|

विराटनगर : ३८ क्विन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको बहस जारी छ।

बिहीबार १५ जना कानुन व्यवसायीले १३ जना प्रतिवादीको पक्षमा बहस गरेका छन्। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा प्रतिरक्षा बहस गर्नेमा दुई जना वरिष्ठ अधिवक्ताहरू पनि थिए।

जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार वरिष्ठ अधिवक्ताहरू सुरेशलाल श्रेष्ठ, गोपालकृष्ण घिमिरे, अधिवक्ताहरू सागर घिमिरे, भरतबहादुर थापा, देवीबहादुर घिमिरे, बलराम सुवेदी, हेमराज पन्त, ज्ञानेन्द्र थापा, बासुदेव ज्ञवाली, गणेशप्रसाद लुइँटेल, प्रवीण सुवेदी, विकास थापा, डिल्लीबहादुर कार्की, सीताराम राई र देवेन्द्र कोइरालाले प्रतिवादीको प्रतिरक्षा बहस गरे।

कानुन व्यवसायीहरूले प्रतिवादीहरू नीरू भनिने नर्वदा खरेल, भुजुङ गुरुङ, तुलाराम थारू, ठाकुरप्रसाद ढुंगाना, रोशन भनिने गुप्तलाल भुसाल, मदन सिलवाल, बाला दाइ भनिने बालकृष्ण खड्का, हेमन्त गौतम, भोजे मामा भनिने भोजराज भण्डारी, लाक्पा शेर्पा, राजन कुमार, दोराम खत्री र  चाचाजी भनिने महाविरप्रसाद गोल्यानका पक्षमा बहस गरेको धमलाले जानकारी दिए।

नर्वदा मुद्दामा मुख्य अभियुक्त बनाइएका मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीकी पत्नी हुन्। उनको पक्षमा अधिवक्ता विकास थापाले बहस गरे। गुरुङ दुवईबाट नेपालमा हुने सुन तस्करीको मुख्य लगानीकर्ता भएको अनुसन्धानबाट पत्ता लागेको थियो। उनको प्रतिरक्षामा अधिवक्ताहरू सागर घिमिरे, भरतबहादुर थापा र देवीबहादुर घिमिरेले बहस गरेका छन्।

मुद्दाका चर्चित अभियुक्तमध्येका भोजे मामा भनिने भोजराज भण्डारीको प्रतिरक्षामा विकास थापा र देवेन्द्र कोइरालाले बहस गरे। अदालतमा मुद्दा दर्ता भएपछि फरार रहेका भण्डारी तीन महिना अघिमात्रै मोरङ अदालतमा हाजिर भएका हुन्। उनी थुनामा छन्।

अनुसन्धानका क्रममा विदेशबाट नेपालतिर तस्करी हुने सुन घरमा राखेर अन्यत्र ‘सप्लाई’ गर्ने धन्दामा उनको संलग्नता देखिएको थियो। विदेशबाट तस्करी गरेर ल्याइएको सुन गोरेको समूहबाट लिएर भारततिर ‘सप्लाई’ गर्ने धन्दामा चाचाजीको संलग्नता देखिएको थियो। तुलाराम थारु नेपाल एयरलाइन्सका गाडी चालक र हेमन्त गौतम तथा दोराम खत्री थाइ एयरलाइन्सका कर्मचारी हुन्।

दुवईबाट त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल हुँदै भित्रने तस्करीको सुन गोरेको समूहलाई जिम्मा लगाउने धन्दामा संलग्नता देखिएपछि उनीहरूलाई पनि मुद्दामा प्रतिवादी बनाइएको थियो। ठाकुरप्रसाद ढुंगाना दुवईका ट्राभल्स एजेन्सी सञ्चालक हुन्। उनले गोरेको समूहसँग साँठगाँठ गरेर नेपालतिर सुन पठाउने गरेको खुलेको छ।

रोशन भनिने गुप्तलाल भुसाल दुवईमा बसेर अपराधिक क्रियाकलाप गरिरहेका व्यक्ति हुन्। गोरेसँग मिलेर नेपालतिर सुन तस्करी गर्ने धन्दामा उनको संलग्नता एकिन भएको बताइएको छ। नेपालमै बसेर सुनको व्यापार गरिरहेका मदन सिलवालले दुवईबाट आएको सुन किन्ने र बिक्री तथा विभिन्न ठाउँमा ‘सप्लाई’ गर्ने गरेको पाइएको थियो। अ

नुसन्धानबाट पत्ता लागेअनुसार बाला दाइ भनिने बालकृष्ण खड्का सुन तस्करका सहयोगी हुन्। भारतीय नागरिक राजन कुमार र लाक्पा शेर्पा गोरेका सवारी चालक हुन्। दुवईबाट नेपालमा सुन तस्करी गर्न र तस्करीको सुन भारततिर ‘सप्लाई’ गर्न गोरेको समूहलाई सहयोग गरेको अभियोग उनीहरूमाथि छ। सुन तस्करी र सनम हत्यामा प्रतिवादीहरूको संलग्नता नदेखिएको जिकिर उनीहरूका कानुन व्यवसायीले गरेका छन्।

कानुन व्यवसायीहरूले प्रमाणका रूपमा पेस गर्नुपर्ने सुन नै फेला नपरेको अवस्थामा विभिन्न व्यक्तिहरूलाई जबरजस्ती अभियुक्त बनाउँदै हचुवाका भरमा मुद्दा चलाइएको दाबी गरे। प्रतिवादीहरूले मुद्दामा सफाइ पाउनुपर्ने जिकिर कानुन व्यवसायीहरूको छ।

जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दर्ता गरेको थियो। १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी सरकार पक्षको छ।

सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा उक्त परिणामको सुन तस्करी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट खुलेको हो। तर तस्करी गरेको भनिएको सुन नै अहिलेसम्म फेला परेको छैन। तस्करीको साढे ३३ किलो सुन दुवईबाट काठमाडौं ल्याएपछि गायब बनाएको आरोपमा गोरेको समूहले २०७४ साल फागुन १८ गते सनमको हत्या गरेको थियो।

सनम हत्याको अनुसन्धान गर्दा ठूलो परिणाममा विदेशबाट नेपालतिर सुन तस्करी भइरहेको पत्ता लागेपछि मोरङ अदालतमा मुद्दा दायर गरिएको हो। मुद्दाको अन्तिम सुनुवाइ गत आइतबारदेखि अदालतमा जारी छ। फैसलाको चरणमा रहेको मुद्दामा प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सकिएपछि वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलले प्रतिउत्तर बहस गर्ने छन्।

अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाका अनुसार प्रतिरक्षा र प्रतिउत्तर बहस सकिएपछि अरु थप विषय बुझ्न नपरेमा अदालतबाट मुद्दाको फैसला हुने छ। दशैँ अगाडि नै मुद्दाको फैसला गर्ने तयारी रहेको राणाले बताए। उनका अनुसार मुद्दामा नेपाल प्रहरीका उच्च अधिकारीसहित ७७ जनालाई प्रतिवादी बनाइएको छ। प्रतिवादीमध्ये ५५ जना पक्राउ परिसकेका छन्। २२ जना फरार रहेको जानकारी राणाले दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.