|

विराटनगर : सुनसरीको बराहक्षेत्र नगरपालिका-४ मा रहेको अमाह सिमसार क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ। सिमसार‚ अमाह पोखरी र यहाँको प्राकृतिक सुन्दरताले आन्तरिक पर्यटकलाई आकर्षण गरेको हो।

अमाह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भोजराज गुरङका अनुसार सुनसरी, मोरङलगायत छिमेकी जिल्लाका पर्यटकहरु पोखरी र सिमसार अवलोकन गर्न आउने गरेका छन्। समूहले पोखरीमा राखेको डुंगाको व्यवस्था गरेको छ। पर्यटकहरू टिकट काटेर बोटिङमा रमाउँछन्। उनका अनुसार सिमसार क्षेत्रमा सिजनको बेला वनभोजका लागि पनि आउने गरेका छन्।

समुदायले संरक्षण गरेको घना जंगल रहेको सिमसार क्षेत्रको डेढ हेक्टर (करिब २ बिघा)मा पोखरी फैलिएको छ। वन क्षेत्र २०३ हेक्टर भए पनि सिमसार खण्ड भने ५२ हेक्टर छ। विभिन्न प्रजातिका चरा समेत रहेको यस क्षेत्रलाई जैविक विविधता अध्ययन केन्द्र बनाउने समेत योजना रहेको अध्यक्ष गुरुङले बताए।

केही वर्षअघि सिमसार क्षेत्र संरक्षण नहुँदा यस क्षेत्रको अस्तित्व संकटमा पर्दै गएकाले स्थानीयले सिमसार क्षेत्रको संरक्षण गरेको गुरुङको भनाइ छ। सिमसारको प्राकृतिकरुपमा संरक्षण गर्न, जीवजन्तुको संरक्षण गर्न साथै आन्तरिक पर्यटनको विकासका लागि प्रदेश १ सरकारले एक करोड ३० लाख रुपैयाँ ‍विनियोजन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.