|

हेटाै‌ंडा : बागमती प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा कांग्रेसभित्रै मतभेद देखिएको छ। 

आलोपालो प्रणालीमा कांग्रेसले प्रदेश सरकारकाे नेतृत्व गर्ने चर्चा भएसँगै कांग्रेसभित्रै मतभेद देखिएको हो। मुख्यमन्त्री कुन दलले पाउने भन्ने नटुंगिदा सरकारविरुद्ध जान नसकिरहेका वेला यसले अन्योल बढेको छ। प्रदेश सरकार अल्पमतमा परेको तीन साता बित्दा पनि मुख्यमन्त्री कुन दलले पाउने भन्ने ट‌ुंगाे लागिसकेकाे छैन । 

एमाले विभाजनमा १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वमा रहेको प्रदेश सरकार अल्पमतमा परेको छ। मुख्यमन्त्री शाक्यले असोज २५ गतेभित्र संसद्‍मा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ।

करिब १० दिनमा अष्टलक्ष्मी सरकारबाट बाहिरिने निश्चित भए पनि सरकारविरोधी गठबन्धनले मुख्यमन्त्रीको टुंगो लगाउन सकेको छैन। गठबन्धनको केन्द्रमा रहेका पाँच दलमध्ये बागमती प्रदेशमा तीन घटक मात्रै रहेकोमा निर्वाचन आयोगले स्वतन्त्र सांसद प्रेम तामाङलाई जसपामा मान्यता दिएसँगै गठबन्धनमा रहेको दल संख्या ४ पुगेको छ।

गठबन्धनमा रहेको नेकपा एस संसदीय दलका नेता राजेन्द्र पाण्डे र नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन्।

नेकपा एसले प्रदेश १ र बागमती प्रदेश दुवैमा आफैंले मुख्यमन्त्री पाउने सहमति भएको दाबी गरिरहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले प्रदेश १ मा नेकपा एसलाई मुख्यमन्त्री दिएर बागमती प्रदेशमा इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउन खोजिरहेको छ।

त्यस्तो नभए कांग्रेसको १४ औँ महाधिवेशनसम्मका लागि भए पनि बागमतीमा कांग्रेसलाई नेतृत्व गर्न दिन देउवा पक्षले नेकपा एससमक्ष प्रस्ताव राखेको छ। नेकपा एसले भने यस्तो प्रस्ताव स्वीकार नगरेको स्रोतले बताएको छ।

स्रोतका अनुसार कांग्रेसको १४ औँ महाधिवेशनबाट देउवा पुनः सभापतिमा दोहोरिन चाहन्छन्। यस्तोमा आफू निकट बानियाँ मुख्यमन्त्री हुँदा सहज हुने हुँदा महाधिवेशनसम्मका लागि भए पनि बानियाँलाई बागमती प्रदेशका मुख्यमन्त्री बनाउने पक्षमा देउवा छन्। देउवाले महाधिवेशनसम्मका लागि बानियाँलाई मुख्यमन्त्री बनाउने चर्चासँगै कांग्रेस नेता शेखर कोइरालाले आपत्ति जनाएका छन्।

कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै संकटमा परेको एमाले नेतृत्वको प्रदेश सरकार परिवर्तन गर्ने क्रममा कांग्रेसको महाधिवेशनलाई लक्षित गरेर अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव अस्वीकार्य र आपत्तिजनक रहेको बताएका छन्।

उनले संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्तो व्यवहारले कांग्रेसका सदस्य र आमनागरिकलाई के सन्देश दिन खोजेको भन्दै प्रश्न गरेका छन्। कोइरालाले यस्तो कार्यमा संलग्न नहुनसमेत सबैमा आग्रह गरेका छन्।

