|

धनगढी : बझाङमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न खटाइएका प्रमुख मतदान अधिकृत गायव भएका छन्। जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख मतदान अधिकृत चेतराज भट्ट शुक्रबार राति १२ बजेछि पार्टीको सम्पर्कमा नरहेको बझाङ कांग्रेसका नेताहरूले बताएका छन्।

जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि दुई समूहले प्रतिस्पर्धा गरिरहेको स्रोतले बताएको छ। पूर्वमन्त्री सुरेश मल्ल, अर्जुनजंगबहादुर सिंह, पूर्व जिल्ला सभापति सत्यराज भण्डारी र संविधानसभा सदस्य चन्द्रा जोशीको पक्षबाट खडक बोहरा सभापतिका उमेदवार रहेका छन्।

अर्को समूहबाट रमेश भण्डारी सभापतिका दाबेदार रहेका छन्। भण्डारीलाई पूर्वराज्यमन्त्री नरेशबहादुर सिंह तथा जिल्ला सभापति पृथ्वी सिंहको समर्थन रहेको छ।

तर, चुनावी प्रतिस्पर्धामा आफूले समर्थन गरेको उमेदवारले हार्ने देखिएपछि नरेशबहादुर सिंह तथा पृथ्वी सिंह समर्थित नेता कार्यकर्ताले मतदान अधिकृतलाई जिल्ला छोड्न बाध्य पारेको अर्को पक्षको आरोप छ। तर, त्यो आरोपमा कुनै सत्यता नभएको, उल्टै मतदान अधिकृत भट्टले भौतिक आक्रमणको धम्की आएको भन्दै गुनासो गरेको नेता नरेशबहादुर सिंहले बताए।

प्रमुख मतदान अधिकृत भट्टलाई पृथ्वी सिंह तथा नरेशबहादुर सिंह पक्षबाट शुक्रबार तुरुन्त जिल्ला नछाडे हात खुट्टा भाँचेर सेती नदीमा बगाइदिने धम्की आएको कांग्रेसको अर्को पक्षले आरोप लगाएको छ। तर, आरोप निराधार भएको नेता नरेशबहादुर सिंहको दाबी छ।

यता, प्रमुख मतदान अधिकृत भट्टलाई भने पटक-पटक  सम्पर्क गर्दा पनि उनको मोबाइल स्विच अफ छ।

अधिवेशन अनिश्चित

जिल्ला अधिवेशनका लागि आएका प्रमुख मतदान अधिकृत नै सम्पर्कविहीन भएपछि बझाङमा जिल्ला अधिवेशन अनिश्चित भएको छ।

बझाङमा सुरेश मल्ल, सत्यराज भण्डारी, चन्द्रा जोशी रामचन्द्र पौडेल पक्षीय नेता हुन्। तर पौडेल पक्षका यी नेताले देउवा पक्षका नेता अर्जुनजंगबहादुर सिंहसँग एलायन्स बनाएका छन्। अर्को पक्षमा रहेका नेता नरेशबहादुर सिंह विमलेन्द्र निधिनिकट तथा पृथ्वी सिंह आरजू राणा देउवानिकट रहेको स्रोतले दाबी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.