|

काठमाडौंः भनिन्छ, जिन्दगी यात्रा हो। यो यात्रामा धेरैजना भेटिन्छन्। धेरै नजिक हुन्छन्। भेटिएकामध्ये कोही यति प्रिय लाग्छन्‚ जसलाई सधैँ नजिक नै राख्न मन लाग्छ। यो जिन्दगी नै छोटो हुन्छ कि जस्तो लाग्छ। अरु धेरै जूनीसँगै हुने वाचा गर्न मन लाग्छ।

तर‚ अवस्था प्रतिकूल हुँदा सबैभन्दा प्रिय लाग्ने मान्छे पनि छुट्टिएर जान्छन्। एक पल नदेख्दा सबै सकिने हो कि जस्तो लाग्ने मान्छे छुट्टिँदा पनि जिन्दगीको यात्रा भने जारी नै रहन्छ।

केही यस्ता हुन्छन्, जसलाई समयले आफूदेखि टाढा बनाउँछ। तर‚ उनीहरुले बनाएको छाप कहिल्यै नमेटिने गरी बसेको हुन्छ। कहिले काहीँ ती छुटेकाहरु‚ जो कुनै समय कहिल्यै नछुटून् जस्तो लाग्थ्यो उनीहरुको सम्झना आइदिन्छ। आफूभित्रको केही कतै छुटे जस्तो लाग्छ, एकोहोरिइन्छ। जे छुट्यो त्यो छुट्यो त्यो सम्झनामा मात्रै हुन्छ। अनि समयसँगै बग्निनुको विकल्प पनि हुँदैन। 

विपुल क्षेत्रीको शब्द, संगीत तथा स्वर रहेको 'कतै उसलाई' बोलको गीतले यस्तै अमेट छाप छोडेर जानेहरुको कथा भन्छ। जीवनमा भेटिएको सबैभन्दा राम्रो मान्छे जो अहिले आफूसँग छैन, गीतमा उसैको बारेमा भनिएको छ। 

गीतमा भनिएको छ, कतै उसलाई भेट्यौ भने, भन्दिनु है कति आए कति गए जीवनमा ऊ पछि तर उ जस्तै कोही थिएन, उ जस्तै कोही पाइनँ, उ जस्तै कोही आएन।

गीत जस्तै यसको भिडियो पनि सुन्दर बनेको छ। जीवनको फरक फरक मोडमा रहेका फरक फरक पात्रले आफ्ना आफ्ना ती विशेष मान्छेलाई सम्झिँदै आफ्नो गतिशील जिन्दगी पनि जारी राखेको भिडियोमा देखाइएको छ। हितेश ठकुरीको लेखन तथा निर्देशनमा बनेको भिडियोमा दर्जन बढी कलाकारको अभिनय रहेको छ। 
विपुलका 'राम साइँली', 'सिन्डिकेट', 'जुनकिरी', 'नौ लाखे तारा', 'गहिरो', 'असार' लगायतका थुप्रै गीत चर्चित छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.