|

काठमाडौं : १५ वर्षको सांगीतिक करियर। ४ सयभन्दा बढी गीत। विस ०६२ मा गुँरास, ०६६ मा उमंग, ७१ मा उल्लास, त्यसपछि सानु र ७६ मा लभगुरु गरी ५ वटा त एल्बम  र केही कलेक्सन एल्बम छन् गायक रूपक डोटेलसँग।

यो अवधिमा उनको आवाज देशका पाखा पखेरादेखि विदेशका रंगीन शहरमा गुञ्जिएका छन्। नाम छ। लाखौं दर्शकले उनका गीत सुनेका छन्। मन पराएका पनि छन्। योभन्दा खुसी हुने आधार त के होला र? यो प्रश्न तेर्साएपछि गायक डोटेल खिस्स हाँसे।

गम्भीर मुद्रामा बोले, 'म मेरो सांगीतिक यात्रादेखि सन्तुष्ट छु। तर, मेरा गीत सुन्नेको भिडमा मेरो बुबा हुनुहुन्न।'

५७ सालमा उनी घरबाट काठमाडौं हिँड्ने बेला बुबालाई भनेका थिए, 'बुबा म गायक बन्छु।' बुबा मौन बसेका थिए त्यसबेला। केवल बुबाले आफ्ना हात डोटेलको शिरमा राखिदिएका थिए।

त्यो बुबाको मौन समर्थन थियो भन्ने डोटेलले विश्वास गर्छन्। त्यसको केही समयमा नै बुबाको निधन भयो। उनी भन्छन्, 'मैले मेरो बुबालाई म गायक भएको कुरा कहिल्यै सुनाउन पाइन्। मेरा गीत मेरा बुबाले कहिल्यै सुन्न पाउनुभएन। यो कुराले कहिलेकाहीँ पीडा भने महसुस हुन्छ।'

रेडियोमा बज्ने ती गीत

जतिबेला उनी स्याङ्जाको चापाकोठमा बचपन र किशोरावस्थाका दिन कटाउँदै थिए, त्यसबेला युट्युव थिएन। टेलिभिजन थिएन। अहिले जस्तो कुनै कलाकारलाई भेट्ने माध्यम थिएन। तर, रेडियो थियो। रेडियोमा बज्ने गीत र  गाउने गायकगायिकाहरू कुनै फरक भूगोलबाट आएका होलान् भन्ने लाग्थ्यो।

बालमस्तिष्कमा गीतका शब्दले कुनै अमुक तरंग पैदा गरिदिन्थ्यो। संगीतले शब्दको मर्मलाई जोडेको डोटेल ठान्दथे। रेडियोमा गीत बजिरहन्थे। उनी गीतको भावमा डुबिरहन्थे।

गीतको भावमा मात्र उनलाई डुबेर पुगेन। आफैँ पनि गाउन थाले। गाउँमा गाउने गायन केवल गाउलेले सुन्थे।  विद्यालयका आफ्ना संगीले सुन्थे। ज्यादातर त गोठाला जाँदा  वस्तुभाउ र  पाखाले सुन्थे।  त्यसमा गायनमा हुने विभिन्न आयामहरू के पुग्थ्यो वा पुग्थेन उनले थाहा थिएन। तर, डोटेल आफ्नो स्वर सुन्दै आफैँ दंग पर्थे।

'गाउँमा सिक्ने कुरा केही थिएन। बजार टाढा थियो। जब मैले एसएलसी सकेँ। त्यसपछि गाउँ छोडेँ', उनी सुनाउँछन्, 'उच्च शिक्षा पढ्न मात्र होइन संगीत क्षेत्रमा पाइला अगाडि बढाउन पनि मैले मेरो जन्मिएको घर छोडेको हुँ।'

नेपाली तारा हुँदै चलचित्रका गीतसम्म

एसएलसीपछि रूपकले गाउँ छोडे। गाउँ सँगसँगै उनले रेडियो र क्यासेटमा गीत सुन्ने बानि पनि उतै  छुटाए।  संगीतको लतमा भने कुनै कमी भएन। संगीतको भोक उस्तै थियो।

सुरुवाती दिनमा विज्ञान विषय पढे पनि संगीतले विज्ञानलाई जित्यो। उनले विज्ञान विषय त्यागे। संगीत विषयको अध्ययन शुरु गरे।

यसैबीच ६२ तिर नेपाली ताराको अडिसनको बेला रत्न राज्यलक्ष्मी क्याम्पसमा भर्ना भएका थिए। त्योबेला गायनका विभिन्न आयामबारे अध्ययन गरिसकेका थिए।

