छोरीहरूको सपनाको शक्ति संसारले थाहा पाउनु पर्‍यो नि

|

काठमाडौँ : 'डुमेरो' पुस्तकमार्फत लेखकको छवि बनाएकी सरला गौतम लामो समय पत्रकारिता र अखबारीय लेखनमा रुचाइएको नाम हो। पत्रकारिताबाट लेखकीय जीवन आरम्भ गरेकी गौतम सामाजिक सरोकारका विषयमा आलोचनात्मक टिप्पणी गर्न माहिर मानिन्छिन्। अखबारका पानामा सामाजिक होस् वा राजनीतिक मुद्दा‚ सबैमा निर्धक्कसँग अभिव्यक्त दिने गर्छिन्।

तराईका समथर फाँटदेखि हिमालमा काखसम्म, दूरदराजका गाउँमा हिँड्नु, डुल्नु मानिसका कथा देख्नु,सुन्नु, लेख्नु अनि फिरन्ते जीवन बाँच्नु उनको शोख  हो। यसैबीच कोरोनाले उनको फिरन्ते जीवनमा ब्रेक लाग्यो। गौतमसँग उनको दैनिकी, लेखन र यात्राबारे थाहाखबरकर्मी राजु पौडेलले कुराकानी गरेका छन्।

सुझाव नै सुझाव दिने विद्वान् भएको समाजमा हुर्केकाले मलाई जिज्ञासा मेट्न मन लागिहाल्यो। सामाजिक सञ्जालमा अझ विशेष गरी टिकटकमा रमाइलो गरिरहनुहुन्छ। लेखक, पत्रकार तथा कठोर टिप्पणीकार जस्तो मान्छे सामाजिक सञ्जालमा सिरियस हुनुपर्दैन? भनेर कसैबाट सुझाव आइसक्यो कि छैन?

लेखक भनेको समाजमा समानताको वकालत गर्ने पात्र हो। अक्षरको माध्यमबाट आफूलाई व्यक्त गर्दैमा म अरू मानिसभन्दा विशिष्ट होइन। कतारमा काम गरेर थाकेका वेला टिकटक बनाएर रमाउने एउटा युवाभन्दा म कसरी फरक भएँ ? घरको सबै दिक्दारी थामेर टिकटकमा रमाउने गृहणीभन्दा म कसरी खास भएँ? कोही मानिस खास हुन् र कोही मानिस आम हुन् भनेर ठान्नु नै गलत हो।

उनीहरूको अभिव्यक्ति र तौरतरिका फरक हुनुपर्छ भन्ने मान्यता नै विभेदकारी हो। उसो भए कलाकारिता गरेर परिवारको रेखदेख गर्ने मानिस के हामीभन्दा कम मानिस हुन् त? लेखकहरूमा देखिने विशिष्टताको ढस्सा देखेर नै दिक्दार लाग्छ मलाई त। फूल मुस्कुराइरहन्छ, मयूर नाचिरहन्छ। फलाम ढसमस्स भएर गह्रुँगो भएर बसिरहन्छ। फूल र मयूरको दर्शन फलामको भन्दा कम ओजनदार छ र? यस्ता पूर्वाग्रही मान्यताबाट अब मुक्ति चाहिन्छ। जिन्दगी रमाइलो गरी बाँचेर जाने हो। मलाई जिन्दगी बाँच्न मन पर्छ, लेखकवाला प्रोफाइल बाँच्न मन पर्दैन।​

डोल्पामा थिन्लेसँग, २०७२

कोरोनाले सबैको जीवन प्रभावित भएको छ। वर्ष अगाडिसम्म तपाईंलाई खोज्दा कुनै दूरदराजमा घुमेको अवस्थामा भेटिन्थ्यो। अहिले आफ्नै घर सारा संसार भइदियो। यात्रा जिन्दगीमा रमाउने फिरन्ते लेखक (माफ गर्नु होला यही उपमा सुहाउँदो लागेर मात्र) को दैनिकीमा कोरोनाले कस्तो प्रभाव पार्‍यो?

