दुई रंगशाला वर्षौंदेखि अलपत्र, दाताको हात हेर्दै 'पिप्ले क्याम्पा'

|

हेटौंडा : शुक्रबार मकवानपुर जिल्ला फुटबल संघले स्थानीय तह शहीद स्मृति गोल्डकपमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गर्‍यो।

गोल्डकप भएको ६ महिनापछि संघले गोल्डकपमा भएको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको हो। संघले सार्वजनिक गरेको खर्च विवरणमा सात लाख ३६ हजार रुपैयाँ प्याराफिटको भाडा,  मर्मत र जडानमा नै खर्च भएको उल्लेख छ।

त्यस्तैगरी, खेल मैदान र स्टेज बनाउन पाँच लाख २९ हजार सातसय रुपैयाँ खर्च भएको देखाएको छ। ८१ लाख ३७ हजार ५ सय ९२ रुपैयाँ गोल्डकपमा संकलन भएकोमा ६९ लाख ७७ हजार नौ सय २६ रुपैयाँ खर्च भई ११ लाख ५९ हजार सातसय ६६ रुपैयाँ बचत भएको संघले जनाएको छ।

संघले दिएको तथ्यांकअनुसार एकपटक एउटा गोल्डकप आयोजना गर्दा प्याराफिट र खेल मैदान बनाउन मात्रै १२ लाख ६५ हजार सात सय रुपैयाँ खर्च भएको छ।

मकवानपुरमा बर्सेनि यस्ता दर्जनौँ खेल तथा प्रतियोगिताहरू हुने गर्दछन्। हरेक वर्ष प्रत्येक खेल आयोजना हुँदा प्याराफिट बनाउनेदेखि खेल मैदान बनाउनका लागि लाखौँ रुपैयाँ खर्च हुने गरेको छ।

संघको अध्यक्ष टीका लामाको अनुसार जिल्लामा प्रत्येक वर्ष  जिल्ला लिग, मेयरकप-उपमेयर कप, प्रदेश लिग, शहीद स्मृति गोल्डकप, वडाअध्यक्ष कप तथा पालिकास्तरीय खेलहरू हुने गरेको छ।

कतिपय खेलमा अस्थायी प्याराफिट बनाउनै लाखौँ खर्च हुन्छ भने कति खेल प्याराफिटबिना खुल्ला चौरमा नै गरिन्छ। हेटौंडामा लोकप्रिय रहेको मेयरकप फुटबल प्रतियोगिता पनि खाली चौरमा आयोजना हुने गरेको छ।

हेटौंडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महत खेलप्रेमी जनप्रतिनिधि भए पनि उपमहानगरद्वारा आयोजना हुने मेयरकप हेर्ने दर्शकले अहिलेसम्म न त बसेर हेर्न पाएका छन् न त खेल्ने खेलाडीले राम्रो खेल मैदान पाएका छन्। बरु मेयरकप हुँदै आएको हुप्राचौर अहिले झार पलाएर जंगल जस्तै बनेको छ।

राष्ट्रिय खेलाडी उत्पादन भएको मकवानपुर जिल्ला खेलकुद गतिविधि धेरै हुने खेलप्रेमी भएको जिल्ला पनि हो। तर, यहाँ हालसम्म एउटा पनि खेलकुद गतिविधि संचालन गर्ने व्यवस्थित खेल मैदान छैन।

फुटबल तथा अन्य खेलकुदको गतिविधि सञ्‍चालन गर्दा आयोजकले विभिन्न स्थानको खाली चौरलाई खेल मैदानको रुपमा व्यवस्थापन गर्नुपर्ने बाध्यता छ।

