|

हेटौंडा : हेटौंडाका एक सुनचाँदी व्यवसायीलाई अपहरण गरेको आरोपमा मकवानपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

आइतबार बिहान हेटौंडा उपमहानगरपालिका–१० का व्यवसायी जितेन्द्र विश्वकर्मालाई अपहरण गरेको आरोपमा चार जना पक्राउ परेका हुन्।

हेटौंडा–१० बासुदेव मार्गमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका विश्वकर्मालाई अपहरण गरेको आरोपमा प्रहरीले ३९ वर्षीय विनोदलाल श्रेष्ठ, ३० वर्षीय अनिल लामा, ३२ वर्षीय बुद्ध लामा र २७ वर्षीय आदेश लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

बा २० च ८९६० नम्बरको सेतो कारमा आएका अपरिचित व्यक्तिहरूले विश्वकर्मालाई अपहरण गरी लगेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा हेटौंडा–५ स्थित मकवानपुर रिकभरिङ समूहको कार्यालय अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता रिमालले जानकारी दिए।

अपहरणमा परेका विश्वकर्मालाई अपहरण मुक्त गरी उक्त कार्यमा संलग्न रहेकाहरूमाथि थप अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरी जनाएको छ। विश्वकर्मा बिहान करिब ९ बजेको समयमा हेटौंडा बजार क्षेत्रबाट अपहरणमा परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.