|
फाइल फोटो

बाग्लुङ : कृषि ज्ञान केन्द्र बाग्लुङले लोप हुन लागेका खाद्यबालीको बिउ जोगाउन अभियान थालेको छ।

किसानले हरेक वर्ष घरमै उत्पादन गरेको बिउ राख्दा उत्पादन घट्दै गएको थियो। विशेषगरी धान खेतीको बिउ घरायसीरुपमा राख्दा उत्पादन घटेकामा यो वर्षदेखि बढाउने काम थालिएको केन्द्र प्रमुख भानुभक्त भट्टराईले बताए।

‘एउटै बिउबाट हरेक वर्ष उत्पादन लिने र फेरि त्यही बिउ प्रयोग गर्दा उत्पादन घट्ने गर्छ,’ भट्टराइले भने, ‘किसानलाई यो कुरा बुझाइदिने कोही थिएन, अहिलेमात्रै हामीले बुझाएर बिउ नयाँ वितरण गरेका छौं।’

बाग्लुङमा २०७२ सालपछि नयाँ प्रजातिको धानको बिउ वितरण भएको थिएन। चालु वर्ष भने किसानलाई कृषि अनुसन्धान केन्द्र लुम्लेमा उत्पादित बिउ ल्याएर वितरण गरिएको उनले बताए।

लगातार धेरै वर्षसम्म एउटै बिउ प्रयोग गर्दा धानको पराल छोटो हुने, उत्पादन घट्ने लगायतको समस्या हुने गरेको भट्टराईको भनाइ छ। बागलुङमा राधा ७ र राधा ९, पोखरेली तथा जेठो बुढो धान बढी लगाइने गरिएको छ। बेँसी क्षेत्रमा राधा ४ र सावित्री धान पनि लगाइने गरिएको छ। कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार बाग्लुङमा २२ हजार ५०० मेट्रिकटन धान फल्ने अनुमान छ। यसअघिको तुलनामा चालू वर्ष अझै बढ्ने उनले बताए। वर्षात्‌ले धानका लागि समय अनुकूल भएको हो।

त्यस्तै‚ किसानको आफ्नै पहलमा उत्पादन भइरहेको मूलाको बिउलाई अझै बढाउने र बजारीकरणमा पनि कार्यालयले काम थालेको छ। जैमिनी नगरपालिकामा मूलाको बिउ उत्पादन हुन्छ। चालू वर्ष आलुखेतीसमेत बढाउन पहल भएको सूचना अधिकारी कुमार पुनले बताए।

बाग्लुङको ताराखोलामा उत्पादन बढे पनि मौसमी समस्याले आलु कुहिएको थियो। कार्यालयले ड्याङ बनाएर मात्रै आलु उत्पादन गर्न सुझाव पनि दिएको छ। साथै‚ एक वर्षमा बाग्लुङमा २१० मेट्रिकटन आलु फलेको छ। त्यसका लागि तीन हजार केजी आलु लगाइएको थियो।

कृषि ज्ञान केन्द्र बागलुङको आलु प्रवर्द्धनात्मक कार्यक्रममार्फत उक्त उपलब्धि भएको हो। कृषि ज्ञान केन्द्र बागलुङले आर्थिक वर्ष २०७७/७८ का कार्यक्रममा ८० देखि ९० प्रतिशतसम्म उपलब्धिको दाबी गरेको छ। गत वर्ष सञ्चालित आलु प्रवर्द्धन विशेष कार्यक्रममा ९९ दशमलव ४७ प्रतिशत उपलब्धि गरेको कार्यालयको तथ्यांक छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.