|

हेटौंडा :पूर्वी मकवानपुरको बकैया गाउँपालिका–२ तीनभँगालेमा युरेनियमको खानी फेला परेको वर्षौं भयो। रेडियो विकीरणयुक्त युरेनियम आणविक ऊर्जा उत्पादन र आणविक शस्त्र निर्माणमा प्रयोग गरिन्छ।

युरेनियमको खानी पत्ता लागेपछि सुनसान रहने गाउँमा आवतजावत गर्नेको संख्या बढ्न थाल्यो। प्रायः दैनिकजसो गाउँमा नयाँ नयाँ मानिसहरु पुग्ने र खानीको बारेमा सोधपुछ गर्ने गर्थे।

गाउँलेसँग कुराकानी गरेपश्चात खानीनजिक पुगेर कोहीले माटोसमेत बोकेर जाने गर्थे। पछिल्ला ६ महिनायता भने गाउँमा नयाँ मान्छे कोही पुगेका छैनन्। तर, युरेनियमको खानी भएको ठाउँका गाउँले भने त्रसित छन्।

त्यहाँका बासिन्दा सामान्य बिरामी हुँदा पनि खानीकै कारण समस्या भएको शंका गर्ने गर्छन्। जिल्लाका अन्य ठाउँका भन्दा तीनभँगालेको बासिन्दा धेरै बिरामी हुने गरेकोले युरेनियमका कारण स्वास्थ्यमा नकारात्मक असर परेको हुन सक्ने उनीहरूको बुझाई छ।

तीनभँगालेका जीतबहादुर रुम्बा गाउँमा युरेनियमको खानी भएकै कारण अधिकांश गाउँलेमा क्यान्सर, सुस्त मनस्थिति र शरीरमा खटिराजन्य समस्या धेरै हुने गरेको आशंका गर्छन्।

खानीनजिकै रहेको मुहानबाट निस्कने पानी गाउँका सबै बासिन्दाले खाने गरेकोले युरेनियमकै कारण धेरै जनामा स्वास्थ्य समस्या देखिएको उनको ठम्याइ छ।

‘तीनभँगालेमा हामी सय/डेढ सय घरपरिवार छौं। अधिकांशका घरमा कोही न कोही बिरामी भएकै हुन्छ, खानेपानी पनि कहिले सफा त कहिले पहेँलो आउँछ। पहिला पनि खानीकै कारण धेरै जनामा क्यान्सर भएको हामीले सुनेका थियौं। अहिले पनि हामीलाई त्यसैले गर्दा बिरामी भएको महसुस हुन्छ,’ उनले भने।

रुम्बाले छिमेकी वडामा भन्दा आफ्नो वडामा धेरै जना बिरामी हुने, विद्यार्थी पढाइमा कमजोर हुने, सुस्त मनस्थिति देखिने र सामान्य बिरामी हुँदा पनि हत्तपत्त ठिक नहुने गरेको भन्दै सबैमा खानीको त्रास रहेको गुनासो गरे।

उनले भने, ‘हामीले खानेपानी मात्रै सफा आइदिएको भएपनि त्यस्तो महसुस हुँदैनथ्यो तर पानी पनि प्रायः पहेँलो नै आउँछ। त्यसैले हामीलाई धेरै समय बाँचिएला भन्ने पनि लाग्दैन।’ रुम्बाले खानी उत्खनन् गरेर स्थानीयलाई त्रासमुक्त गर्न सरकारसँग आग्रह गरे।

सोही ठाउँका दीपक स्याङतानले गाउँको पानीले नुहाउनै डर लाग्ने गरेको बताए। ‘खानीकै छेउमा रहेको मुहानबाट पानी आउँछ। त्यो पानीले नुहाउने बित्तिकै ज्यानभरि खटिरा आउने र चिलाउन थाल्छ। मुहान पनि अन्यत्र सार्न सकिएन, खानीको छेउमा रहेको मुहानबाट आउने पानी प्रयोग गर्दा हामी सधैं त्रासमा नै भयौं,’ उनले दुखेसो गरे।

युरेनियमको खानीकै कारण समस्या भएको ठोकुवा गर्न नसके पनि खानीनजिकै भएकाले डर लाग्ने गरेको उनी बताउँछन्। उनले निर्वाचनका बेला तीनभँगालेको बासिन्दा धेरै बिरामी हुने गरेको भन्दै खानीभन्दा पर गाउँ स्थानान्तरण गर्ने कुरा भएपनि हालसम्म कार्यान्वयन नभएको बताए।

खानी आसपासका बोटबिरुवा मर्ने र पलाएका रुख पनि कमजोर हुने गरेको उनको भनाई छ। वर्षौंदेखि तीनभँगालेको बासिन्दा खानीको त्रासमा रहँदा सरकारले त्यसको व्यवस्थापनमा ध्यान नदिएको गुनासो स्याङतानले गरे।

