|

इलाम : इलामका उत्पादन भएको अलैँचीका विरुवा देशभर फैलिँदै गएका छन्। पहाडी भेगको ओसिलो ठाउँमा फल्ने ‘कालो सुन’ उपनामले चिनिने अलैँचीको परिचय यतिबेला फेरिएको छ। इलामबाट उत्पादन भएको अलैँचीको विरूवा देशका ४० भन्दा बढी जिल्लामा पुगेको छ।

पछिल्लो समय तराई क्षेत्रमा पनि अलैँचीको व्यावसायिक खेती सुरु भएकाले यसको परिचय फराकिलो बन्दै गएको हो। झापाको बुद्धशान्ति गाउँपालिकाको भोटेटार, होक्से र जयपुरका किसानले व्यावसायिक अलैँची खेती गर्दै आएका छन्। उनीहरूले सुक्खा जमिनमा हुने ‘सलकपुरे’ जातको अलैँची लगाएका छन्।

राणाहरूले वि.सं. १९०० ताका अलैँचीको बजार व्यवस्थापन गर्न भारतको पटना र मिर्जापुरमा ‘अलैँची कोठी’ खोलेका थिए। त्यसबेला इलामबाट किसानले ल्याउने अलैँची धरानमा संकलन गरी भारत पठाइन्थ्यो। तर‚ पछि औलोका कारण भरियाहरू बाटैमा मर्न थालेकाले धरान ल्याउन नसकेको र गाउँमा बिक्री नभएको हुनाले अलैँची बगैँचा मासिन थालेका थिए। वि.सं. १९९० को दशकमा मारवाडी व्यापारीहरूले इलाममै संकलन केन्द्र खोलेपछि पुनः खेती हुन थाल्यो।

२०२० सालतिर मेची विकास कोषले किसानलाई अलैँची खेती गर्न ऋण दिन थाल्यो। आर्थिक वर्ष २०३२/३३ मा ‘कृषि वर्ष’ मनाउँदा सरकारले चार लाख बेर्ना वितरण गरेको थियो। २०३३ सालमा इलामको फिक्कलमा अलैँची उत्पादन एवं प्रशोधनबारे अनुसन्धान एवं विकास गर्न सरकारी तवरबाट अलैँची विकास केन्द्र स्थापना भयो। त्यस यता इलाममा अलैँचीको विस्तारले तीव्रता पाएको छ।

इलामबाट बिक्री हुँदै अलैँचीको बेर्ना

अलैँची विकास केन्द्रले यस वर्ष उत्पादन गरेको ८० हजार विरूवामध्ये धेरैजसो जिल्लाबाहिरका किसानले खरिद गरेका छन्। केन्द्रले उत्पादन गरेको अलैँचीको विरूवामध्ये ४० हजार विरुवा लमजुङ, ३० हजार विरुवा संखुवासभा निकासी भएको हो। १० हजार विरूवा भने इलामकै किसानले रोपेका छन्।

अलैँची विकास केन्द्रले रामसाइ, गोलसाइ, डम्बरसाइ, भार्लाङ र जिर्मले जातको विरूवा उत्पादन गर्दै आएको छ। यस वर्ष केन्द्रले लक्ष्यभन्दा बढी प्रगती हासिल गरेको जनाएको छ। ५० हजार विरूवा उत्पादन गर्ने लक्ष्य राखेकोमा ८० हजार विरुवा उत्पादन गर्न सफल भएको केन्द्रका प्राविधिक सहायक दिलबहादुर श्रेष्ठले जानकारी दिए। अलैँचीको विरूवा बिक्रीबाट केन्द्रले चार लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

माग तीव्र भएपछि इलाममा निजी क्षेत्रले पनि अलैँचीको विरुवा उत्पादन गर्ने गरेका थिए। तर, विरुवाको माग कम भएपछि निजी क्षेत्रले भने अलैँचीको नर्सरी राख्न छाडेका छन्। अलैँचीमा देखिएको रोगले बगानै सखाप हुँदै आएको भए पनि अलैँची खेतीको विस्तार रोकिएको छैन। हाल मुलुकको ५४ जिल्लाको १७ हजार हेक्टरमा अलैँचीको खेती भइरहेको छ। अलैँचीमा देखिने छिर्के, फुर्के, गानो कुहिने, डढुवाजस्ता रोगले किसान हैरान भएका छन्। जमिनको उचाईअनुसार त्यस क्षेत्रमा सिफारिस गरिएको विरुवा रोप्ने हो भने रोगको संक्रमण कम हुने प्राविधिक बताउँछन्।

सुक्खा र ताता क्षेत्रमा जिर्मले जातको अलैँची फस्टाउने गरेको छ। लेकाली क्षेत्रमा भने रामसाई, गोलसाई जातको विरुवा फष्टाउने गरेको छ। नेपालका ४२ भन्दा बढी जिल्लामा अलैँची खेती हुने गरेको भए पनि प्रदेश १ का इलाम, धनकुटा, तेह्थुम, ताप्लेजुङ, पाँचथर, संखुवासभा, खोटाङ जिल्लामा धेरै हुने गरेको छ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार नेपालमा १८ हजार २७३ हेक्टरमा अलैँची खेती हुन्छ। अलैँचीको खेती समुन्द्र सतहबाट ७०० देखि २१०० मिटर सम्म हुने गरेको छ। तर‚ ६०० मिटरभन्दा तल र २३०० मिटर माथि समेत भएको पाइन्छ। अलैँची खेतीका लागि उपयुक्त तापक्रम १० देखस २५ डिग्री सेन्टिग्रेट हुने पहाडी क्षेत्र हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.