कोइरालाको अभिव्यक्तिसँगै प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा कांग्रेसभित्र रहेको मतभेद छर्लङ्ग भएको छ। कोइराला बागमती प्रदेशमा नेकपा एसलाई नेतृत्व गर्न दिएर प्रदेश १ मा कांग्रेसको नेतृत्वमा सरकार बनाउन चाहन्छन्। प्रदेश १ को कांग्रेस संसदीय दलका नेता राजीव कोइराला उनी निकट हुन्। त्यसैले प्रदेश १ मा कोइरालालाई मुख्यमन्त्री बनाएर बागमती प्रदेश नेकपा एसलाई दिने उनको दाउ छ।

प्रधानमन्त्री तथा सभापति देउवा प्रदेश १ नेकपा एसलाई दिएर बागमतीमा आफू निकट बानियाँलाई मुख्यमन्त्री बनाउन चाहन्छन्। त्यस्तो हुन नसके लुम्बिनीमा जस्तै आलोपालो सरकार चलाउने देउवाको प्रस्ताव छ। बानियाँलाई बागमतीका मुख्यमन्त्री बनाउन माओवादीको पनि समर्थन रहेको स्रोतको दाबी छ।

अढाई महिना नेतृत्व गर्ने कुरा भएको छैन : नेकपा एस

नेकपा एसको बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले अढाई महिना प्रदेश सरकारले नेतृत्व गर्ने विषयमा कुरा नभएको दाबी गरेका छन्। खनालले प्रदेश १ र बागमतीमा आफूहरूले नेतृत्व गर्ने सहमति भइसकेको भन्दै अढाई महिना कांग्रेसलाई नेतृत्व दिने विषयमा सहमत नहुने बताए।

‘बागमती प्रदेश सरकारको नेतृत्व राजेन्द्र पाण्डेले गर्नुहुन्छ। यो विषयमा अरू कुनै प्रस्ताव र सहमति केही पनि भएको छैन। बाहिर आएको हल्ला केवल हल्लामात्रै हो, सत्य होइन’, उनले भने।

खनालले २४ गतेसम्म मुख्यमन्त्री शाक्यलाई संसद्मा विश्वासको मत लिन वा राजीनामा दिएर मार्ग प्रशस्त गर्न समय दिने बताए। उनले शाक्यले विश्वासको मत मागे पनि नपाउने हुनाले आफूहरू बहुमत पुर्‍याएर नयाँ सरकार गठनका लागि जाने बताए।

थाहाखबरसँग कुरा गर्दै उनले भने, ‘उहाँले विश्वासको मत लिने बताइरहनु भएको छ क्यारे। मत मागे पनि उहाँले पाउनुहुन्न, नपाएपछि हामी बहुमत पुर्‍याएर जान्छौं। राजेन्द्र पाण्डेको नेतृत्वमा बागमती प्रदेशमा गठबन्धनको सरकार बन्छ।’​

आलोपालो नेतृत्व हुनसक्छ : कांग्रेस

बागमती प्रदेशको कांग्रेस संसदीय दलका सचिव निमा लामाले बागमती प्रदेशमा आलोपालो प्रणालीमा सरकारको नेतृत्व हुनसक्ने बताएका छन्।

थाहाखबरसँग कुरा गर्दै लामाले भने, ‘हामीले प्रदेश १ मा तपाईंहरू नेतृत्व गर्नुहोस्, बागमतीमा हामी गर्छौं भनेका छौं। नभए आधा आधा समय प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा पनि कुरा भइरहेको छ तर महाधिवेशन लक्षित गरेर अढाई महिना नेतृत्व गर्ने विषयमा भने कुरा भएको छैन।’

लामाले प्रदेश सरकारको नेतृत्वको विषयमा हालसम्म कुनै सहमति नभएको भन्दै नेकपा एसले पनि हालसम्म आफ्नो दाबी मात्रै राखेको बताए। उनले माधव नेपालले पनि प्रदेश र बागमतीमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्छ भन्नु सहमति भइसकेको नभएर दाबी प्रस्तुत गरेको मात्रै बताए।

गठबन्धनको अन्य दलसँगको छलफल र सहमतिमा मात्रै मुख्यमन्त्री टुंगिने उनको भनाइ छ। लामाले केन्द्रमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा प्रदेशमा पनि ढिलाइ भएको बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.