यसअघि २०६५ सालतिर तत्कालीन धियाँल गाउँपालिकामा रहेको तीनभंगालेको अधिकांश बासिन्दामा युरेनियमकै कारण क्यान्सर र अपांगता देखिएको कतिपयले बताएका छन्।

मकवानपुरका अग्रज सञ्चारकर्मी प्रताप विष्टका अनुसार त्यतिबेला तीनभँगालेमा पहेलो रङ मिसिएको पानी खाँदा धेरैमा क्यान्सरजस्तो घातक रोग संक्रमण भएको थियो।

‘युरेनियम मिसिएको पहेँलो पानी खाँदा त्यहाँका धेरै बासिन्दालाई क्यान्सर र अपांगता भएको समाचार हामीले पनि लेखेका थियौं तर यससम्बन्धी गहन अध्ययन भने भएको छैन,’ उनले भने। उनका अनुसार त्यतिबेला चुरे क्षेत्रमा रहेको र धेरैलाई घातक रोग पनि देखिएको हुँदा बस्ती नै स्थानान्तरण गरिएको थियो।

तर अहिले युरेनियम पहिचान भएको ठाउँमा करिब १०० देखि १५० घरधुरी बसोबास गरिरहेको बकैया गाउँपालिका–२ का वडा अध्यक्ष वीरमान बल बताउँछन्। उनको अनुसार सो स्थानका बासिन्दा अझै पनि युरेनियम मिसिएर आएको पानी नै पिउन बाध्य छन् ।

चुरे क्षेत्र भएकोले पानीको अर्को विकल्प पनि नभएको उनको भनाई छ। ‘युरेनियम पहिचान भएकै ठाउँमा पानीको मुहान छ। त्यहीँबाट आएको पानीले नै तीनभँगालेको बासिन्दाको जीवन चल्छ। पानी निकै नै दुषित आउने गरेको छ। चुरे क्षेत्र भएकोले हामीले पानीको अर्को विकल्प पनि दिन सकेको छैनौं,’ उनले भने।

वडाध्यक्ष बलका अनुसार अन्य स्थानको तुलनामा सो स्थानका बासिन्दाका स्वास्थ्यमा धेरै समस्या देखिने गरेको छ। सामान्य रोग लागे पनि ठिक नहुने, शारीरिक अपांगता हुने र ज्यान सुक्दै जाने जस्तो समस्या देखिने गरेको उनको भनाई छ।

‘एक सय घरपरिवारको ज्यान जोखिममा नै छ। हामीले बस्ती नै स्थानान्तरण गर्नुपर्छ भनेको हो तर बस्ती स्थानान्तरणको अधिकार स्थानीय सरकारसँग छैन,’ उनले भने। वडा अध्यक्ष बलले खानीले गर्दा नै समस्या भएको हो वा होइन एकिन नभएको भन्दै यसबारे अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराए।

यता खानी तथा भूगर्भ विभागका वरिष्ठ डिभिजन भूगर्भविद् धर्मराज खड्का भने युरेनियम खानीकै कारणले स्वास्थ्यमा समस्या नपरेको बताउँछन्। युरेनियम खानीले स्वास्थ्यमा पार्ने समस्याबारे हालसम्म अध्ययन नभए तापनि स्थानीयले भनेजस्तो समस्या नहुने उनको भनाई छ।

थाहाखबरसँग कुरा गर्दै उनले भने, ‘हामीले पनि धेरै पहिलाबाट खानीले गर्दा स्थानीय बिरामी भए भन्ने कुरा सुन्दै आएको हो। तर यसबारे गहन अध्ययन हालसम्म भएको छैन। अध्ययन नभए पनि खानीकै कारणले यस्तो समस्या भएको हो जस्तो भने मलाई लाग्दैन।’

रेडियोएक्टिभ तत्व भएकाले कहीँबाट केही गरि युरेनियम खायो भने समस्या हुनसक्ने उनको भनाई छ। तर स्थानीयले खानेगरी तीनभँगालेमा जोखिम नभएकोले युरेनियमकै कारण स्वास्थ्यमा समस्या भएको हुन नसक्ने उनले बताए।

उनले सो स्थानमा अध्ययन अनुसन्धान गर्ने भन्दै धेरै व्यक्ति जाने गरेको जानकारी आएको बताए। तर विभिन्न निकायको अनुसन्धानकर्ता पुगेको हुनसक्ने भएकाले यसको नियन्त्रणमा विभागले केही नगरेको बताए।

खड्काले युरेनियम उत्खनन् आफैमा पनि जोखिम भएको र यसको उत्खनन् बारे अनुसन्धान नभएको बताए। आवश्यक अनुसन्धान नभएकोले यसको उत्खनन् सम्भव छ कि छैन भन्ने जानकारी पनि आफूसँग नभएको उनको भनाई छ।

खड्काले युरेनियम भएको विकसित देशलाई हेर्दा पनि यसको उत्खनन् र सदुपयोग गर्न सके नेपालको विकासमा टेवा पुग्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.