|

विराटनगर : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तीनकुनेमा ८० घर मुसहर समुदाय बसोबास गर्छन्। शिक्षा, स्वास्थ्य र रोजगारीदेखि टाढा रहेका उनीहरू दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने गर्दै आइरहेका छन्।

शुक्रबार प्रदेश १ की सांसद उमिता विश्वकर्मासहित पाँचजना प्रदेशसभा सदस्य मुसहर बस्तीको अवस्था बुझ्न् पुगे। प्रदेश १ को मुख्यमन्त्री भीमप्रसाद आचार्य र विश्वकर्माको निर्वाचन क्षेत्रमा रहेको उक्त बस्तीको विकासमा सरकारले बेवास्ता गरेको उनीहरूले गुनासो गरे।

‘यहाँ निर्वाचन जितेर गएका नेताको कुरा छाडौँ, अप्ठ्यारोमा प्रहरी समेत आँउदैनन्,’ हरिशंकर सरदारले प्रदेशसभा सदस्यहरू माझ गुनासो राख्दै भने, ‘सरकारको उपेक्षामा परेका हामी यो बस्तीमा शिक्षा, स्वास्थ्य, रोजगारीको समस्या छ।’

मुसहर बस्तीमा खानेपानीसँगै शौचालयको समेत अभाव रहेको हरिशंकरले बताए।  ‘पैसा हुनेले खानेपानी जडान गरे तर पैसा नहुनेले अझै  खानेपानी अभाव बेहोर्नु परेको छ,’ उनले भने, ‘यहाँ चर्पीको पनि समस्या छ। चर्पी नहुँदा नजिकको जंगल धाउनुपर्ने बाध्यता छ।’

सोही स्थानकी भक्कु सरदारले निर्वाचनको बेला आएका नेता जितेर गएपछि कहिल्यै फर्केर नआउने गुनासो सुनाइन्। उनले भनिन्, ‘भोट माग्न आउनुभएको नेता चुनाव जितेर गएपछि एक पटक पनि हाम्रो बस्तीमा पाइला टेक्नुभएको छैन।’ उनले नेतालाई यो क्षेत्रका जनता कसरी बाँचिरहेका छन् भन्ने समेत खबर नरहेको गुनासो गरिन्।

आफुहरू बसेको जग्गा ऐलानी भएकाले नेताहरूको भोट मोग्ने राम्रो माध्यम भूमिहीनको समस्या रहेको भक्कुको भनाइ छ। ‘जग्गा समस्या समाधानको एजेण्डा लिएर भोट माग्दै घरदैलोमा आउने नेताहरू निर्वाचन जितेर गएपछि आफूले गरेको बाचा नै बिर्सिन्छन्,’ उनले भनिन्, ‘दशकौँदेखि हामी ऐलानी जग्गामा बस्दै  आइरहेका छौं। नेता फेरिए हाम्रो समस्या फेरिएन।’

भक्कुजस्तै ८० घरपरिवार भूमिहीन समस्या समाधन साथै उचित शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्थापनको राज्यको ध्यान पुगोस् भन्ने चाहन्छन्।

मुसहर समुदायमा शिक्षा साथै जनचेतना अभावका कारण गरिबी निम्तिएको अमाह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भोजराज गुरूङको बुझाइ छ।  उनका अनुसार तीनकुनेमा बसोबास गर्ने  मुसहर समुदायको प्रमुख पेसा समुदायिक वनमा भएको काठ, दाउरा बेच्ने हो।

‘समुदायिक वनमा भएका काठ, दाउरा बेचेर मनग्य कमाइ हुन्छ। तर कमाएको पैसाको उचित व्यवस्थापन गर्न नसक्दा यो बस्तीका बासिन्दा गरिबीबाट उठ्न नसकेको हो,’ उनले भने, ‘यसो हुनुमा अशिक्षासँगै जनचेतनाको अभाव पनि मुख्य कारण हो।’

के भन्छन् प्रदेशसभा सदस्य ?

मुसहर समुदायका नागरिकको अवस्था र गुनासो सुनेपछि प्रदेशसभा सदस्य लोकप्रसाद संग्रौलाले आधारभूत तहका जनताको समस्यामा सरकारको कुनै ध्यान नगएको महसुस भएको बताए। ​उनले शौचालय, पानी जस्ता महत्वपूर्ण कुराको जनताले नपाएको विषयले दुःख लागेको बताए।

उन भने, ‘जनताको समस्याको विषयमा सरकारको ध्यान पुग्नुपर्छ भन्ने हामीलाई महशुस भएको छ।’ 

 प्रदेशसभा सदस्य विश्वकर्माले यस समुदायमा बालविवाहका साथै अशिक्षा प्रमुख समस्या रहेको बताइन्। प्रदेशसभा सदस्य सरिता थापाले सरकारको मात्रै भर नपरी आफूले पनि पहल गर्नुपर्नेमा जोड दिइन्।

 ‘शासन  बदलिएर जनताका छोराछोरी राष्ट्रप्रमुख भएका बनेका छन्, तर जनताको जीवनस्तर बदलिएन’ उनले भनिन्, ‘अब सरकराको मात्र भर परेर हुँदैन, जनता आफुले पनि पहल गर्नुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.