पर्यटन व्यवसाय सेलायो

|

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीमा करोडौँको लगानीमा होटल खुल्ने क्रम बढ्दै गएको छ।

डेढ वर्षसम्म कोरोना भाइरसको महामारीले होटल व्यवसाय ठप्प नै रह्यो। अहिले होटल सञ्चालनमा आएका छन् तर पर्यटक नहुँदा व्यवसाय लयमा फर्किएको छैन। त्रिनगर–गौरीफन्टा नाका र गड्डाचौकी नाका भएर सुदूरपश्चिम भित्रिने भारतीय पर्यटकलाई निजी सवारीमा लगाइएको रोक कायमै रहेको छ। जसकाकारण पर्यटन र होटल व्यवसाय लयमा फर्कन थप समस्या भएको होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए। 

‘इन्डियाको नाकाहरू सहज भइसकेको अवस्थामा उताबाट आउने जति पनि पर्यटकले गाडी पारी नै राखेर आउनुपर्ने बाध्यता छ। यो हामी पर्यटन व्यवसायी र यस क्षेत्रका लागि दुर्भाग्यपूर्ण हो,’ उनले भने, ‘भारतबाट मान्छे आउन पाउने तर गाडी आउन नपाउने ? यो कतै पनि मिल्दैन।’  

विगतमा भारतीय नागरिक सुदूरपश्चिम घुम्नका लागि आफ्नो निजी सवारी ल्याएर आउने गरेका थिए। उनीहरू कैलालीको चिसापानी, गोदावरी, खानीडाडाँसहित डडेल्धुरा लगायतका स्थानमा पुग्ने गरेका थिए। तर, सवारी आवागमनमा लगाइएको रोकले भने भारतीय पर्यटकले सुदूरपश्चिम घुम्ने रुची देखाएका छैनन्।

कोरोना भाइरसको प्रभावपछि बन्द सीमा नाकामा आवागमन निर्वाध रुपमा भइरहे पनि भारतीय गाडीको प्रवेशमा भने लोक लगाइएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए। ‘त्यसले गर्दा होटल र पर्यटन क्षेत्रलाई प्रभाव पारेको छ,’ उनले भने, ‘यो रोकलाई खोल्नका लागि छिटो भन्दा छिटो पहल गर्नुपर्छ।’

त्रिनगर र गड्डाचौकी नाकाबाट भारतीय नागरिकको आवागमन भने निर्वाध रुपमा भइरहेको छ। उनीहरूसँग पीसीआर परीक्षणको रिपोर्टसमेत माग्ने गरिएको छैन। तर कोरोना भाइरसको जोखिम कायमै रहेकोले भारतीय सवारी भने ल्याउन नपाइने नियम बनाइएको छ।

संघीय सरकारले निर्देशन नआएका कारण भारतीय सवारी नेपाल प्रवेशमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। ‘निजी सवारीलाई नेपाल भित्रिन दिने भन्ने हामीलाई निर्देशन भएको छैन,’ उनले भने, ‘सोही कारण हामीले रोक लगाएका छौ।’ संघीय सरकारको मन्त्रिपरिषद्को निर्णयपछि मात्रै आवातजावत सहज हुने उनले बताए। 

व्यवसाय नचल्दा बैंकको ब्याज, होटलको भाडा, कर्मचारीको पारिश्रमिक, विद्युतलगायत नियमित खर्चको भार बढिरहेको गुनासो व्यवसायीको छ। पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक त बढेका छन् तर खर्च गर्ने भारतीय पर्यटक पुग्न सकेका छैनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.