|
फाइल तस्वीर

काठमाडौं : सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अग्निप्रसाद सापकोटाले सम्बोधन गर्न नसक्ने बताएका छन्। 

उनले अध्यादेशबाट दल विभाजन भइसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिएका हुन्। 

प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सोमबार सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफमा उनले भने, ‘उनीहरू के भन्छन् भने माधवकुमार नेपालसहित जति पनि मान्छेहरू छन्, उनीहरूलाई निष्काशन गर्नुस्। त्यो त सभामुखले गर्न सक्नु हुन्न। यसैमा विरोध भइरहेको छ। हाम्रो धारणा के हो भने अब विधेयक आइसकेको छ। २० प्रतिशतले टुक्र्याउन चाहन्छ भने टुक्रिन्छ। ती पार्टीहरू टुक्रियो। जुन कुराको विरोध भइरहेको छ।’

मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको समेत उनले बताए। 

सरकारमाथि खगराजकाे आरोप

यस्तै, प्रमुख प्रतिपक्षी एमालेका सांसद खगराज अधिकारीले नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास सरकारले गरिरहेको आरोप लगाएका छन्। 

सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा करिब २१/२२ अर्ब रूपैयाँ कालो धनलाई वैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै अब नेपाललाई नै सरकारले कालोसूचीमा पार्ने दुष्प्रयास गरिरहेको आरोप लगाए।

उनले भने, ‘हुँदाहुँदा लुटिएका झण्डै झण्डै २१/२२ अर्ब अन्तराष्ट्रिय कानुनसमेत, आतंककारी कानुनसमेत आकर्षित हुने कानुन उल्लंघन गरेर यो देशलाई नै कालो सूचीमा पार्ने गम्भीर बाटोमा सरकार गइरहेको छ ।’

सरकारले दलीय व्यवस्था नै समाप्त पार्न अवरुद्ध संसद चलाउन पहल नगरेको तर्कसमेत उनले गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.