‘सुरक्षाकर्मी ‘रेडी पोजिसन’मा देखिएपछि झन् आत्तियौँ'

|

काठमाडौं : सोमबार बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्ड हुन नसकेर पुनः काठमाडौं नै फर्कियो। जहाजमा समस्या देखिएपछि लामो कसरतपछि ‘बालबाल’ काठमाडौंमा सकुशल ल्याण्ड गराइएको थियो। 

जहाज विराटनगरमा ल्याण्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइअलर्ट गरिएको थियो। विमान फोर्स ल्याण्डका लागि एम्बुलेन्स दमकल विमानस्थलमा राखिएको थियो। 

जहाजमा बच्चा २, शिशु ३ सहित कुल ७३ जना यात्रु सवार थिए। जहाजमा समस्या आएर काठमाडौंको आकाशमा घुमिरहेपछि यात्रुहरूले आफूहरूले आफ्नो जीवनको अन्तिम क्षण नै यही भएको भन्दै रोइ कराई गरेको जहाजमा सवार प्रताप लिम्बू बताउँछन्। 

उनी भन्छन्, ‘हामीले मुनि हेर्दा नेपाली सेनालगायत सुरक्षाकर्मी ‘रेडी पोजिसन’मा हुनुहुन्थ्यो। त्यसपछि चाहिँ जिन्दगी यति नै रहेछ भन्ने लागेको थियो। यो प्लेन दुर्घटना हुन्छ भन्ने नै थियो। केही मान्छेहरू आत्तिएर बेहोस पनि भए। मैले घरमा म्यासेज लेखिसकेको थिएँ। यति नै रहेछ बाँचियो भने भेटौँला भनेर।’ 

आफूहरूलाई जोगाउनका लागि जहाजको क्याप्टेनले ठूलो मिहिनेत गरेको पनि उनले सम्झिए।  ‘६/७ पटक नै प्रयास गर्नुभयो उहाँले सक्नुभएन। काठमाडौं आउने बेलासम्म ढुक्क नै थियौँ। तर, काठमाडौं आएपछि पनि जहाज ८/१० पटक घुमाइएपछि मनमा चिसो पस्यो’ उनी सम्झन्छन्।  

जहाज ल्याण्ड नभएपछि यात्रुहरूले ढोका खोल्दिनुस् हामफाल्छौं भन्दै रूवाबासी गरेर रोई कराइ गरेको उनले बताए। एयरहोस्टेजहरूले नआत्तिनुस् भनेर बचाउन सक्दो प्रयास गरेको उनको भनाइ छ। केही समयपछि क्याप्टेन आङ्गेलु शेर्पाले विमानलाई सुरक्षित अवतरण गराएका थिए।

फ्युलमाथि सकेर तल पानी राखेर फर्म ओछ्याएर सेफ ल्यान्डिङ गर्छौं भन्नुभएको थियो। फ्युल सकेपछि आगो लाग्दैन भनेर उहाँहरूले हामीलाई सम्झाइराख्नुभयो’ लिम्बूले भने,  ‘त्यसपछि क्याप्टेनले लास्ट एकपटक कोसिस गर्छु भन्नुभएको थियो। उहाँले सेफ ल्यान्डिङ गर्नुभयो।’

यसअघि २०७६ असार २७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको जहाज अवतरणका क्रममा चिप्लिएको थियो। जहाज चिप्लिँदा २ यात्रु घाइते भएका थिए। नेपालगन्जबाट उडेको यतीको एटिआर-७२ को जहाज वर्षातका कारण धावनमार्गमा चिप्लिएको थियो। 

यस्तै, २०७४ फागुन २८ गने नेपालमा सबैभन्दा धेरै मानविय क्षति हुनेगरी जहाज दुर्घटना भएको थियो। युएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको थियो। 

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो। ७६ सिट क्षमताको दुर्घटनाग्रस्त विमानमा ६७ यात्रु सवार थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.