|

विराटनगर : करिब ३८ क्वीन्टल सुन तस्करी तथा मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको मुद्दाको अन्तिम सुनुवाइ जिल्ला अदालत मोरङमा जारी छ। फैसलाको चरणमा रहेको मुद्दाको सुनुवाइ जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा भइरहेको छ।

सुनुवाइमा सोमबार सरकार पक्षका कानुन व्यवसायी (सरकारी वकिल)को बहस सकिएको छ। सरकारी वकिलको बहस सकिएपछि सोमबारबाटै प्रतिवादीका कानुन व्यवसायीले पनि प्रतिरक्षा बहस प्रारम्भ गरेको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।

प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएपछि उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दामा अदालतले फैसला सुनाउने धमलाले बताए। उनका अनुसार मुद्दामा सरकारी वकिलले आइतबार र सोमबार बहस गरेका थिए।

सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल, सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले र मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेलले बहस गरेका छन्।

अपराधिक समूह स्थापना र सञ्चालन (संगठित अपराध)का विषयमा केन्द्रित रहेर भुसालले बहस गरे। अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धमा काफ्लेले एवं अवैध सुन चोरी निकासी र पैठारीका विषयमा पोखरेलले बहस गरेका छन्।

बहसका क्रममा सरकार पक्षका वकिलहरूले सुन तस्करी र हत्यामा प्रतिवादीहरूको संलग्नता पुष्टि गर्न खोजेका थिए भने उनीहरूले प्रतिवादीलाई विगो बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेका छन् । सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दर्ता गरेको थियो।

१७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी सरकार पक्षको छ। सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा उक्त परिणामको सुन तस्करी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट खुलेको हो। तर तस्करी गरेको भनिएको सुन भने अझै फेला परेको छैन।

मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती मुख्य अभियुक्त रहेको मुद्दामा सनमको हत्या गरिएको घटनाबाहेक सुन तस्करीसम्बन्धी प्रमाण मजबुत नभएको बताइएको छ। प्रतिवादीले बयानका क्रममा स्वीकार गरेको विषयलाई सुन तस्करीको मुख्य प्रमाणका रूपमा पेस गर्न खोजिएको छ। सुरुमा ६३ जना मात्रै प्रतिवादी रहेको मुद्दामा तीन पटकसम्म पूरक अभियोग दर्ता गर्दा प्रतिवादी ७७ पुगेका हुन्।

प्रतिवादीमध्ये ५५ जना पक्राउ परेको र २२ जना अझैसम्म फरार रहेको अदालतका सूचना अधिकारी धमलाले बताए। सुन तस्कर मुद्दामा नेपाल प्रहरीका पूर्वडीआइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायतका प्रतिवादी छन्।

खत्री र राउत अहिले पनि थुनामै छन् भने अन्य पूर्व एवं बहालवाला प्रहरी भने उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.