ढल, फोहोर, डाँडा कटान र फ्यूल डिपोको काम बाँकी

|

पर्वत : निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण तर्फको करिब ८४ प्रतिशत काम पूरा भएको छ। 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेशका मन्त्रीहरूले बुधवार पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्ने क्रममा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थलको ८४ प्रतिशत भौतिक काम सम्पन्न भएको जानकारी गराएका हुन्। निर्माणको अवस्था, विमानस्थल सञ्चालन गर्न लाग्ने समय, स्थानीय सरोकारवालाले उठाएका समस्या आदिका बारेमा बुझ्न मुख्यमन्त्री सहितको टोली विमानस्थल पुगेको थियो। 

हाल चिनिया एक सय ८५ र नेपाली दुई सय ३० जना कामदार काममा खटिइरहेको र एक सय १० वटा हेभी मसिन प्रयोग भइरहेको उनले मुनकर्मीले बताए। २२ अर्बको परियोजनामा हालसम्म ६९ प्रतिशत आर्थिक प्रगति भएको पनि उनले सुनाए। 

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेश र मुलुककै गौरवको आयोजना समयमै निर्धारित समयमै सम्पन्न गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए। प्रदेशको समृद्धिसँग जोडिएको विमानस्थललाई अधिकभन्दा अधिक प्रयोग गरी स्वदेशी र विदेशी पर्यटक पोखरा भित्राउनुपर्ने उनको भनाइ थियो।

पोखरामा विदेशबाट सिधै उडान सञ्चालनका लागि गर्नुपर्ने तयारी अहिलेबाटै थाल्नुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले सुरक्षा, भन्सार, अध्यागमन कार्यालय सञ्चालनका लागि पनि पहल गर्नुपर्ने बताए। अहिले विमानस्थल नजिकै ल्यान्डफिल साइड रहेको र त्यसले उडानमा समस्या पार्ने भएकाले तत्काल विकल्प खोज्न उनले सम्बन्धित पक्षसँग आग्रह पनि गरेका छन्।  

विमानस्थल निर्माण भइरहँदा पानीको निकास मुख्य समस्या देखिएको भन्दै मुख्यमन्त्री पोखरेलले यसका लागि प्रदेश सरकारले सङ्घ सरकारसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए। ‘पोखराको धेरैजसो भागको पानीको निकास यही विमानस्थल आसपास भएकोले त्यसको व्यवस्थापन नहुँदा विमानस्थल नै खतरामा पर्न थालेको छ’ मुख्यमन्त्री पोखरेलले भने, ‘स्थानीय नागरिकले उठाएका सवाल तत्काल सम्बोधन गर्नुपर्ने छ, पानी र ढल व्यवस्थापनका लागि ३४ करोड रुपैयाँ लाग्ने लागत अनुमान गरिएको छ, प्रदेशको स्रोतले मात्र भ्याउँदैन, हामी केन्द्रसँग समन्वय गर्छौँ।’

मुख्यमन्त्री पोखरेलले विमानस्थलको लागि गर्नुपर्ने कामको बारेमा भनाई राखेपछि आयोजना प्रमुख मुनकर्मीले उडानको मुखमा पर्ने रिठ्ठेपानी डाँडा खार्नका लागि स्थानीय स्तरबाट निजी जग्गा कटान सुरु भए पनि ठोसरुपमा अगाडि बढ्न नसकेको उनले बताए। ‘सरकारी वनतर्फको कटान सुरु गर्न पुन एआई ए गर्नुपर्ने छ। विमानस्थलभित्र आयल डिपो निर्माणको काममा पनि ढिलासुस्ती भएको छ’ उनले भने, ‘विमानस्थल नजिकै रहेको खुल्ला ल्यान्डफिल साइडका कारण चराचुरुङ्गीको क्रियाकलाप देखिएकाले यसको व्यवस्थापन तत्काल गर्नुपर्ने भएको छ।’

उक्त अवसरमा पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले सन २०२२ को जनवरी १ मा आन्तरिक उडान सुरु गर्ने गरी काम भइरहेको बताए। आन्तरिक उडान सुरु भएको कम्तीमा पनि एक वर्षभित्रमा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न सकिने उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.