बाहिरी मुलुकबाट मासुजन्य चौपाया आयात गर्दैनौँ : यादव

|

काठमाडौं : नजिकिँदै गरेको दशैँका लागि बाहिरी देशबाट खसी,बोका,च्याङ्ग्रा र भेडा आयात नहुने भएको छ। नेपालमै यी चौपायाको उत्पादन बढ्दै जाँदा माग आपूर्ति हुने भएकाले व्यवसायीहरूले बाहिरबाट आयात नगर्ने भएका हुन्। 

सरकारले राजधानीमा यस वर्षकाे दशैँका लागि ३८ हजारको संख्यामा खसीबोका र च्याङ्ग्राकाे आवश्यक पर्ने अनुमान गरेको छ।  पशु सेवा विभागका सहायक सूचना अधिकारी श्यामसुन्दर यादवले बाहिरी मुलुकबाट मासुजन्य चौपाया आयात नगर्ने बताए। 

‘यसपालिको दशैँमा उपत्यकामा विभिन्न संघसंस्था,बाख्रा व्यवसायीसँग छलफल गर्दा ३८ हजार मासुका लागि चौपाया आवश्यक पर्ने र भित्र्याउने कार्ययोजना बनाएका छौँ,’उनले भने,‘नेपालमै उत्पादन भएका यी चौपायाले नै पुग्ने भएकाले बाहिरबाट नल्याउने व्यवसायीहरूले भनिसकेका छन्,यहीँकै उत्पादित बिक्री वितरण हुन्छ।’ 

सरकार र चौपाया खरिद व्यवसायीहरूले बर्सेनि दशैँ र तिहार पर्वका लागि चौपायाको अपुग हुने हुँदा च्याङ्ग्रा चीन र खसीबोका भारतबाट निर्यात गर्ने गरेको थियो। तर, पछिल्लो समय नेपालमा यी चौपायाको उत्पादन बढेको यादवले बताए। 

उनले भने,‘व्यवसायीहरूले यस वर्षको दशैँलाई नेपालमै उत्पादन भएको ५१ हजार खसीबोका,भेडा र च्याङ्ग्रा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्,यतिले पुगिहाल्छ,त्यसैले बाहिरबाट ल्याउनै पर्दैन।’​

​उनका अनुसार गत वर्षको दशैँमा ३० हजार चौपाया उपत्यकामा भित्र्याइएको थियो। ‘यतिको संख्यामा भित्र्याउँदा पछि अपुग भएको केही गुनासो आएन,यसपालि सबैको जनजीवन सहज भएकाले पहिलाको तुलनामा ८ हजार नै थपेका छौँ,’उनले भने।

घटस्थापनादेखि उपत्यकामा चौपाया ल्याउने

घटस्थापनाको दिनदेखि काठमाडौं उपत्यकामा चौपाया ल्याउने सरकार र व्यवसायीको तयारी छ। यस वर्षको घटस्थापना असोज २१ गते परेको छ। पशु सेवा विभागका सहायक सूचना अधिकारी यादवका अनुसार अहिले विभिन्न जिल्लामा चौपायाको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ।

मासुका लागि स्वस्थ्य चौपाया मात्र  ल्याइनेछ। उनले भने,‘अहिले चौपाया ल्याउने तयारी भइरहेको छ,उपत्यकामा भने घटस्थापनाको दिन वा भोलिबाट ल्याइन्छ।’  वीरगन्ञ्ज,हेटौँडा,मुस्ताङ,पोखरा,दाङलगायत जिल्लाबाट ती चौपाया ल्याइने उनको भनाइ छ।

सुपथ मूल्यका लागि तीन हजार चौपाया ल्याइँदै

नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्यमा बिक्री वितरण गर्न तीन हजार खसीबोका,च्याङ्ग्रा उपत्यकामा ल्याउने तयारी गरेको छ। लिमिटेडले गत वर्षहरूमा पनि उपत्यकाबासीहरूलाई सुपथ मूल्यमा मासु बिक्री वितरण गर्दै आएको थियाे। 

खाद्य लिमिटेड,बागमती प्रादेशिक कार्यालय थापाथलीका सूचना अधिकारी शर्मिला सुवेदीका अनुसार अहिले विभिन्न जिल्लाबाट चौपाया संकलन गर्ने काम भइरहेको छ। उनले भनिन्,‘दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा गरी तीन हजार चौपाया ल्याउने तयारी गरेका छौँ,अब छिट्टै उपत्यकामा ल्याउँछौँ।’

उनका अनुसार गत वर्ष खाद्यले च्याङ्ग्राबाहेक १५ सय वटा मात्र खसीबोका ल्याएको थियो। घटस्थापना आसपासबाट थापाथली केन्द्रबाट चौपाया बिक्री गरिने तथा मासुको मूल्य पनि त्यहीबेला तोकिने सुवेदीले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.