सरकार विस्तार हुन अझै केही दिन लाग्‍ने

|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारलाई पूर्णता दिनमै चुनौती परेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन गरेर अदालतको फैसलाबाट आएको देउवा सरकारलाई मन्त्रिपरिषद्लाई पूर्णता दिनमै भारी परेको हो। 

मन्त्रिपरिषद् विस्तारको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार पनि देउवाले छलफल गरेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। 

उनले भने, ‘उहाँहरूबीच पछिल्लो समसामयिक विषयमा छलफल भएको छ। मन्त्रिपरिषद् विस्तारको बारेमा छलफल पनि भएको हो। तर, कुनै निर्णय र सहमति भने भइसकेको छैन।’

मन्त्रिपरिषद् विस्तारका लागि अझै दुई-चार दिन समय लम्बिन सक्ने उनको भनाइ छ। 

प्रधानमन्त्री देउवा नेतृत्वमा गठबन्धनको सरकार बनेको साढे दुई महिना  पूरा भइसकेको छ। तर, अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। 

भागबण्डाको सकस 

गठबन्धनमा ‘मालदार’ मन्त्रालयको बीचमा कुरा नमिल्दा ढिलाइ भएको स्रोतको दाबी छ। 

‘एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवज्यूले ठूला मन्त्रालयमा दाबी छाड्नुभएको छैन। उहाँहरू बीचको सहमति नमिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सक्ने अवस्था छैन’ स्रोतले भन्यो। 

देउवानिकट रहेको कांग्रेस नेता रमेश लेखक भागबण्डाको विषयले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको स्वीकार गर्छन्। 

उनी भन्छन्, ‘कानुनी र राजनीतिक जटिलता प्रमुख कारण हो। त्यसमा भागबण्डा पनि अर्को कारण हो।’

उनी पनि दलहरूबीच केही सहमति भइनसकेकाले अझै केही दिन लाग्ने बताउँछन्। 

यता, जसपा अध्यक्ष उपेन्द्र यादव अब बस्ने सत्तारूढ गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार र भागबण्डाको विषय टुंग्याउने बताउँछन्। 

‘अहिलेसम्म भागबण्डाको विषयमा प्रवेश गरेका छैनौँ। अब बस्ने गठबन्धनको बैठकले त्यो विषयलाई पनि टुंग्याउँला’ उनले भने। 

माओवादी नेताको मत 

मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधानमन्त्री देउवासँग निरन्तर संवाद गरिरहेका प्रचण्डले निरन्तर स्थायी कमिटीको बैठक राखिरहेका छन्। 

तर, बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा कुनै छलफल नभएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेल बताउँछन्। 

‘आजको बैठकमा विशेषत: हाम्रो राष्ट्रिय सम्मेलन र पार्टीको आन्तरिक विषयमा मात्रै छलफल भएको छ। मन्त्रिपरिषद् विस्तारको विषय बैठकको एजेण्डा नै थिएन’ उनले भने। पार्टीभित्र मन्त्री बन्ने विषयमा कुनै विवाद नरहेको समेत उनले बताए। 

माओवादी केन्द्रका अर्का स्थायी कमिटी सदस्य हरिबोल गजुरेल पनि मन्त्रिपरिषद् विस्तारको विषयमा पार्टीले कुनै निर्णय गरिनसकेका दाबी गर्छन्। 

उनी भन्छन्, ‘पार्टीबाट मन्त्रीहरूको नाममा छनोट गर्ने मुख्य जिम्मेवारी अध्यक्षज्यूलाई नै दिएको छ। अब उहाँले त्यसबारे निर्णय गर्नुहोला। अहिलेसम्म कुनै निर्णय भएको छैन।’

गठबन्धनबीच कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५/५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति बनेको छ। तर, समाजवादी र जसपाबीच अझै मालदार मन्त्रालयमा कुरा मिलिसकेको छैन। 

यी हुन् सम्भावित मन्त्री

प्रधानमन्त्री देउवाले कार्यभार सम्हालेलगत्तै गृह  र कानुन मन्त्रालयमा आफूनिकटका व्यक्तिहरूलाई शपथ गराए। देउवाले गृहमा बालकृष्ण खाँड र कानुन मन्त्री ज्ञानेन्द्र कार्कीलाई बनाइसकेका छन्।

कोरोनाले अर्थतन्त्र पिल्सिएको अवस्थामा स्वास्थ्य क्षेत्र सम्हाल्‍नेका लागि गठबन्धनमा समेत छलफल बिना देउवाले एकलौटी रूपमा स्वास्थ्य राज्यमन्त्रीमा आफूनिकटका उमेश श्रेष्ठलाई साउन १० गते नियुक्त गराए। 

यस्तै, दुई महिना कटेपछि असोज ६ गते वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग छलफल नै नगरी परराष्ट्र मन्त्रालयमा डा. नारायण खड्कालाई नियुक्ति दिए।

पार्टीभित्र देउवाको कारणले रुष्ट बनेको संस्थापनइतर समूह मन्त्रिपरिषद्मा एकलौटी गरेपछि थप असन्तुष्ट बनेको छ। 

कांग्रेसले प्रधानमन्त्रीसहित पाउने ७ मन्त्रालयमा देउवाले आफूनिकटका ४ जनालाई नियुक्त गरिसकेका छन्। अब पाउने तीन मन्त्रालयमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहबाट ल्याउनुपर्ने देउवालाई बाध्यात्मक अवस्था छ। 

पौडेल समूहबाट मन्त्रीमा मीनेन्द्र रिजाल, दिलेन्द्र बडू, सुजाता कोइराला,  तेजुलाल चौधरी लगायतले आकांक्षा व्यक्त गरिरहेका छन्।

यही मध्येबाट दुईजना मन्त्री बन्ने पक्का छ। यस्तै, 
सिटौला समूहबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एकजना मन्त्री बन्ने पक्का छ।  

यस्तै, माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल छन्। अब माओवादीले चार मन्त्री मात्रै पाउनेछ। तर, प्रचण्डले सार्वजनिक रूपमै पार्टीभित्र मन्त्रीको आकांक्षी धेरै भएकाले व्यवस्थापनमा चुनौती भएको बताउँदै आइरहेका छन्। 

माओवादीबाट देवेन्द्र पौडेल, हरिबोल गजुरेल, मातृका यादव, सुरेशकुमार राई, जयपुरी घर्ती, सुदन किराती, अञ्जना विशंखे मध्येबाट मन्त्री बन्ने भएका छन्। 

प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री नराख्‍ने भएपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा नजाने निश्चित भएको छ। दुवै नेताहरू यसअघि उपप्रधानसहित सरकारमा गइसकेका छन्।

यस्तै, जसपाबाट महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, मृगेन्द्र सिंह, प्रमोद शाहलगायत मन्त्री बन्ने कोटामा छन्। 

यता, एमालेबाट विद्रोह गरेर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले पनि आफ्नो पार्टीमा सरकारमा जानेहरूको नाम टुङ्ग्याएको छ। समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङ मन्त्री बन्ने पार्टीले बताएको छ। 

देउवाले सरकारको नेतृत्व गरेको लामो समय बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर सरकारको आलोचना भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.