फिरन्ते भन्नु, फकिर भन्नु मलाई रमाइलो लाग्छ। म अर्ध जोगी पाराकी छु। परपर डुल्दा परकै कुराहरू देखें। कोरानाकालले मलाई आफ्नो नजिकको समाज र टोल बुझ्न सघायो। संसारमा आज हामी नजिकका मानिसभन्दा परपरकै मानिसहरूसँग जोडिएका हुन्छौं। यसो हुँदा समाज र समुदायको तागत पनि हराउँदै गएको छ। यसको मिठास र सौन्दर्य गुम्दै छ। लकडाउनका वेला आफू वरिपरिका मानिसहरूसँग आत्मीयता बढ्यो। आफ्नो भन्नु वरिपरिकै मानिसहरू थियौं। स-साना किराना पसले र टोलका अरू मानिसहरूको जीवन नजिकबाट नियाल्ने मौका मिल्यो।

कतिले आफ्ना कथा पनि सुनाए। टोलमा विचरण गरी हिँड्ने खैरे कुकुरहरूको टोली पनि आफन्त जस्ता लागे। अकबरे खुर्सानीको बिरूवा बनाएर मैले टोललाई नै बाँडे। कसको छतमा के तरकारी फल्यो, के फूल फुल्यो, टोलमा जम्मा भएर कुरा हुन्थ्यो। टोलका बहिनीहरूले तलबाट डुमेरो दिदी भन्दै बोलाए। कसैले मेरो बगैंचाको तारिफ गरे। किराना पसले दिदीहरूलाई परेको अप्ठेरोमा म पनि उभिएँ। मेरोमा ग्यास सकिँदा उनीहरू ग्यास लिएर ढोकैमा आए। यो सबै कुरामा म खुबै रमाएँ। म यात्रामा हुँदा त्यतै रमाउँछु, नहुँदा यतै रमाउँछु। बरन्डाका बिरूवा हेरेर नै पूरै दिन काटिदिन सक्छु। छतमा बसेर जून  र आकाश हेरेर अर्को चार घन्टा ढुक्कै बिताइदिन सक्छु।

लकडाउनको एकान्तवासले आफूतिर फर्किने अवसर प्राप्त भयो। हिम्मत जुट्ने भ्रम टुट्ने सिलसिला कस्तो रह्यो?

आफूलाई नियाल्ने मौका मिल्यो। विपश्यनामा बसेर आफूलाई हेर्दा हुने अनित्यबोधको अनुभूतिभन्दा पनि गहिरो अनुभूति भयो। भेटौंला नि भनेर फोन राखेका मानिसहरूको मृत्युको खबर सुनियो। पहिलो लकडाउन त टोलको रमाइलो हेरेर बित्यो। दोस्रो लहरमा भने अनेकौँ अप्रत्यासित मृत्युले हल्लाएर गए। मैले आफ्नो काम गर्दा सधैँ रमाएरै गर्थे। कुनै प्रतिस्पर्धा वा प्राप्ति सोच्दिनथें। कोभिडले यो तरिका अझ बढाइदियो। पहिल्यैदेखि बोटबिरूवाको शोखिन थिएँ। जैले पनि जीवनलाई बिरूवाहरूकै वरिपरि राखेर सजिलो गरी बिताउने कुरा सोच्दथेँ। कोभिडले त यो सोचमा लालमोहर लाएर गयो। एकछिनमा जीवन छ, सबथोक छ। एकैछिनमा जीवन छैन, केही छैन। योभन्दा बढी के बोध गर्नु। कैले मन सोचेभन्दा बलियो कहिले सोचेभन्दा कमजोर भइरह्यो।

