विश्वासपात्र नै 'युटर्न', वर्चस्व गुम्ने चिन्ता

|
फाइल तस्वीर

धनगढी : सुदूरपश्चिममा नेकपा एमालेका उपाध्यक्ष डा भीम रावल र अर्का नेता लेखराज भट्टको प्रभाव झन् झन् कमजोर बन्दै गएको छ।

यसअघि सुदूरपश्चिममा बलियो पकड भएका नेताद्वय रावल र भट्टको शक्ति पछिल्लो समय घट्दै गएको हो।

नेताद्वयबीच आपसी टकराव र बदलिँदो राजनीतिक उतारचढावले दुवैको पकड घट्दै गएको बताइन्छ।

यी दुई नेतालाई पछिल्लो फेरिँदो राजनीतिक परिस्थितिले त्याग गर्न बाध्य बनायो। लेखराज भट्टले माओवादी केन्द्र छाडे भने भीम रावलले माधवकुमार नेपाल।

पार्टी र गुटको साथ छाडेकै कारण रावल र भट्ट सुदूरपश्चिममा एक्लिएको एमालेकै एक पुराना नेताले बताए। कार्यकर्ताले समेत उनीहरुलाई पत्याउन छोडेको ती नेताको भनाई छ।

उनले भने, ‘राजनीतिमा दल र गुट बदल्ने प्रवृत्तिका कारण उनीहरु ( भीम र लेखराज) ले आफ्नै मान्छेको साथ गुमाए। प्रदेशमा उनीहरूको पकड अब पहिलेको जस्तो रहेन। दुवैको शक्ति क्षय भएको छ। यो दल र गुट बदलको परिणाम हो।’

भट्ट माओवादी पृष्ठभूमिका नेता हुन्। तत्कालीन माओवादी केन्द्रमा भट्ट सुदूरपश्चिमको नेतृत्व गर्दथे।

माओवादी केन्द्र सुदूरपश्चिममा उनको बलियो पकड थियो। नेता कार्यकर्ताले माओवादी केन्द्र र प्रचण्डको सुदूरपश्चिममा ‘कमान्डर’ भएको बताउँथे उनलाई।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का विश्वासपात्र मानिने भट्ट विसं २०६३ देखि माओवादीको सुदूरपश्चिम प्रदेश इन्चार्ज थिए।

विसं २०७५ जेठ ३ गते माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण हुँदा सुदूरपश्चिमका प्रभावशाली नेता भट्ट र भीम रावल एकै ठाउँ अर्थात् (नेकपा) पुगे।

नेकपा हुँदा सुदूरपश्चिमको इन्चार्ज रावललाई बनाइयो। तर, त्यो निर्णय भट्टलाई चित्त बुझेन। उनले प्रचण्डलाई निर्णय सच्याएर आफूलाई इन्चार्ज बनाउन पहल गर्न आग्रह गरे।

भट्टको आग्रह प्रचण्डले मानेनन् र रावललाई नै इन्चार्ज बनाउनेमा सहमति जनाए। आफूलाई इन्चार्ज बनाउन प्रचण्डले सहयोग नगरेपछि उनीबाट टाढिएर केपी शर्मा ओलीसँग उनी नजिकिन पुगे।

तत्कालीन नेकपाको ध्रुवीकरणमा भट्ट ओली समूहमा लागे। अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइ दिएपछि उनी माओवादीमा फर्किएनन्।

उनले एमालेमै रहने निर्णय गरे। तर भट्टको यो निर्णयमा सुदूरपश्चिमका उनीनिकट माओवादी नेता/कार्यकर्ताले साथ दिएनन्।

माओवादी छोडेर एमालेमा रहँदा भट्टले आफूनिकट प्रदेशका माओवादी नेता/कार्यकर्तालाई साथमा राख्न नसक्दा एक्लिएका छन्।

सुदूरपश्चिम प्रदेशसभामा रहेका माओवादीका १४ प्रदेश सांसदमध्ये भट्टले एक जनाको मात्रै साथ पाएका छन्।

प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री रहेका अछामका झपट बोहरा भट्टको साथमा उभिएका थिए। माओवादी छोडेर भट्टसँगै एमालेमै रहने निर्णय गरेपछि उनको सांसद पदसमेत गुमेको थियो।

