माओवादीसँगको एकता विचारपूर्वक, भंगचाहिँ षड्यन्त्रमूलक
माओवादीसँगको एकता विचारपूर्वक, भंगचाहिँ षड्यन्त्रमूलक
काठमाडौं : दुईतिहाइको शक्तिका साथ सरकारको बागडोर सम्हालेको केपी शर्मा ओली नतृत्वको सरकारले साढे तीन वर्षे कार्यकालमा दुईपटक संसद् विघटन गर्यो। दुवै पटकको विघटन सर्वोच्च अदालतले उल्टाइदियो। तर, ओली अझै आफ्नो गल्ती स्वीकार गर्ने पक्षमा छैनन्।
ओलीले पहिलोपटक संसद् विघटन गर्दा नेकपाको एकता भंग भयो। भने, दोस्रो संसद् विघटनको कारणले एमाले विभाजित बन्न पुग्यो। ओलीले विघटन गरेको संसद् जोगाउन माधवकुमार नेपाल समूहले निर्णायक बनेर जोगायो। ओलीको सत्ता बहिगर्मनपछि एमाले एकताको सम्भावना कमजोर बन्यो। र, टुंगियो पनि।
पार्टी एकताको लागि नेपालले ओलीले संसद् विघटन गर्नु गल्ती स्वीकार गरेर माफी माग्नुपर्ने अडान थियो। तर, ओलीले नेपालको अडानलाई सुनेनन्। अहिले पार्टी विभाजित बनेपछि नेपाल समूहका अधिकांश नेता एमालेमै रहे।
तर, उनीहरूले ओलीलाई केन्द्रीय कमिटीको बैठकमा संसद् विघटनबारे प्रश्न उठाइरहे। माधव नेपाल एमालेबाट बाहिरिए पनि अझै एमालेमा असन्तुष्टि रोकिएको छैन। नेपाललाई छाडेको तेस्रो धारको नेताहरूसँग भएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष भीम रावल रुष्ट छन्। उनी कार्य व्यस्ततालाई देखाउँदै शुक्रबारदेखि जारी केन्द्रीय कमिटीको बैठक छाडेर हिँडे।
दुई पटक संसद् विघटन गरेका ओलीले केन्द्रीय सदस्यहरूको प्रश्नमा ताजा जनादेशमा जाने कुरा प्रतिगमन नभएर आफ्नो बचाउ गरिरहे।
नेताहरूको प्रश्नमा ओलीले भने, ‘ताजा जनादेशमा जाने कुरा प्रतिगमन हुन सक्दैन। जनताको जानकै लागि संसद् विघटन भएको थियो। देश र जनताप्रति काम गर्ने सरकार ढाल्नको लागि तानावाना बुनियो। जनताकोमा जाने कुरा हिजो पनि सही, आज र भोलि पनि सही नै हुन्छ।’
आफूहरू सफलतापूर्वक अघि बढेको दाबी गर्दै आफ्नो नेतृत्वको सरकारले गरेको काम देखाएर जनतासँग भोट माग्न नेताहरूलाई निर्देशनसमेत दिन भ्याए।
ओली अडानका साथ भन्छन्,‘हामी अहिले सबै हिसाबले सम्हालिएर जनतामा जान सक्छौँ। हामीले जनता र देशको विरुद्ध केही काम गरेका छैनौँ। त्यसैले हामीलाई जनतामाझ जान कुनै डर छैन।’ माओवादी केन्द्रसँगको एकता गरेर कुनै गल्ती नगरेको दाबी गर्दै षड्यन्त्रमूलक ढंगले भंग गरेको ओलीको भनाइ छ।
‘हामीले एकता गर्दा सोचेर नै गरेका थियौँ। तर, षड्यन्त्र गरेर एकता भंग गराइयो’ ओलीको तर्क थियो। यस्तै, एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेका माधव नेपाललाई ओलीले जवाफ फर्काएका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले शनिबार मकवानपुरको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अबको निर्वाचनपछि ओली नेतृत्वको नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने टिप्पणी गरेका थिए।
अध्यक्ष नेपालले भनेका थिए, ‘ओलीजस्तो फटाहा, गफाडी र व्यक्तिवादीले नेतृत्व गरेको एमाले दक्षिणपन्थीमा लागिसकेको व्यक्ति कोही छैन। अबको चुनावपछि केपी ओलीको नेकपा एमाले कता छ? भनेर टर्च बालेर खोज्नुपर्छ।’
त्यसकै जवाफ दिँदै ओलीले निर्वाचनमा एमालेलाई टर्च बालेर खोज्ने अध्यक्ष नेपालको सपना पूरा हुन नसक्ने दाबी गरे। ओलीले कटाक्ष प्रहार गर्दै भने, ‘मच्छडले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने भन्नु उस्तै हो।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।