भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणपछि माता सीताको माइती जनकपुरको चर्चा अझ बढेको छ।

|
जनकपुरधामस्थित जानकी मन्दिर। टिकमगढकी महारानीले निर्माण गराएको यो मन्दिर 'नौलखा मन्दिर' को नामले पनि प्रशिद्ध छ। तस्वीर : अजय शाह

जनकपुरधाम : प्राचीन मिथिलाको राजधानी तथा प्रदेश २ को राजधानी जनकपुरधाम पुरातात्विक सम्पदा, संस्कृति र मिथिला कलाले जति वैभवपूर्ण छ, धार्मिक गन्तव्यका दृष्टिले पनि उत्तिकै धनी छ।

यातायातका दृष्टीले जनकपुर सुगम सहर हो। राजर्षी जनकको राजधानी, रामचन्द्रको ससुराली र सीताको जन्मभूमि जनकपुरमा अन्यत्र गरिएको पापबाट मुक्ति पाइने तर यहाँ गरिएको पापबाट अन्यत्र कतै मुक्ति पाइँदैन भन्ने विश्वास गरिन्छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणपछि माता सीताको माइती जनकपुरको चर्चा अझ बढेको छ।

धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको जनकपुरधाम ५२ कुट्टी ७२ कुण्डको सहरका नामले पनि परिचित छ। जनकपुरमा पाइलैपिच्छे विभिन्न देवीदेवताका आकर्षक मठमन्दिर र तालतलैया छन्।

जानकी मन्दिरलगायत राममन्दिर, राजदेवी मन्दिर, लक्ष्मण मन्दिर, जनक मन्दिर, गंगा सागर, धनुषा सागर, अरगजा सागरलगायत दर्जनौं तालतलैया र मठ मन्दिर छन्।

बिहानैदेखि यहाँका मठमन्दिरमा गुञ्जिने मैथिली गीतसंगीतले पर्यटक तथा श्रद्धालुलाई  मन्त्रमुग्ध बनाउँछ।

रामजानकी विवाहपञ्चमी महोत्सव, विजयादशमी, दीपावली, छठ, रामनवमी, जानकी नवमीलगायत चाडपर्वमा जनकपुरधामलाई बेहुलीझैं सिँगारिन्छ।

जानकी मन्दिर

भारत मध्यप्रदेशको तत्कालीन टिकमगढकी राजकुमारी वृषभानुकुमारीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले यसलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ।

सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मुगल शैलीमा निर्मित मन्दिर कलाको उत्कृष्ट नमूना मानिन्छ।

 जनकपुरधामस्थित जानकी मन्दिर परिसरभित्र रहेको जानकी मन्दिर। तस्वीर : अजय साह

जनकपुरमा राम जन्मको अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मङ्सिरमा रामजानकी विवाह महोत्सव, असोज पूर्णिमामा कोजाग्रत, साउनभदौमा झुला महोत्सव र १५ दिने मिथिला माध्यमिकी परिक्रमा मनाइन्छ।

जानकी मन्दिर बनेको सवा सय वर्षभन्दा बढी भए पनि यसमा स्थापित राम र जानकीका प्रतिमा करिब ७ सय वर्ष पुराना भएको भनाइ छ।

मन्दिरका नाममा अहिले पनि सयौं बिघा जग्गा छ। मन्दिरभित्र त्रेतायुग झल्कने संग्रहालय पनि छ, जसमा रामसीता, राजा जनक लगायतको पहिरनको नमूना र विभिन्न कलात्मक प्रतिमा छन्।

मन्दिरमा ५६ वर्षदेखि भइरहेको अखण्ड रामसीता भजन हेर्न सकिन्छ। मन्दिर अवलोकन एवं घुमघामका लागि यहाँ दैनिक हजारौं आन्तरिक तथा वाह्य पर्यटक आउने गर्छन्।

रामजानकी विवाहमण्डप

विवाह मण्डप, जहाँ त्रेता युगमा राम–सीताको विवाह भएको विश्वास गरिन्छ। तस्वीर : अजय साह

रामजानकी विवाहमण्डप जानकी मन्दिरसँगै उत्तरी छेउमा टाँसिएको छ, जहाँ राम–सीता विवाह हेर्न सकिन्छ। विवाहमण्डपमा आकर्षक फूलबारीसमेत छ।

पछिल्लो समय विवाहमण्डप सर्वसाधारणको विवाह गर्ने तथा बिहेको कुरा छिन्ने ठाउँ बन्दै गएको छ।

मणिमण्डप

पौराणिक कालमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामको विवाह मणिमण्डपमा भएको जनविश्वास छ।

मैथिल परम्परामा 'मडवा' बनाई विवाह गर्ने चलन छ। त्यहाँ रहेको करिब २ मिटर लामो र त्यत्तिकै चौडा माटोको ढिस्को नै मडवा (मण्डप) हो भन्ने विश्वास गरिन् ।

पौराणिक मिथिला मणिमण्डप ओझेलमा परेको थियो। पछिल्लो समय सरकारले संरक्षण संवर्द्धनमा ध्यान दिँदा र प्रचारप्रसारमा आउँदा पर्यटकको रोजाइमा मणिमण्डपसमेत पर्न थालेको छ।

यो जानकी मन्दिरबाट करिब ४ किलोमिटर उत्तरपश्चिम अर्थात् जनकपुरधाम उपमहानगरपालिका–१३ रानीबजारमा अवस्थित छ।

