|

वीरगन्ज : नेपालीका महान् पर्व नजिकिएसँगै भन्सारक्षेत्रमा सामान चोरी निकासी पैठारी गर्ने गिरोह सल्बलाउन थालेका छन्। चाडपर्व नजिकिएसँगै त्यसलाई लक्षित गरी ठूलो परिमाणमा वस्तु चोरी निर्यात पैठारी गर्ने गिरोह सल्बलाउन थालेका हुन्।

विगतमा प्रहरीको नियन्त्रणमा सानो परिमाणका भन्सार छली चोरी निकासी पैठारीका वस्तु फेला पर्ने गरेकोमा पछिल्लो समयमा ट्रक तथा ट्याक्टरबाटै गाडीका गाडी अवैध सामग्री नियन्त्रणमा पर्न थालेपछि यस्तो खुलासा भएको हो।

यी घटनाले पर्व लक्षित अवैध गतिविधिमा बढोत्तरी हुन थालेको प्रहरीको ठम्याइ छ। चाडपर्वका समयमा मालवस्तुको खपत अन्य समयमा भन्दा बढी हुने भएकाले यो समयमा अवैध गतिविधि गर्ने बढी सक्रिय हुने गरेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीले सोमबार पनि ना २ ख ००२५ नम्बरको मालवाहक ट्रक वीरगन्ज महानगरपालिका वडानम्बर १४ गण्डक चोकमा रोकी चेकजाँच गर्दा बिलबिजक केही पनि नभएका मेडिकल तथा किराना सामान बरामद गरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

अवैध अवस्थाका सामान भेटिएपछि ट्रकचालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ बस्ने ३१ वर्षीय नवीनकुमार तामाङसहित सामान नियन्त्रणमा लिएको उनको भनाइ छ।

त्यसैगरी आइतबार राति पनि वीरगन्ज महानगरपालिका वडानम्बर २४ स्थित सिर्सिया सडकखण्डबाट अवैध रूपमा विभिन्न सामान राखी भारततर्फ लान थालेको प्रदेश नं. २–०३–००१ थ ०००१ को ट्याक्टर नियन्त्रणमा परेको प्रहरीले जनाएको छ। त्यो ट्याक्टरमा ४६ बोरा सुपारी, १० छोकडा, ५ बोरा मरीच र ७ बोरा केराउ लगायतका सामान भेटिएको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक खनालले बताए।​

कागजपत्रविनाका अवैध सामान बरामद भएपछि ट्याक्टरका चालक धोबिनी गाउँपालिका–५ का ४५ वर्षीय आलिम अन्सारीलाई पनि नियन्त्रणमा लिएको उनको भनाइ छ।

दुवै घटनामा प्रहरीलाई शंका लागी चेकजाँच गर्दा उक्त ट्रक र ट्याक्टर पनि अवैध सामान लोड गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। अवैध ढंगबाट सामान गन्तव्यतर्फ लान हिँडेका सवारी सहितका सामानको कुल मूल्य ८५ लाख मूल्यांकन गरी थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको पर्सा प्रहरीले जनाएको छ।

चोरी पैठारी वा निकासीमा संलग्न गिरोह पत्ता लगाउन पक्राउ परेका सामान र सवारीका आधारमा प्रहरीले अनुसन्धान केन्द्रित गरेको प्रहरी नायव उपरीक्षक खनालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.