|
मोरङ जिल्ला अदालत भवन। तस्वीर सौजन्य : मोरङ जिल्ला अदालतको वेबसाइट

विराटनगर : जिल्ला अदालत मोरङले सुन्दर–हरैंचाको विराट चोकस्थित सुनचाँदी पसल दिउँसै लुट्न खोज्ने हतियारधारी गिरोहबारे आदेश जारी गरेको छ। न्यायाधीश सुदर्शन लामिछानको इजलासले आइतबार ४ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

अदालतको आदेशअनुसार संखुवासभा घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमन्ड भनिने प्रमोद चौधरी, ३३ वर्षीय आशिष भनिने सविनकुमार चौधरी र भोजपुर घर भइ तरहरा बस्ने ३० वर्षीय नगेन्द्र राई जेल चलान भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।

मोरङ प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पारेर संगठित गिरोहका ७ जनाविरुद्ध अदालतमा हातहतियार खरखजना, डाँका उद्योग, ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो।

कसलाई कति सजाय ?

उनले ३ जनालाई धरौटी र साधारण तारेखमा छाड्ने आदेश भएको बताए। पछि ठहरे बमोजिम हुने गरी तत्काल प्राप्त प्रमाणका आधारमा ४ जनालाई थुनामा राख्न र ३ जनालाई धरौटी रकम लिएर तथा साधारण तारेखमा छाड्न आदेश भएको उनले जानकारी दिए।

अदालतले मोरङको सुन्दर–हरैंचा नगरपालिका–५ का २२ वर्षीय मिसन राईलाई १ लाख ५० हजार र सुन्दर–हरैँचा–७ का ३१ वर्षीय सन्तोष राईलाई १ लाख २५ हजार रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ। उनीहरू धरौटी जम्मा गरेर छुटेको धमलाले बताए।

संखुवासभा घर भइ तरहरामा बस्दै आएका चिरञ्जीवी राई भने अदालतको आदेशपछि साधारण तारेखका छुटेका छन्।

धमलाले वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीको थुनछेक बहस सकिएपछि अदालतबाट आदेश आएको बताए।

गिरोहसँग फेला परेका हातहतियार

गिरोहबाट प्रहरीले एउटा एसएमजी, त्यसको म्याग्जिन, ६२ राउन्ड गोली, कटुवा र अटोमेटिक गरेर दुई पेस्तोल, पेस्तोलको एउटा म्याग्जिन, पेस्तोलको २ र थ्री नट थ्री राइफलको ४ राउन्ड गोली, दुईवटा सञ्चार सेट तथा १६ हजार १ सय रूपैयाँ बरामद गरेको थियो।

गिरोहले प्रयोग गर्दै आएको एउटा अटो टेम्पो, ४ वटा मोटरसाइकल र ८ वटा मोबाइल प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ परेकामध्ये चन्द्रबहादुर नेपाली सेनाका पूर्वजवान र प्रमोद माओवादीका पूर्वलडाकु हुन्।

विराट चोकका खगेन्द्र थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा यो गिरोहले गत साउन १ गते दिउँसै लुटपाटको प्रयास गरेको थियो। 

प्रहरीले उनीहरूलाई गत साउन दोस्रो साता मोरङ र सुनसरीका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.