मात्र प्लेटफर्मको आवश्यकता थियो। त्यो प्लेटफर्म नै उनका लागि नेपाली तारा भयो। जहाँ उनले विभिन्न जनराका गीत गाए। तर, उपाधि भने हात पार्ने सकेनन्। नेपाली तारामा टप थ्रीबाट प्रतिस्पर्धाको दौडबाट बाहिरिए। यो घटनाले भने उनी दु:खी भएनन्। उनी भन्छन्, 'नेपाली ताराको प्रतिस्पर्धामा हार्नु र जित्नुसँग भन्दा पनि गाउने अवसर मेरा लागि महत्वपूर्ण थियो।'

'रियालिटी सो'को विशेषता लुकेका प्रतिभा निकालिदिन्छ। निकाल्ने मात्र होइन अवसरको खोजीमा रहेका प्रतिभावान नवप्रतिभालाई स्थापित गर्न मद्धत गरिदिन्छ। नेपाली ताराबाट उदय भएका डोटेल पनि नेपाली सांगीतिक बजारमा स्थापित बने।

उनले आधुनिकदेखि चलचित्रका गीतमा स्वर भरेका छन्।  संगीतको बजारमा निरन्तर यात्रारत डोटेलका सपनी राम्रो देखिन्न, मेरो बोली सुन्दा, चोखो माया लाकै हो, वनकी चरी के भन्छे’ जस्ता दर्जनौं गीतहरू चर्चित छन्। उनी भन्छन्, 'गीत कति गाएँ भन्ने कुराले भन्दा पनि ती गीतले दर्शकले कति मन पराउनुभयो भन्ने महत्वपूर्ण कुरा हो।'

सांगीतिक जीवनका उतारचढाव

त्यसबेला नेपाली ताराको चर्चा खुबै थियो। प्रतिस्पर्धाका रूपमा रहेका उनी पनि हटकेक नै थिए। उनले गाएका गीतहरू पनि चर्चामा आइरहे। तर, त्यो क्रेज विस्तारै सेलाउँदै गयो। पछिल्ला समयका गीतहरू खासै राम्रो चर्चामा आउन सकेनन्। उनी पनि मिडियामा कमै देखिन थाले। यो कुरा उनी पनि स्वीकार्छन्।

'६२ मा जस्तो क्रेज अहिले पाउन मुश्किल छ। कुनै पनि व्यक्तिको कामको चर्चा गर्ने एक समय हुन्छ। त्यो बेलाको क्रेज अहिले छैन। अहिले जो चर्चामा हुनुहुन्छ। उहाँहरू पनि एकदिन छायामा पर्नुहुन्छ। समयसँगै नयाँ आउने र पुराना छायामा पर्नु सामान्य हो।'

नेपाली संगीतको बजार पूर्ण व्यावसायिक नभएको चर्चा हुन्छ। क्यासेट हुँदै युट्युवको जमानासम्म आइपुग्दा विभिन्न फेजहरू उनले देखेका छन्। क्यासेटको जमाना सकियो।

सिआरबिटी आयो। सिआरबिटीबाट मेमोरीकार्डको जमाना आयो। त्यसपछि अहिले त झन् युट्युव ट्रेण्डको जमाना आइसकेको छ। गायनमा भने उनी निरन्तर लागिरहेका छन्।

प्रविधिको परिवर्तनले  आर्थिक पाटोलाई पनि असर पारिरहेको उनको बुझाई छ।  तर, असर गर्‍यो भन्दैमा उनले यसलाई भयंकर ठूलो समस्या भने मान्दैनन्।

'कति पैसा भयो भने मान्छे धनी हुन्छ?  यहाँ त खल्तीमा पैसा नहुने पनि सन्तुष्ट छन्, खुसी छन्। खुसीको परिभाषामा पैसा अट्दैन। प्रविधिलाई नै आत्मसात गर्नुको कुनै विकल्प छैन', उनी सुनाउँछन्।

डोटेल आफूले गाएका कैयौं गीतबाट पूर्ण सन्तुष्ट छन्। कतीमा आंशिक। तर पनि गायनबाट दैनिकी चलाइरहेका छन्। गायन यात्रामा उनी आफूलाई सफल नै मान्छन्। उनी भन्छन्, 'व्यस्तताको दुनियाँमा कसैले तपाईंलाई महत्व दिएर तपाईं काम हेर्छ, सुन्छ र महसुस गर्छ भने त मान्नुस तपाईं सफल मान्छे हो।'

उनले सन्तुष्टिको आधार पनि यसैमा भेट्टाएका छन्। 'अपेक्षाअनुसार त काम गर्न नसकेको हुँला तर, आफूले देखेको सपनाअनुसार नै काम गर्न पाइरहेको छु। यस मानेमा भने म सन्तुष्ट नै छु', उनी भन्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.