यस्तो गल्ती नहोस्, शान्तिपूर्ण रुपमा समस्याको समाधान खोजौँ, संकट निवारण गरौं, अत्यावश्यक सहयोग उपलब्ध गराउन ढिला नगरौं,' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.