मानवीय संवेदनासँग प्रशस्त साक्षात्कार गरें। जीवनमा नभए पनि हुने सम्बन्ध र वस्तुहरू थाहा दियो। नभई नहुनेको बारेमा पनि थाहा दियो। जीवन साँच्नु होइन‚ बाँच्नु नै हो। निकै सरल निकै सहज जीवनले नसोचेको खुशी दिने रहेछ। अब बाँकी जीवन कसरी बाँच्दै जाने भन्ने दर्शन अझै प्रष्ट भएर गएको छ।

पत्रकार, कठोर आलोचक त्यसपछि लेखक। एक व्यक्ति अनेक पहिचान। आफ्ना पहिचानमा टिप्पणी गर्दा आफूलाई कहाँनेर भेट्टाउनुहुन्छ?

कठोर नै त होइन कि.. हाहा। घरको बैठकमा र सार्वजनिक जीवनमा मेरो स्वभाव एकै छ। जे लाग्छ त्योभन्दा फरक व्यक्त गरें भनें मैले आफ्नो आत्मालाई नै बेइमान गरेँ कि जस्तो लाग्छ। आत्मालाई नै ठगेर कसको नजरमा जाती हुनु त। यसैले मलाई जे उचित लाग्यो त्यही व्यक्त गर्न मन लाग्छ। हाम्रो समाजको स्वभाव भनेको लागेको कुरा मनमा लुकाउने, मिलाएर अर्कै भनिदिने छ। यसैले थोरै कडक देखिन्छु म। पत्रकारिता, समालोचना वा लेखन सबै कुरा अभिव्यक्तिकै माध्यम हुन्। जुन वेला जे गरिरहेको हुन्छु त्यही जस्तो लाग्छ। मानिसहरूका कुरा सुन्न र पात्र अध्ययन गर्न मन पराउँछु। रिपोर्टिङ गर्न खुब मन पर्छ। फेरि त्यो कामलाई बोध गरी लेख्न मन पर्छ। पत्रकारिता र लेखनको ककटेल हुँ जस्तो लाग्छ। 

ताप्लेजुङदेखि डोल्पासम्म, मधेसदेखि हिमालसम्म पुग्नुभएको छ।  कथा देख्नु लेख्नुभएको छ। हिँडाइका लागि प्रेरणा दिने स्रोतहरू के हुन्?

पत्रकारितामा लाग्नुअघि मलाई नयाँ ठाउँ हेर्न र अपरिचित मानिसका कुरा सुन्न मन पर्थ्यो। प्लस टु को अध्ययन सकेपछि नै म लगत्तै पत्रकारितामा आएँ। त्यसपछि त पत्रकारिता नै घुम्ने एउटा बहाना भइहाल्यो। पत्रकारिताका सिलसिलामा घुमेर लेख्न थालेपछि त हरेक पटक नयाँ ब्रह्माण्डको ज्ञान स्वाद र ज्ञान बटुले जस्तो भयो।

पत्रिकामा पढिने प्रायोजित केही विद्वान्‌ र केही थान पुस्तक नै ज्ञानका आधार हुन् भन्ने भ्रमबाट म पूरै मुक्त हुँदै गएँ। हरेक ठाउँ र हरेक कान्लाले आफ्नै ज्ञान र अनुभूति बोकेर बसेको हुने रहेछ। स्कुल कलेज नगएका,अक्षर पनि नचिन्ने मानिसहरूसँग कति कुरा हुने रहेछन्। खास विश्वविद्यालय त समाज पो रहेछ। घुमाइले मेरो पत्रकारिता र लेखन दुवैलाई भरोसा दियो। सञ्चारमाध्यममा नभेटिने मानिसहरूले ज्ञान र जानकारीका ढोका खोलिदिए। हरेक पटकको रोमाञ्चक अनुभूति अर्को पटकका लागि प्रेरणा बन्दै गयो। यात्राकै कारण मैले एउटा जुनीमा अनेक जीवन बाँच्न पाएँ जस्तो लाग्छ। सानो र सुन्दर देश, सहयोगी मानिसहरू पनि प्रेरक हुन्। पर दूरबीनबाट हेरिने हिमाल र नजिकै गएर शिर उठाएर हेरिने हिमालका दृश्य फरक हुन्छन्। समाज र मानिसहरूका अनुभूति पनि त्यस्तै हुन्। नजिकै गएर आँखामा आँखा जुधाएर, हेर्दा त्यसको गहिराइ विशालता अर्कै तहको हुन्छ। यिनै हुन् मेरो प्रेरणा। 

