|

काठमाडौं : नेकपा माओवादी केन्द्र र टंक राई नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच बिहीबार एकीकरण भएको छ। एक वर्षदेखि एकीकरणका लागि प्रयास भए पनि बिहीबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामामा एकता घोषणा गरिएको हो।

एकता कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन सफल बनाउने दायित्व कम्युनिष्ट क्रान्तिकारीहरुको भएको बताए। उनले माओवादी आन्दोलन कमजोर हुँदा गणतन्त्र, संघीयता जस्ता उपलब्धलाई उल्टयाउने प्रयास भइरहेको दावी समेत गरे। उनले परिवर्तनलाई संस्थागत गरी मुलुकलाई समाजवादतर्फ उन्मुख गराउन पनि कम्युनिष्ट क्रान्तिकारीहरुबीच एकता हुनुपर्ने आवश्यकता औंल्याए।

दुई पार्टीबीच सैद्धान्तिक र वैचारिक एकरुपता भए पनि पद बाँडफाँटमा सहमति हुन नसक्दा छ महिनादेखि एकीकरण प्रक्रियाले मूर्त रुप लिन सकेको थिएन। नेपाल कम्युनिष्ट पार्टीले राखेको प्रस्तावमा माओवादी केन्द्रले समर्थन जनाएपछि पार्टी एकीकरण भएको नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य गोपाल किराँतीले जानकारी दिए।

पार्टी एकीकरणपछि टंक राईले पार्टी हेडक्वार्टर सदस्यको जिम्मेवारी पाउने किराँतीले जानकारी दिए। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका रामहरि कार्की र अमेम्बर राई पोलिट्व्यूरो सदस्य तथा  २० भन्दा धेरै नेतालाई पार्टीको तल्लो कमिटी तथा विभिन्न जनवर्गीय संगठनहरुमा स्थान दिने सहमति भएको उनले बताए। माओवादी केन्द्रले पार्टी एकीकरणको विषय टुङ्गो लगाउन रामबहादुर थापा, अमिक शेरचन र गोपाल किराँती रहेको वार्ता समिति बनाएको थियो।

नेपाल कम्युनिष्ट पार्टीको खोटाङ, ओखलढुङ्गा र भोजपुरमा संगठन रहेको छ। सिपी मैनाली नेतृत्वको नेकपा मालेबाट अलग भई नेपाल कम्युनिष्ट पार्टी खोलेका राईले माओवादी केन्द्र कमजोर हुँदा मुलुकको राष्ट्रियता कमजोर भएकाले पार्टी एकता गरिएको बताए। उनले माओवादी केन्द्रकै एजेन्डा अनुसार मुलुकमा ठूलो परिवर्तन भएको उल्लेख गर्दै त्यसलाई संस्थागत गर्न पनि पार्टी एकता गरिएको उल्लेख गरे।

चार दशकभन्दा बढि समयदेखि कम्युनिष्ट आन्दोलनमा रहेका राई २०५४ मा नेकपा (एमाले) खोटाङबाट प्रत्यक्ष निर्वाचित संसदसमेत बनेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.