अधिवेशनमा सहभागी नगराउन उच्च अदालतको आदेश

|

सोलुखुम्बु : सोलुखुम्बुको कांग्रेसको वडा अधिवेशनबाट शिक्षक र उपसचिव क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्। ५२ वडाबाट करिब ३० जनाभन्दा बढी शिक्षक तथा कर्मचारी प्रतिनिधिको रुपमा निर्वाचित भएको कांग्रेस श्रोतले जनायो।

कांग्रेसको विधानअनुसार आफूहरु निर्वाचित भएको उनीहरुको दावी छ। तर, संघीय निजामती ऐन २०७४ अनुसार यो कार्य गलत रहेको छ। ऐनको दफा ७० मा राजनीतिक क्रियाकलपमा संलग्न हुन नपाउने व्यवस्था उल्लेख छ।

शिक्षा ऐन २०२८ ९संशोधनसहित०को दफा १६ उपदफा ५ को ‘छ’ मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षकलाई नोकरीबाट हटाइने प्रावधान छ। यस्तै‚ शिक्षा नियमावलीमा पनि ऐनमा व्यवस्था भएबमोजिम कारबाही हुने उल्लेख छ।

प्रचारप्रसार विभाग प्रमुख नवीन थापाले सोलुखुम्बुमा नभई देशभरि नै शिक्षक तथा कर्मचारी क्षेत्रीय प्रतिनिधिको रुपमा निर्वाचत भएको बताए।

उच्च अदालतको आदेश

उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाले नेपाली कांग्रेस सोलुखुम्बु क्षेत्रीय प्रतिनिधिविरुद्ध अल्पकालीन आदेश जारी गरेको छ। गत भदौ २२ गते सम्पन्न वडा अधिवेशनबाट निर्वाचित पाँच जना क्षेत्रीय प्रतिनिधिविरुद्व शुक्रबार अल्पकालीन आदेश जारी गरेको हो।

न्यायाधीश ठाकुरप्रसाद शर्माको एकल इजालसले उनीहरुलाई शिक्षक तथा कर्मचारीको हैसियत कायम राखी तत्काल दलको कुनै पनि कार्यक्रममा सहभागी नगर्न, नगराउन आदेश दिएका छन्। उत्प्रेषण मिश्रित परमादेशको माग गर्दै मिलन बस्नेतले दायर रिटको सुनुवाई गर्दै शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुको असोज ७ गतेको पत्र तथा सोलुदुधकुण्ड नगर कार्यपालिकाको पत्रसमेतका आधारमा उक्त आदेश जारी भएको आदालतले जनाएको छ।

नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचनमा नगरपालिकाकी कर्मचारी अमृता कार्की, हर्कबहादुर राई, रोहितकुमार कार्की, प्रेमकुमार राजभण्डारी र चेतबहादुर मगर सामुदायिक विद्यालयको स्थायी शिक्षक भएकाले अन्तरिम आदेशको टुंगो नलागेसम्म पार्टीका कुनै पनि कार्यक्रममा सहभागी नहुन भनी आदेश जारी भएको छ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई समेत विपक्षी बनाइ दायर गरिएको रिटमा निवेदकको मागअनुसार आदेश किन जारी गर्नु नपर्नेको आधार कारण र प्रमाण भए सो समेत खुलाई आफैं वा कानुन अनुसारको प्रतिनिधिमार्फत १५ दिनभित्र जवाफ पेश गर्न विपक्षीका नाममा आदेश भएको छ।

शनिबार हुने भनिएको स्थानीय तहको अधिवेशन सोलुखुम्बुमा भने तीन दिन पर सारिएको छ। आवश्यक तयारी पूरा नभएकाले असोज १२ सम्म सार्ने निर्णय गरिएको कांग्रेस जिल्ला सभापति बिनोद बस्नेतले जानकारी दिए।

‘निर्वाचन अधिकृत शुक्रबार मात्रै जिल्ला आइपुगेकाले आवश्यक तयारी पूरा नहुँदा जिल्लाको आठ वटै स्थानीय तहको अधिवेशन सार्नुपर्‍यो‚’ सभापति बस्नेतले भने, ‘अब तीन दिनपछि एकैसाथ हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.