|

२० औँ शताब्दीका सबैभन्दा प्रभावशाली व्यक्तित्व अमेरिकी गायक तथा अभिनेता फ्रान्क सिनात्रा विशेषगरी गीतका कारण चिनिन्छन्। सन् १९९८ मा ८२ वर्षको उमेरमा निधन हुनुअघि उनले धेरै नाम कमाए।

साथै त्यो बेलाका बदनाम कलाकारको सूचीमा पनि उनको नाम अगाडि नै आउँथ्यो। द वे यु लुक टुनाइट, द्‌याट्स लाइफ, माइ वे, समथिङ स्टुपिड, गट यु अण्डर माइ स्किन, द बेस्ट इज यट टु कमलगायत उनका दर्जनौँ गीत अहिले पनि खोजीखोजी सुनिन्छन्। 

सन् १९१५ मा अमेरिकाको न्युजर्सीमा जन्मेका सिनात्रा २० वर्षको हुँदादेखि सांगीतिक क्षेत्रमा लागे। ६० वर्ष सक्रिय रूपमा संगीतकर्म गरेका उनले सन् १९९५ पछि लस एन्जलसमा अवकाश जीवन बिताएका थिए। 

उनी भन्ने गर्थे, 'जीवन एकपटक मात्रै बाँचिन्छ। जसरी म बाँच्छु, एकपटक नै काफी छ।' यद्यपि, उनको जीवनको अन्तिम तीन वर्ष भने प्रायश्चित र आत्मालोचनामा बित्यो। त्यही बेला उनलाई विभिन्न रोगले सताउन थालेको थियो।

सिनात्राका गीतसँगै उनीसँग जोडिएका विभिन्‍न किस्साहरू अहिले पनि चर्चित छन्। भनिन्छ‚ उनलाई आफ्नो रिस नियन्त्रण गर्न गाह्रो हुन्थ्यो। उनी निकै सन्काहा स्वभावका थिए। कति बेला कुन कुराले उनलाई रिस उठाउँछ भन्ने कुरा कसैले भन्न सक्दैनथ्यो।

पत्रकार सम्मेलनमा उनलाई कसैले सोधेको प्रश्न मन परेन भने उनी प्रश्न सोध्ने मान्छेलाई त्यही मुक्का हान्न पनि सक्थे। उनलाई रक म्युजिक मन पर्दैनथ्यो यदि कतै रक, मेटल म्युजिक बजेको सुने भने उनलाई रिस उठ्थ्यो। कतिपटक रक म्युजिक बज्यो भनेर रेडियो नै फुटाएको घटना पनि सुन्‍न पाइन्छ। उनले यस्ता व्यवहार धेरैजसो रक्सीको नशामा भएका बेला गर्थे।

उनलाई रक्सीसँग अर्कै किसिमको मोह थियो। उनी भन्ने गर्थे, 'रक्सी मान्छेको सबैभन्दा ठूलो दुस्‍मन हुन सक्छ तर बाइबलमा भनिएको छ आफ्नो दुस्‍मनलाई माया गर।' 

सिनात्रा धेरै समय आफ्नो वैवाहिक सम्बन्धका कारण पनि विवादमा तानिने गर्थे। उनले चारपटक विवाह गरे। २४ वर्षको उमेरमा नान्सी बार्बटोसँग गाँसिएको उनको वैवाहिक सम्बन्ध १२ वर्ष चल्यो। त्यसपछि उनले सन् १९५१, १९६६ र १९७६ मा क्रमशः आवा गार्डनर, मिया फरो र बर्बरा मार्क्ससँग दोस्रो, तेस्रो र चौथो विवाह गरे। उनीमाथि श्रीमतीहरूलाई विश्वासघात गरेको आरोप लाग्ने गर्थ्यो। 