यस्तोमा न खेल हेर्नेले व्यवस्थित रुपमा खेल हेर्न पाएका छन् न त खेल्नेका लागि राम्रो स्थान नै बन्न सकेको छ। विभिन्न प्रतियोगिता आयोजना गर्ने बहानामा बर्सेनि लाखौँ रुपैयाँ खाली चौरमा लगेर लगानी गर्नेहरुले मकवानपुरमा निर्माण हुन नसकेर बसेको रंगशालामा भने ध्यान दिन सकेका छैनन्।

फुटलबल तथा खेलको अन्य प्रतियोगिता हुँदा लाखौँ रुपैयाँ सहयोगमा खर्चिन सक्नेहरुले रंगशाला निर्माणमा भने सहयोग गर्न सकेका छैनन्। जसले रंगशाला निर्माण मकवानपुरको खेलकुदका लागि एउटा स्वर्णीम सपना जस्तो बनेको छ।

दुई रंगशाला वर्षौदेखि अलपत्र

 मकवानपुरको हेटौंडामा हाल दुईवटा रंगशाला निर्माणाधीन अवस्थामा छन्। हाल हेटौंडा–५ मा पिप्ले क्याम्पा रंगशाला र गौरीटार रंगशाला निर्माणाधीन अवस्थामा छन्।

गौरीटार रंगशाला १२ वर्षदेखि निर्माण हुन नसकेर अलपत्र परेको छ। संघीय सरकारअन्तर्गत राखेपले बनाउन सुरु गरेको गौरीटार रंगशालाले हालसम्म पनि पूर्णता पाउन सकेको छैन।

बन्द प्रशिक्षण पनि सञ्चालन गर्ने गरी राखेपले सुरु गरेको गौरीटार रंगशाला निर्माणमा न स्थानीय सरकारको चासो छ न त खेलकुदका सम्बन्धित सरोकारवालले नै ध्यान दिएका छन्।

उसो त बागमती प्रदेशको राजधानी हेटौंडामा १२ वर्षदेखि अलपत्र परेको रंगशाला निर्माणमा प्रदेश सरकारले पनि प्राथमिकता दिएको छैन।

प्रदेश सरकार गठन भएपछि रंगशाला निर्माणका लागि धेरथोर बजेट विनियोजन गर्दै आए पनि रंगशाला निर्माणले गति भने लिन सकेको छैन।

कुल बजेटलाई प्रत्येक वर्ष वृद्वि गर्दै लगेको प्रदेश सरकारले खेलकुदको बजेटलाई भने बर्सेनि घटाउँदै लगेको छ। रंगशाला निर्माणका लागि पनि आवश्यकताअनुसार निर्माणलाई गति दिनभन्दा पनि देखाउनको लागि मात्रै बजेट विनियोजन गरेको देखिन्छ।

१२ वर्षअघि शिलान्यास भएको गौरीटार रंगशालामा हालसम्म फुटबल ग्राउण्ड पनि राम्ररी बनेको छैन। जंगली झार र बुट्यानले रंगशालालाई वन कार्यालय जस्तो देखाएको छ।

केही वर्षअघि संघीय सरकारअन्तर्गत ८ करोडमा निर्माण भएको छात्रावास पनि अब प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको छ। प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले छात्रावासका लागि बनाइएको भवन खेलाडीहरू बस्नका लागि उपयुक्त नभएको बताए।

त्यस्तैगरी, हेटौंडा–५ क्याम्पा डाँडामा निर्माणाधीन रहेको पिप्ले क्याम्पा रंगशालाले पनि सहयोगी हातको बाटो हेरिरहेको छ। पिप्ले युवा क्लबले बनाउन सुरु गरेको रंगशाला निर्माण सहयोगी दाताको हात हेरेर बसेको छ।

निर्माण कार्य सुरु भएको अवधिदेखि हालसम्म पिप्ले क्याम्पा रंगशालाले केही गति लिएको भए पनि यसले पूर्णता पाउने कुरा भने अरूको सहयोगमा नै निर्भर रहेको छ।