 जनकपुरधामस्थित गंगा सागर र यसको छेउमा रहेको मणिमण्डप। तस्वीर : अजय साह

४ वर्षअघि पुरातत्व विभागले उत्खनन् गर्दा पहिले यहाँ बस्ती भएको प्रमाण फेला पारेको थियो। माटाका भाँडाकुँडा, प्राचीन चुल्हो, खरानी मणिमण्डप क्षेत्रमा फेला परेको थियो। सोही चुल्होमा सीता–राम विवाहमा लावा भुटिएको मानिन्छ।

पिंडारीचोकभन्दा करिब ३ किलोमिटर उत्तर–पश्चिम कुनामा पर्ने मणिमण्डपको मन्दिरमा सीतारामको भव्य मूर्ति छ।

मन्दिर अगाडि पोखरीमा स्नान गर्नाले प्रत्येक जुनीमा गरिएको पाप पखालिने र पुण्य कमाइने जनविश्वास छ। मंसिरमा विवाहपञ्चमीका बेला हजारौं श्रद्धालु मणिमण्डपसमेत पुग्छन्।

गंगासागरको महागंगा आरती

गंगासागरमा सधैं सन्ध्यामा हुने महागंगा आरती हेर्न पर्यटकको घुइँचो लाग्छ।

धार्मिक एवं ऐतिहासिक तलाउ गंगासागर ४ वर्षअघिसम्म फोहरमैलाले भरिएको थियो। अहिले गंगासागर जनकपुरको सबैभन्दा स्वच्छ सरोवर बनेको छ, जहाँ नित्य साँझ भजन–कीर्तन गुञ्जिन्छ।

स्वर्गद्वार तथा बाबा भूतनाथ मन्दिर

जनकपुरधामको स्वर्गद्वारस्थित भूतनाथ मन्दिर। तस्वीर : अजय साह

फोहोरै फोहोर र शव जलाइने ठाउँ अहिले स्वर्गद्वार भनेर चिनिन्छ।

चिटिक्क परेको ठाउँ, रंगीबिरंगी फूलबारी भएको भूतनाथको मन्दिरसँगै रहेको आधुनिक दाहसंस्कारस्थल मसानघाट मात्र होइन अहिले पर्यटकीय गन्तव्य बनेको छ।

जनकपुरका समाजसेवी पवन सिंहानियाले चन्दा संकलन गरी स्वर्गद्वार निर्माण गरेका हुन्।

धनुषाधाम मन्दिर

धनुषामै पर्ने तर जनकपुरभन्दा बाहिर रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हो धनुषाधाम।

रामायणसँगै सम्बन्धित धनुषाधाममा धनुष मन्दिर छ। राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वंयवरमा रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र बीचको टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ।

भगवान शिवको धनुष राखिएको 'धनुषधाम' मन्दिर। तस्वीर : अजय साह

विष्णु पुराणअनुसार त्रिपुरासुर संग्राम भएपछि दधिचि मुनिको हाडबाट बनेको धनुष 'शंकर' परशुरामलाई दिइएको थियो। परशुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए।

राजा जनकले उक्त धनुषमा ताँदो चढाउनेसँग नै छोरी जानकीको बिहे गर्ने सर्त राखेका थिए। रामले ताँदो चढाउँदा भाँचिएको धनुष खसेको जनकपुरको पोखरी धनुषसागरले चिनिन्छ। धनुषको मध्यभाग आएर खसेको ठाउँ धनुषाधाम भएको धार्मिक विश्वास छ।

अहिले पनि धनुषाधाममा धनुषको अवशेष हेर्न सकिन्छ। धनुषधाममा खसेको धनुषको कालो शिलामाथि अहिले पिपलको रुख छ। धनुषको आकार बर्सेनी बढिरहेको स्थानीय बताउँछन्।

 धनुष मन्दिरभित्र रहेको धनुषलाई ढोग्दै एक श्रद्धालु। तस्वीर : अजय साह

धनुषको टुक्रा झरेको ठाउँमा धनुषबाबाको मन्दिर छ। भक्तालुले धनुषको टुक्रालाई पूजाअर्चना गर्छन्।

धनुषाधाम जनकपुरदेखि करिब १९ किलोमिटर उत्तरपूर्वमा धनुषाधाम नगरपालिकामा पर्छ। यहाँ पन्ध्रदिने मध्यमा परिक्रमाका क्रममा एक दिन विश्राम गरिन्छ।

धनुषको टुक्रा हेर्न र पूजाअर्चना गर्न दिनहुँ पर्यटक एवं श्रद्धालु आउँछन्। यहाँ प्रत्येक वर्ष माघको हरेक आइतबार मकर मेला लाग्छ।

रामानन्द प्रवेशद्वार

जनकपुरधामको रामानन्द प्रवेशद्वार। यसको डिजाइन प्रख्यात इन्जिनियर शंकरनाथ रिमालले गरेका हुन्। तस्वीर : अजय साह

जनकपुरमा प्रवेश गर्नेबित्तिकै एउटा ठूलो प्रवेशद्वार देखिन्छ, जसलाई रामानन्द प्रवेशद्वार भनिन्छ। यो प्रवेशद्वारमाथि स्वामी रामानन्दको प्रतिमा छ।

यो प्रवेशद्वार इन्जिनियर तथा आर्किटेक्ट शंकरनाथ रिमालको डिजाइनमा बनाइएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.