सिनात्राकी दोस्री श्रीमती आवा गार्डनरसँगको सम्बन्ध रहस्यमय मानिन्छ। ६ वर्ष वैवाहिक सम्बन्धमा रहँदा सिनात्राले तीनपटक आत्महत्याको प्रयास गरेका थिए। उनकी चौथी श्रीमती बर्बराले एक अन्तर्वार्तामा आफूलाई सिनात्रा बहुरूपी मान्छे लाग्ने बताएकी थिइन्। रक्सी खाएपछि सिनात्रा निकै रिसाउने भएकाले रक्सी खाएका वेला आफू कोठामा गएर भित्रबाट चुकुल लगाएर एक्लै बस्ने गरेको पनि बताएकी छन्।

सिनात्राको सबैभन्दा लामो वैवाहिक सम्बन्ध पनि बर्बरासँग नै भयो। उनको निधन हुँदा उनीहरूको विवाहको २२ औँ वर्ष चलिरहेको थियो। सिनात्राको निधनपछि बर्बराले २० वर्ष एकल जीवन बिताइन् र मृत्युवरण गरिन्।

सिनात्रा आफ्नो करिअरको उत्कर्षमा हुँदा सबै युवती उनलाई चाहन्थे र सबै पुरुष उनी जस्तो बन्न चाहन्थे। बाहिरबाट हेर्दा सिनात्रा जति आकर्षक देखिन्थे भित्रबाट कमजोर पनि थिए। उनमा आत्मविश्वासको कमी थियो। मानसिक रूपमा पनि उनी अस्थिर थिए। सानै उमेरदेखि अब्सेसिव कम्पल्सिव डिसर्डर(ओसिडी)सँग लडिरहेका सिनात्राको व्यवहार घरी घरी आफ्नै नियन्त्रणमा हुन्थेन। 

एकातिर प्रशंसकको संख्या बढिरहेका बेला अर्कातिर उनी पुग्ने सबैजसो पार्टी तथा सम्मेलनबाट कोही न कोही शत्रु पनि कमाइरहेका हुन्थे। उनको संगत त्यतिवेलाका नामुद माफियाहरूसँग पनि हुने हुनाले उनीसँग सबैजना डराउँथे। एफबिआईले निरन्तर सिनात्रालाई निगरानी गर्थ्यो।

सिकागोका कुख्यात ग्याङस्टार साम गियनकेनासँग उनको राम्रो सम्बन्ध थियो। तर, कुनै पनि आपराधिक क्रियाकलापमा संलग्न भएको प्रमाण नभेटिएपछि उनी कहिल्यै समातिएनन्। प्रमाणको नाममा अपराधीहरूसँग उनको फोटो भेटिन्थ्यो जुन पर्याप्त थिएन। सन् १९७२ को हलिउड फिल्म द गडफादरमा देखाइएको जोनी फोन्टेन पात्र सिनात्रालाई नै हेरेर लेखिएको भनिन्छ। 

सिनात्राको जीवनीमा आधारित रहेर धेरै लेख तथा वृत्तचित्र बनेका छन्। चार वर्षअघि बायोपिकका लागि चिनिने हलिउड निर्देशक मार्टिन स्कर्सिसले सिनात्राको जीवनीमा आधरित भएर फिल्म बनाउने घोषणा गरेका थिए। तर त्यो फिल्म बन्न सकेन। आफ्नो ड्रिम प्रोजेक्ट मध्येमा गनेका मार्टिनले सिनात्राको बायोपिकको लागि तयारी नपुगेको जिकिर गरेका थिए।

सिनात्राको आम गन लिभ टिल आइ डाइ आज पनि चर्चित छ। गीतमा भनिएको छ,

नमर्ने बेलासम्म बाँचिदिन्छु
म रुनुको सट्टामा हाँसिदिन्छु
'आहा ! क्या मान्छे छ' भन्नेछन् देख्नेहरू
म दुःखमा पनि नाचिदिन्छु...

   न्युज एजेन्सीहरूको सहयोगमा ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.