|

पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कूटनीतिलाई स्थापित गर्ने बताएका छन्। एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आएका अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न  क्रिकेट कूटनीति आवश्यक रहेको औंल्याएका छन्। 

उनले नेपालमा क्रिकेटको भविष्य राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक सुझाव दिए। कुनै समय पाकिस्तानको १९ वर्षमुनिको टोलीलाई नेपाली टिमले हराएको प्रसंग उल्लेख गर्दै अफ्रिदीले नेपाली क्रिकेट टिमलाई आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए। आफूले नेपाली क्रिकेट टिमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउने उनको भनाइ छ। अफ्रिदीसँग गरिएको कुराकानीको सम्पादित अंश : 

नेपाल छोटो बसाइ कस्तो भइरहेको छ? अनुभव कस्तो छ?

म एकदमै खुसी छु। क्रिकेटको कारण अहिले म नेपालमा छु। योसँगै अर्को महत्त्वपूर्ण कुरा नेपाल र पाकिस्तानबीच क्रिकेटको माध्यमबाट सम्बन्ध जोडिएको छ। तीन दिनको बसाइको क्रममा नेपालीहरूमा क्रिकेटप्रतिको निक्कै लगाव पाएको छु। क्रिकेटसँगको लगाव सँगैसँगै पाकिस्तानी क्रिकेट टोलीलाई माया गर्ने नेपाली पाएको छु।

मैले केही नेपाली खेल अधिकारीहरूलाई पाकिस्तान भ्रमणको निम्तो दिएको छु। म पाकिस्तान पुगेर उहाँहरूलाई स्वागत गर्नेछु। जुनसुकै विषय होस्, नेपाल र पाकिस्तानको सम्बन्ध जोडिनु आफैंमा महत्त्वपूर्ण छ। यो प्रगाढ हुँदै जाओस्।

तपाई त क्रिकेटर, नेपाली क्रिकेटलाई कसरी हेर्नुभएको छ? कसरी विश्लेषण गर्नु हुन्छ?

नेपाली यु-१९ क्रिकेट टोलीले पाकिस्तानी टोलीलाई हराएको सम्झिन्छु। यसको मतलब नेपाली खेलाडीमा प्रतिभा क्षमता छ। पछिल्लो खेल इपिएलमा मैले खेलें। उक्त खेलमा मैले क्षमता भएका नेपाली खेलाडी देखेँ। सन्दिप लामिछानेलगायत खेलाडीहरू क्षमतावान छन्।

उनीहरूले नेपाललाई विश्वमा चिनाउन सक्छन्। नेपाली क्रिकेट विकास गर्न तल्लो तह (ग्रासरुट)देखि नै ध्यान दिनुपर्छ। सरकारको संलग्नता निक्कै महत्त्वपूर्ण हुन्छ। सरकारको सहयोग मिले क्रिकेट एकेडेमी सञ्चालन गर्न सम्भव हुन्छ। खेलाडीहरूलाई सुविधा मिल्छ। सबैभन्दा राम्रो पक्ष भनेको नेपाल सरकार क्रिकेटप्रति सकारात्मक छ।

नेपालको फ्रेन्चाइज लिगसँग जोडिनुभयो, तपाईंलाई कुन विषयले जोडिन प्रेरित गर्‍यो?

म एक व्यावसायिक खेलाडी भएको नाताले म क्रिकेटबारे कुरा गर्छु। कोही खेलाडी शान्ति, प्रेम र सद्भावको खोजीमा हुन्छन्। खेल पनि त्यस्तै अवस्थामा होस् भन्ने अपेक्षा राख्छन्। क्रिकेट नै एउटा त्यस्तो खेल हो, जसले भारत र पाकिस्तानको सम्बन्ध राम्रो नहुँदा पनि भारत भ्रमण गरेर आफ्नो खेल र शान्तिको सन्देश दिएको थियो। पाकिस्तान आफ्ना मित्र राष्ट्र र छिमेकीहरूसँग सुमधुर सम्बन्ध राख्न चाहन्छ।

हाम्रो क्षेत्र (दक्षिण एसिया)मा क्रिकेटलाई अलग्गै दृष्टिले हेरिन्छ। भारतमा त क्रिकेट धर्म जस्तै भइसकेको छ। क्रिकेटको माध्यमबाट सम्बन्धलाई प्रगाढ र घनिभूत बनाउन सकिन्छ। मलाई यस्तो लाग्छ। क्रिकेट कै माध्यमबाट नेपाल र पाकिस्तानको सम्बन्धलाई पनि अझ बलियो बनाउन सकिन्छ।

यसभन्दा अघि म नेपाल आएको थिइनँ। नेपाल देखेको पनि थिइनँ। मेरो खुट्टामा समस्या हुँदाहुँदै पनि मैले नेपाल भ्रमण गरेको छु। क्रिकेटको माध्यमबाट नेपालमा रहेका क्रिकेटप्रेमीहरूसँग प्रेम र सद्भावको सन्देश पनि लिएर आएको हुँ।

पाकिस्तान र नेपाल क्रिकेटसँग जोडिन सक्ने विषयहरू के के छन? कसरी जोडिन सक्छन्?

दुई देशको राजनीति आफ्नो स्थानमा छ। क्रिकेटसँग क्रिकेट र क्रिकेट कूटनीति फरक छ। यो पनि एक प्रकारको राजनीति हो। यसबारे मेरो बुझाइ अलि फरक छ। यही क्रिकटबाट जोडिन म नेपाल आएको हुँ। म यहाँ रहँदा जति पनि मानिसहरूसँग भेट भयो मेरा लागि अविस्मरणीय रह्यो।

नेपाल र पाकिस्तानलाई क्रिकेट कूटनीतिले जोड्न चाहन्छु। पाकिस्तान पुगेर म नेपाली टोलीलाई खेल्न आमन्त्रण गर्छु। यसलाई नेपालस्थित पाकिस्तानी दूतावास र नेपाल सरकारले सहजीकरण गर्नेछन्।

तपाईंले परिवारसहित फेरि नेपाल भ्रमण गर्ने भन्नुभएको छ। त्यस्तो के विषयले मोहित बनायो?

यो भ्रमणमा मैले पूरै नेपाल राम्रोसँग घुम्न पाइनँ। छोटो भ्रमण छ। माउन्टेन फ्लाइट गएँ। सगरमाथा देखेँ। सँगै अन्य हिमालहरू हेरेँ। मेरो रोमाञ्चक अनुभव रह्यो। त्यसैले म परिवारलाई साथै लिएर आउन चाहन्छु। किन भने मेरो साथ परिवार भयो भने तुरुन्त फर्किने हतारो हुने छैन। शहरभन्दा बाहिर गएर नेपाल हेर्न चाहन्छु। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.