यहाँनेर भन्नैपर्ने कुराचाहिँ मानिसहरूका कथा, जसले मलाई चुम्बकले जस्तो गरी तान्छन्। हिमाल, पहाड तराई जता डुल्दा पनि जुन आत्मीय भाव मानिसले देखाउँछन्, त्यो त सम्झेरै लोभिन्छु। चियापसलमा होस्,सार्वजनिक भेला वा चुलोचौको कहीँ पनि मानिसले आफ्ना कथा भन्छन्। विश्वास र माया आँखामा राखेर मन खोल्छन्। अरू नै कथा छ भने म आफैं पिलपिल गर्छु, अन्यायका दृश्यमा जंगिएर बस्छु। रमाइलो छ भने कथा भन्ने मान्छेसँगै रमाएकी हुन्छु। उनीहरूले कथा सुनाउँदै जाँदा कल्पनाको जादु मेरो दिमागमा चल्छ। यही कथाको मोहक जादु होला के मलाई डुलाइरहने। धेरै डुलेपछि त देशैभरिका मान्छे आफन्त जस्ता। अर्कोपटक भेटेर बदलिएको कथा सुन्दा त ओहो। यो सानो देशमा धेरै कथा छन्। कथाहरूमा जादु छ।

सामाजिक,  सांस्कृतिक, भौगोलिक तथा व्यक्तिगत विषयवस्तुमा केन्द्रित भएर लेखिएका धेरै कथा, उपन्यास तथा लेख बजारमा प्रशस्त भेटिन्छन्। ती विषयवस्तुमाथिको अल्पज्ञान लहडका कारण दुर्घटनामा परेका पनि छन्। यसकारण पनि तपाईंको घुमफिरले व्यापकता पाएको हो?

अक्षर जानेकै भरमा उपरखुट्टी लाएर समाजको विश्लेषण गरी बस्नु त जोकर्‍याइँ जस्तो लाग्छ। साहित्य र लेखन पनि लेखिदिए जस्तो। कुनै समुदायका लागि कृपा गरेजस्तो। गुगल सर्च गरेर साहित्य लेख्ने पनि फेशन आएछ। काठमाडौं केन्द्रित केही पण्डितले भिन्न ठाउँमा मनोनीत गरिदिऊन् भन्ने लोभ पनि होला। लेख प्रकाशित भएपछि पाठकसँग होइन विभिन्न ठाउँ, विभिन्न मठाधीशको दैलो चहार्दै हिँडेको देखिन्छ। विरक्त लाग्छ मलाई।

पाइतालाले समाज ननापी लेख्ने त म हिम्मत पनि गर्दिनँ। बुद्धि मात्र छाँटेर पत्रिकामा फोटो टाँसेर बस्नु पर्‍यो भने बरु लेख्दिनँ। घुम्नु घुम्नु होइन। यो साधना हो। घुम्नु परपर पुग्नु मात्र होइन। टोलको कथा लेखे टोलमै घुम्ने हो। पर नजाँदा म टोलकै मान्छेका कथा सुन्छु। कुकुरको कथा लेखे कुकुरसँगै बरालिने हो। वैदेशिक रोजगारीमा गएर बहादुरी देखाएर परिवार पाल्नेदेखि घरमै बसेर ब्रह्माण्ड धान्ने पात्रहरू टोलमै छन्। स्वैर कल्पनाको आफ्नै स्वाद होला। मलाई चाहिँ मानिसहरूकै कथा मन पर्छ।

कर्णालीको किनारमा, २०७५

लेखक भएर विभिन्न पात्रसँग साक्षात्कार गर्नु उनीहरूको जीवन उतार्न पक्कै अप्ठ्यारो छ। तपाईंका हकमा चाहिँ कस्तो अनुभव ?

