|

म्याग्दी : खराब मौसम र हिमपातका कारण धवलागिरी हिमाल आरोहणमा गएका आरोहीहरू आधारशिविरमा पुगेर रोकिएका छन्।

८२ वर्षीय स्पेनी आरोही कार्लोस सोरिया फोन्टेनसहित ४० जना आरोहीको समूह प्रतिकुल मौसमका कारण धवलागिरी हिमालको दोस्रो आधार शिविरमा पुगेर रोकिएको हो। उनीहरू एक सातादेखि अनुकुल मौसमको प्रतिक्षामा आधारशिविरमा नै रोकिएको ८२ वर्षीय कार्लोसले आफ्नो फेसबुक पेजमा लेखेका छन्।

कार्लोसले मनास्लु, लोत्से, सगरमाथा, अन्नपूर्ण, मकालुलगायत नेपालका ८ हजार मिटर अग्ला १२ वटा हिमालको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन्। यी सबै हिमाल उनी ६० देखि ८२ वर्ष (२२ वर्ष) अवधिमा आरोहण गरेका छन्।

धवलागिरी हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोसले दुई दशकयता ११औं पटक आरोहण गर्दा पनि धौलागिरीको शिखरमा पुग्न सकेका छैनन्। यो सिजनमा पूर्णिमा श्रेष्ठ, माया शेर्पा गरी चार नेपाली महिलासहित ४० जना धवलागिरी आरोहण क्रममा छन्।

कार्लोस र नेपाली महिला आरोही सेप्टेम्बर १३ मा म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरबाट हेलिकोप्टरमा धवलागिरीको सबैभन्दा तलको इटली क्याम्प उत्रिएका थिए।

सबैभन्दा बढी उमेरका पर्वतारोहीको कीर्तिमान राख्ने अभियानमा रहेका कार्लोस धवलागिरीबाहेक तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.