क्लबका अध्यक्ष तथा रंगशाला निर्माणको मुख्य योजनाकार सुशील घिमिरेले रंगशाला निर्माणले पुर्णता पाउन अझै ५० लाख आवश्यक रहेको बताए।

उनले रंगशाला निर्माणमा हेटौंडा उपमहानगरपालिका र ५ नम्बर वडाबाट राम्रो सहयोग भएको भए पनि अझै ५० लाख अभाव रहेको सुनाए।

‘उपमहानगर र वडा कार्यालयले धेरै सहयोग गरेको छ। अन्य केही व्यक्तिहरुले पनि सहयोग गर्नुभएको छ तर यसलाई पूर्ण रूपमा तयार पार्न हामीले चन्दा नै उठाउनुपर्ने अवस्था छ ,’उनले भने।

घिमिरेले रंगशाला निर्माण हाल दोस्रो चरणमा रहेको भन्दै आर्थिक अभावले गर्दा पहिलो चरणपछि एक महिना निर्माण कार्य रोकिएको बताए।

बर्सेनि प्याराफिट बनाउन र मैदान मिलाउनै लाखौँ खर्चिनेहरुबाट रंगशाला निर्माणमा सहयोग नभएको उनको गुनासो छ। ‘प्रत्येक वर्ष फुटबल हुँदा अस्थायी प्याराफिट बनाउन र ग्राउण्ड मिलाउन मात्रै लाखौँ खर्च हुन्छ। त्यो खर्च रंगशालामा गर्न पाए त सयौँ वर्षको खर्च जोगिन्थ्यो नि’ उनले दुखेसो गरे।

उनको अनुसार हाल रंगशालामा ग्राउण्ड निर्माण कार्य सकिएर प्याराफिटको स्ल्याब ढलान कार्य हुँदैछ।

रंगशाला निर्माणले प्राथमिकता पाएन : फुटबल संघ

जिल्ला फुटबल संघको अध्यक्ष टीका लामाले मकवानपुरमा रंगशाला निर्माणले प्राथमिकता नपाएको बताए। उनले मकवानपुरमा खेलकुद गतिविधि धेरै हुने गरेको भए पनि व्यवस्थित खेल मैदान बनाउन भने कसैले ध्यान नदिएको बताए।

हरेक वर्ष आयोजना हुने खेलको लागि अस्थायी मैदान तथा प्याराफिट तयार गर्न लाग्ने खर्चलाई रंगशालामा लगानी गर्न सके मकवानपुरले व्यवस्थित खेल मैदान पाउने लामा बताउँछन्।

उनले फुटबल संघले आयोजना गर्ने स्थानीय तह शहीद स्मृति गोल्डकपमा मात्रै बर्सेनि १२-१३ लाख अस्थायी प्याराफिट र ग्राउण्ड बनाउन मात्रै लाग्ने जानकारी दिए।

यस्तै, अन्य प्रतियोगितामा पनि हुने लाखौँ खर्चलाई रंगशालामा खर्चिन सके अस्थायी प्याराफिट र खेल मैदानको खर्च अर्को वर्षबाट बचत गर्न सकिने उनको भनाइ छ।

‘प्रत्येक वर्ष लाखौँ खर्च अस्थायी मैदान बनाउन खर्चिनुभन्दा स्थायी रंगशाला निर्माण गर्न पाइयो भने अर्को वर्षबाट त्यो खर्च जोगिन्छ। त्यसलाई हामी खेलकुदको विकासमा खर्चिन सक्छौँ, खेलाडी उत्पादनमा खर्चिन सक्छौँ ,’लामाले भने।

उनले रंगशाला निर्माणमा प्रदेश सरकारले पनि आवश्यक सहयोग नगरेको बताए। लामाले एन्फाले भने रंगशाला निर्माणको लागि ३ लाख रुपैयाँ दिने निर्णय गरेको भन्दै संघले पनि कसरी कति सहयोग गर्ने भन्ने विषयमा छलफल गरिरहेको बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.