योभन्दा रोमाञ्चक अरू केही लाग्दैन। पहाड चढेजस्तो, चुनौती पनि छ। हरेक खुट्किला चढेपछि दृश्यको अर्कै आनन्द पनि छ।

अब पत्रकारको पहिचानलाई पनि थोरै जोडौं , राजधानी (मिडिया) बाट दूरदराजका कथालाई हेरिने दृष्टिकोण कस्तो ?

लेखिदिए जस्तो भनिदिए जस्तो, कृपा गरिदिए जस्तो। रैथाने बीउ बिजन जोगाउन कर्णाली बीज ब्यांक खोलिसके। माटोको जीवन र रासायनिक मलका सम्बन्धबारे कर्णालीका किसानलाई विश्वका विद्वान्‌का भन्दा बढी ज्ञान छ। पत्रिकाका सम्पादकहरू रासायनिक मलको गुन गाएर बस्छन्। छाउपडी र भोकमरीको समाचार बेच्नुपरे जिल्लाका रिपोर्टर कजाउँछन्। ज्ञान चाहिए उही काठमाडौंमा पुस्तक पढेर बस्ने ‘उपरखुट्टी विद्वान्’ खोज्छन्। दूरदराजका कथा सिंगो हात्ती जस्ता छन्। यता कहिले कानको व्याख्या हुन्छ, कहिले पुच्छरको। समग्र दृष्टिकोणको अभाव नेपाली सञ्चारमाध्यमको समस्या हो। 

ती कथालाई नेपाली मिडियाले दिएको स्थानबाट तपाईं सन्तुष्ट हुनुहुन्छ?

कथा त पहिलेका भन्दा व्यापक छन्। काठमाडौं बाहिरका पनि आउँछन्। सीमान्तकृत समुदायका पनि आउँछन्। यद्यपि दृष्टिकोणमा व्यापकता र समग्रता भने छैन। मिडियाको फर्म्याटिङ जरुरी छ। एकै ढर्रामा वर्षौ चलेका सञ्चारप्रमुखहरूले नयाँ कुरा पो के गरून्? ठूला ठूला पार्टीमा जान्छन्, ठूलै मान्छेका कुरा सुन्छन्। न समाज डुल्छन् न पात्र बुझ्छन्। न संसारमा कस्तो बहस भइरहेछ र हाम्रो जस्तो मुलुकले कस्तो बहसलाई प्राथमिकता दिने भनेर घोरिन्छन्। नाम छ, दाम छ‚ चलेकै छ।

औपचारिक लेखकका रूपमा (डुमेरो) लिएर आउनु भयो। तपाईं मिडियामा लेखिरहने मान्छे पुस्तकका रूपमा ल्याउन किन आवश्यक पर्‍यो?

सञ्चारमाध्यममा लेखिरहँदा पनि आनन्द छ। अनुभूतिको व्यापकता र गम्भीरता पेश गर्न त पुस्तकले नै सघाउँछ नि। अखबारी लेखनले छोडेर जाने अपूर्णताको तलतल मेट्न पुस्तक लेखें।

पाठकका प्रतिक्रिया पनि लगभग प्राप्त भइसकेका छन्। ती प्रतिक्रिया कस्ता रहे?

