|
चन्द्रगढी विमानस्थलमा ह्विलचेयरमा राखिएको फोहरमैला। तस्वीर : पार्थ मण्डल

झापा : भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा राखिएका ह्विलचेयर फोहोरमैला उठाउने साधनको रुपमा कर्मचारीले प्रयोग गरिरहेको पाइएको छ। विमानस्थलमा अपाङ्गता, अशक्त र बिरामी हवाई यात्रुको सुविधाका ह्विलचेयर अनिवार्य राखिएको हुन्छ।

तर, चन्द्रगढी विमानस्थलमा ती ह्विलचेयरलाई त्यहाँ कार्यरत विमान कम्पनीहरूका कर्मचारीले फोहोरमैला उठाउने साधनका रुपमा प्रयोग गर्न थालेपछि नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका अध्यक्ष धनजुजु श्रेष्ठले आपत्ति जनाएका छन्। भद्रपुर नगरपालिका–८ निवासी उनको घर चन्द्रगढी विमानस्थलसँगै टाँसिएको छ। 

भद्रपुर–काठमाडौं ओहोरदोहोर गरिरहने केन्द्रीय अध्यक्ष श्रेष्ठ विमानस्थल जाँदा ह्विलचेयर प्रयोग गर्दै आइरहेका छन्। विमानस्थल पुग्दा उनको नजर विमानस्थलको गेटनजिकै राखिएको ह्विलचेयरमा पर्छ।

ह्विलचेयरको प्रयोग फोहोरमैला ओसार्न

‘ह्विलचेयर पछाडिपट्टीको जालीमा कुचो, फोहोरमैला उठाउने प्लास्टिकको भाँडो कोचिएर राखेको देखें र त्यसपछि ह्विलचेयरको फोटो खिचें,’ केन्द्रका अध्यक्ष श्रेष्ठले भने, ‘विमानस्थलमा राखिएको ह्विलचेयरको कर्मचारीले दुरुपयोग गर्नु निन्दनीय कार्य हो, तुरुन्त बन्द गरिनुपर्छ।’

उनले भने, ‘असोज ५ गते म काठमाडौं फर्किंदा एउटा जेट विमानका कर्मचारीले विमानभित्रबाट निस्किएको फोहोर मैला ह्विलचेयरमा राखेर लैजाँदै गरेको देखें, त्यसपछि त्यो फोटो पनि मैले खिचेर सुरक्षित राखें।’

उनले दुवै फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै भनेका छन्, ‘चन्द्रगढी विमानस्थलमा अपाङ्गता भएका व्यक्तिहरूको सेवाका लागि राखिएको ह्विलचेयरको दुरुपयोग सम्बन्धमा थप फोटो तथा भिडियो हाम्रा नेटवर्कका साथीहरूबाट प्राप्त भइरहेको छ।

 उडानका बेला हवाईजहाजमा जम्मा भएको फोहरमैला उठाएर ह्विलचेयरमा हाल्दै कम्पनीका कर्मचारी। तस्वीर सौजन्य : धनजुजु श्रेष्ठ

फोटोमा हवाईजहाजको फोहोरमैला ह्विलचेयरमा उठाइरहेको प्रस्ट देखिन्छ। अविलम्ब यस प्रकारका दुरुपयोग बन्द गर्न सरोकारवाला तथा जिम्मेवार कार्यालयको ध्यानाकर्षण गराउँदछु।’

‘फोहोरमैला उठाउने ह्विलचेयरलाई कर्मचारीले पुनः अपाङ्गता, अशक्त र बिरामी भएका हवाई यात्रुलाई प्रयोग गर्न दिइरहेकोप्रति आक्रोश पोख्दै उनले भने, ‘मानवता भन्ने केही हुँदैन, फोहोरमैला उठाउने ह्विलचेयर किन अपाङ्गता भएका यात्रुलाई ओसारपसार गराउन प्रयोग गरिन्छ ? विमानस्थलले त फोहोरमैला उठाउन अरू नै स्रोतसाधन प्रयोग गर्नुपर्ने होइन र ?’

यसो भन्छन् विमान कम्पनी

यता बुद्ध एयरलाइन्सका भद्रपुर स्टेसन मेनेजर ओम प्रधानाङ्गले विमानस्थलमा बुद्ध एयरले राखेको ह्विलचेयर फोहोरमैला उठाउन प्रयोग गरिएको छैन।

‘हामीसँग ६/७ वटा ह्विलचेयर छन्, त्यसलाई बिरामीका लागि मात्र प्रयोग गरिरहेका छौं,’ उनले भने, ‘अरू विमानले के गर्छ त्यो हामीलाई थाहा भएन।’

त्यस्तै चन्द्रगढी नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख मुरारीप्रसाद पौडेलले विमानस्थलमा एयरलाइन्सले राखेका ह्विलचेयरमा फोहोरमैला उठाउन कुनै पनि हालतमा नपाइने बताए ।

'त्यस्तो पाइए त्यसको छानबिन गरी हामी कारबाहीको दायरमा ल्याउँछौं,' उनले भने।

बिग्रिएका वा चालु अवस्थामा रहेका कुनै पनि ह्विलचेयरलाई फोहोरमैला उठाउने साधनको रुपमा विमानका कर्मचारीले प्रयोग गर्न नमिल्ने उनको भनाइ छ।

चन्द्रगढी विमानस्थलमा बुद्ध, यति, श्री एयर, सौर्य गरी दर्जनभन्दा बढी ह्विलचेयर रहेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.