|

काठमाडौं : वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीका लागि केयर गिभरमा जान भाषा परीक्षा उत्तीर्ण गरेका १ हजार ६ सय जनालाई  सिफारिस गरेको छ।

अन्तर्वार्ताबाट छनोट भएका १६ सय जनाको नामावली नेपालस्थित इजरायली दूतावासमा नामावली बुझाएको हो। अन्तर्वार्ताको लागि १८ सय ३ जना सहभागी भएका थिए। जसमध्ये ११ सय २० जना महिला र ४ सय ८० जना पुरुष गरी १६ सय जना सिफारिस भएका हुन्। 

इजरायल जानका लागि विभागले तोकेको समयमा ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए। जसमा ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुषले आवेदन दिएका थिए।

इजरायल रोजगारीका लागि ६ हजार ३ सय ९७ जना लिखित परीक्षामा सहभागी भएकोमा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ पुरुष गरी कुल २ हजार ३९ जनाले अंग्रेजी भाषा परीक्षा पास गरेका थिए। 

अब सिफारिसमा परेका १६ सयलाई इजरायल सरकारले कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्नेछ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुसारे (केयरगिभर)का लागि नेपाली सहायक कामदार पठाउन लागेको हो। यो प्रक्रिया नेपाल सरकार र इजरायल सरकारबीच जिटुजी मोडलबाट भएको छ। 

इजरायल नेपाली कामदारहरूका लागि आकर्षक गन्तव्य मानिन्छ। इजरायल रोजगारमा जानेहरूले एक वर्षको करार अवधिको लागि जाने भए पनि ५ वर्षसम्म भिसा थप गरेर काम गर्न सक्नेछन्। इजरायल जानका लागि अनुमानित १ लाख ६५ हजार ७ सय लाग्ने अनुमान छ भने मासिक करिब १ लाख ९० हजार तलब प्राप्त गर्न बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.