तपाईंसँग अन्तर्वार्तामा बसिरहँदा पनि इनबक्समा प्रतिक्रिया आइरहेका छन्‚ आजको मितिसम्म प्रतिक्रिया रोकिएको छैन। उत्साही, समालोचना र प्रेरित गर्ने सबै खालका प्रतिक्रिया छन्। पहिलो पुस्तकमा यसरी मानिसहरूले स्वागत गर्दा म खुशी छु। भविष्यमा लेखनले शुभचिन्तकलाई अझै खुशी बनाउन सकूँ।

सानो सहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा पहिचान खोज्दाको कथानकलाई तपाईंले उपन्यासको विषयवस्तु बनाउनु भयो। यो विषय नै छान्नुको खास उद्देश्य के थियो?

छोरी मान्छेसँग दुःखका मात्र कथा हुन्छन्। किनकि सपना देख्न र सपनाको पछि लाग्न बन्देज गरिएको समय बाँचेका हौं हामीले। विगत दुई दशकयता छोरीहरू सपनाको बिगुल फुकेर साँध भत्काउन थाले‚ सीमा नाघ्न थाले। छोरीहरूको सपनाको तागत संसारले थाहा पाउनु पर्‍यो नि। उसको पहिचान उसकै पैतालाले नापेर बनाउन सक्छे, यही बताउन यो कथा रोजें। 

कुनै अन्तर्वार्तामा उपन्यासका दुई पात्र सोनम सुप्रियामा आफूलाई पनि जोडेकी छु भन्नुभएको थियो पक्कै पात्रले लेखकबाट हस्तक्षेप व्यहोर्‍यो। पात्रलाई अन्याय भएन ?

हस्तक्षेप त भयो। तर हस्तक्षेप नगरी पात्रलाई आफूभन्दा पर राखेका वेला ऊ निरीह जस्तो लाग्यो। धिपधिप बलेजस्तै, पूरै नखुलेजस्तो। जब हस्तक्षेप सुरु गरें तब पात्र जागेर आए जस्तो लाग्यो। कथाको बाटोमा जाम खुल्यो। उसले भने जस्तो लाग्यो, 'बल्ल मलाई न्याय गरिस्। यो हो नि पारा।'

लामो हाहा….

बनवासा: नेपाल-भारत सीमा, २०७३

पहिचान भएपछि पुस्तक लिएर आउनुभयो। पहिचान बनाइसकेपछि पुस्तक प्रकाशन गर्न सहज असहज केके भए वा हुने रहेछ?

मेरो सवालमा सहज नै भयो। आफ्नै लेखनले कमाएका शुभचिन्तकहरूको बेग्लै संसार थियो। लेखनका कुनै मठाधीशको कृपाले चिनिनु परेन। जे लाग्यो‚ जस्तो लाग्यो‚ शुभचिन्तकहरूले सिधै लेख्नुभयो। सिधा सम्पर्कमा बस्नु भयो। दशकदेखि नछुटाई पढ्ने शुभचिन्तकहरू हुनुहुन्छ। उहाँहरूले जुन माया देखाउनु भयो, त्यो मेरा लागि रिवार्ड भयो। म आफूलाई पढिदिने मानिसहरूलाई सम्पूर्ण ठान्छु। लेखन क्षेत्रका सामाजिक सम्बन्धमा ध्यान दिएर आफ्नो ऊर्जा सक्दिनँ। पाठक कमाउन त अखबारी लेखनले नै सघायो। स्वतः सहज भयो।

कुराकानी लामै भयो। बिट मारौं क्यार, (डुमेरो) लेखनले तपाईंलाई पीडाले थला पार्‍यो या रोमाञ्चित अनुभव दिलायो?

डुमेरोले मेरो मस्तिष्क शान्त र आनन्दित पारिदियो। रोमाञ्चकता नै थपिदियो। लेखन यात्राको समयमा हुने उतारचढाव त सामान्य हो। डुमेरो प्रकाशित भएपछि म सुखको अर्कै तहमा पुगें।

​तस्वीर : सरला गौतम

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.