कोरोना खोप वा नेगेटिभ  रिपोर्ट अनिवार्य

|

म्याग्दी : प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको तातोपानी कुण्डमा डुबेर निको हुन आउने बिरामीहरुको भीड लागेको छ।

 कोरोनाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म बन्द भएको तातोपानी कुण्ड असोजको पहिलो सातादेखि खुला गरिए पछि उपचारका लागि यहाँ डुब्न आउने बिरामीहरुको भीड लागेको हो।

नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेसँगै  बैशाखको तेस्रो सात देखि तातोपानी कुण्ड बन्द गरिएको थियो। जिल्ला प्रशासन कार्यालय म्याग्दीले स्वास्थ्य मापदण्ड पालना गरेर तातोपानी कुण्ड खुल्ला गर्न अनुमति दिएपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले असोज पहिलो सातादेखि सर्वसाधारणका लागि तातोपानी कुण्ड खुल्ला गरेको हो। 

 पछिल्लो समय कोरोना भाइरसको संक्रमण घट्दै गएकोले उच्च स्वास्थ्य सर्तकता अपनाएर कुण्ड खुला गरिएको र कुण्डलाई आगामी दिनमा अझै व्यवस्थित बनाउँदै लैजाने पहल शुरु भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिए।

समितिका सचिव केसीका अनुसार कुण्ड खुलेसँगै दैनिक डेढसयदेखि दुईसयको हाराहारीमा बिरामीहरुले कुण्डमा डुबेर रोग निको गराउन आउने गरेका छन्  । कोभिड विरुद्धको खोप लगाएको कार्ड वा नेगेटिभ रिपोर्टको प्रमाण देखाएर मात्र कुण्डमा प्रवेश दिइने गरिएको छ।

 केही दिनयता विरामीहरुको चाप बढ्दै गएपछि कुण्डमा प्रवेश गर्दा अनिवार्य रुपमा माक्स लगाउनु पर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने र भिडभाड गर्न नहुने नियमलाई कडाईका साथ कार्यन्वयन गरिएको केसीको भनाइरहेको छ। अहिले कुण्डमा आउने विरामीहरुलाई आलोपालो गरेर डुब्ने व्यवस्था मिलाइएको उनले बताए।

अहिले विशेषगरी म्याग्दी र छिमेकी जिल्लाका विरामीहरु उपचारका लागि यहाँ आएका छन्। टाढाटाढाका विरामीहरु नआएका भए पनि सङ्क्रमण दर कम हुँदै गएकाले र वातावरण सहज बन्दै गएकाले बिरामीहरु बढ्ने आकलनका साथ समितिले विरामीहरुको व्यवस्थापन र स्वास्थ्य सावधानीका उपायहरुका बारेमा सतर्कता अपनाएको व्यवस्थापन समितिले जनाएको छ।

उत्तरबाट पूर्वतर्फ बगेको म्याग्दी नदीको किनारमा अवस्थित तातोपानी कुण्डमा प्राकृतिक रुपमा नै जमिन भित्रबाट ५० डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गर्दछ। विरेनुनको गन्ध मिश्रित तातोपानीमा अनौठो किसिमको नुनिलोपना पाइन्छ। त्यस्तो पानी पिउँदै तातोपानी कुण्डमा विहान ३ घण्टा र बेलुकी ३ घण्टाका दरमा सातदेखि दश दिनसम्म डुबेमा  बाथ रोग, ढाड दुख्ने,  ग्यास्ट्रिक, चर्मरोग, लगायतका रोगहरु निको हुने विश्वासका साथ विरामीहरु यहाँ डुब्न आउने गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.