लेखराजनिकट सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि उनको साथ छोडे। तत्कालीन नेकपा हुँदा लेखराजकै सिफारिसमा मुख्यमन्त्री बनेका त्रिलोचन माओवादीमै छन्।

यस्तै उनले आफूनिकट टेकेन्द्र भट्ट, खेम बम, महेश जोशी, कुन्ती जोशी, विनिता चौधरीलगायत नेताको साथ पनि गुमाएका छन्।

सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका माओवादीका जिल्ला कमिटी अध्यक्षमध्ये एक जना मात्र एमाले प्रवेश गरेका छन्।

तत्कालीन नेकपा कञ्चनपुरको अध्यक्ष वीरबहादुर थापा (पातल) ले भट्टको साथ दिएका छन्। उनी अहिले एमाले कञ्चनपुरको पनि अध्यक्ष छन्।

कसरी एक्लिए रावल ?

उता एमाले विभाजनले भीम रावललाई पनि सुदूरपश्चिम ठूलो धक्का लागेको छ।

गृहजिल्ला अछाम र समग्र सुदूरपश्चिममा रावलले आफ्ना विश्वासपात्र गुमाउँदा एक्लिँदै गएका छन्।

एमाले फूटमा नेपाल समूहको साथ छोडेर एमालेमै रहेका रावलले आफूनिकट नेताहरुलाई विभाजनमा जानबाट रोक्न सकेनन्। अछाम निर्वाचन क्षेत्र १ बाट विजयी रावल निर्वाचन क्षेत्रमै एक्लिएका छन्।

रावलनिकट निर्वाचन क्षेत्र १ का ६ जना नेताले एमाले छोडेका छन्। राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, प्रदेश सांसद मिनाकुमारी साउद, साँफेबगर नगरपालिकाका इन्चार्ज सिलोज कुँवर, मेयर कुलबहादुर कुँवर, बिर्मलादेवी बुडथापा, चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले भीम रावलको साथ छोडेर एकीकृत समाजवादीमा गए।

सुदूरपश्चिम प्रदेशसभाका रावलनिकट १७ सांसदमध्ये १३ जनाले उनको साथ छोडेका छन्।

आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङ, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, राज्यमन्त्री चुनुकुमारी चौधरी, मनाकुमारी साउद, सांसदहरु अमरबहादुर साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी, बलबहादुर सोडारी, प्रकाश रावल र माया भट्ट एकीकृत समाजवादीमा गएका हुन्।

योसँगै एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो पार्टी बन्यो भने एमाले चौथो स्थानमा झरेको छ।

विश्वासपात्र नै 'युटर्न', रावललाई समस्या

एमाले नेता रावललाई गृहजिल्ला अछाममै समस्या पर्ने भएको छ। रावलका विश्वासपात्र नै 'युटर्न' भएपछि समस्या थपिएको हो।

तत्कालीन एमाले तथा हालका नेकपा (एकीकृत समाजवादी) का नेता शेरबहादुर कुँवरको रावलसँग तीन दशकभन्दा लामो सम्बन्ध छ।

कुँवर र रावल दुवै एकै जिल्ला अछामका हुन्। उनीहरुको निर्वाचन क्षेत्र पनि अछाम निर्वाचन क्षेत्र १ हो।

उनीहरुको राजनीतिक सहकार्य विसं २०४५ सालदेखि सुरु भएको थियो। काठमाडौंमा रहँदा रावलसँग निरन्तर सम्पर्क भएसँगै राजनीतिक घनिष्टता सुरु भएको हो।

कुनै बेला कुँवर अछाममा रावलका विश्वासपात्र मानिन्थे। तर, एमालेको विभाजनमा रावल र कुँवरको ३ दशक लामो राजनीतिक सहयात्रा पनि टुटेको छ।

आगामी चुनावमा उनीहरु दुवै एकअर्काका प्रतिस्पर्धी बन्ने स्थिति आएको छ।

रावलनिकट कुँवरले साथ छोडेर नेकपा एकीकृत समाजवादीमा लागिसकेका छन्।

अछाममा बलियो जनाधार बनाएका, संगठन निर्माणमा अब्बल कुँवरले साथ छोडेपछि रावललाई ठूलो धक्का लागेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.