|

काठमाडौं : राज्य संचालकहरूले सार्वजनिक कार्यक्रम भन्ने गर्छन्,‘नेपालको अवस्था फेरिसक्यो,केन्द्रको सिंहदरबार गाउँगाउँमा पुग्यो, केही समस्या छैन।’ 

उनीहरूले भनेजस्तै भएकाे भए गाउँगाउँका सडक यतिखेर चिल्ला भएका हुन्थे। सवारी साधन सरर गुड्थे। स्थानीयले सजिलैसँग सेवा पाएकाे अनुभूति गर्थे होला। तर बिडम्बना। विकट जिल्लाका नागरिक अभावमै गुज्रिरहेका छन्। जनप्रतिनिधिले चुनावताका बेला घरदैलोमा बाचा गरेका चुनावी घोषणा पनि हराइसके। नेपालीहरूको महान चाड बडादशैँ आजबाट सुरु भइसकेकाे छ।

हुम्ला,डोल्पालगायत विकट जिल्लाका स्थानीयलाई दशैँले छोएको छैन। दशैँको वेला पनि चामल पाउन सकेका छैनन्। चाडपर्व आउँदा पनि दुर्गमका नागरिक खुसी छैनन्। अरु समयमा खाद्यान्नको अभाव त हुने नै गर्छ। तर पर्वको वेला पनि भाेकाे पेट भर्न चामल पाएका छैनन्।  

जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार यस वर्षको दशैँमा पनि खाद्यान्नको अभाव भएको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्य भन्छन्,‘यसपालीको दशैँमा पनि खाद्यान्नको अभाव भयो, स्थानीय भनेजस्तै चामल पाएका छैनन्।’

उनका अनुसार सडक छैन्। भएका सडक पनि वर्षाले बिगारिदिएको छ। मर्मत हुन सकेको छैन। त्यसैले यातायातका साधन नचल्दा खाद्यन्न आयत गर्न नसकेको उनी बताउँछन्। ‘स्थानीय तह,हामी मिलेर प्रदेश र केन्द्र सरकारलाई तत्काल तेल चामललगायत दैनिक उपभोग्य वस्तु ल्याउन माग गरेका छौँ,हवाइजहाजबाट भएपनि ल्याउने प्रयासमा छौँ,’उनले पहलबारे भने।

त्यहाँ उत्पादन भएको खाद्यान्नले वर्षेनी ६ महिनामात्रै पुग्ने गरेको छ। अरु महिनाका लागि स्थानीय बाहिरबाट आउने खाद्यान्नमा निर्भर हुनुपर्ने बाध्यता छ। डोल्पाका स्थानीयले पनि चाडपर्वको वेला भनेजस्तै खाद्यान्न पाउन सकेका छैनन्। जिल्ला प्रशासन कार्यालय डोल्पाले अभाव हुन नदिन पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकाल बताउँछन्।

‘हामीले खाद्य कम्पनीलगायत निकायसँग खाद्यान्न व्यवस्था गर्न भनिसकेका छौँ,’उनले भने,‘अहिले खासै अभाव नै भएको छैन,केही असहज चाहिँ छ, स्थानीयको मागलाई संवाेधन गर्ने पहल गरिरहेका छौँ।’ उनका अनुसार त्यहाँ अहिले हरियो सागसब्जीको बढी अभाव छ। उत्पादन हुन नसक्दा भनेजस्तै स्थानीय तरकारी खरिद बिक्री गर्न सकेका छैनन्।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले भने जुम्लामा खाद्यान्न उत्पादन हुने भएकाले अभाव नभएको जानकारी दिइन। ‘यहाँका स्थानीय आफैले खाद्य वस्तुहरू उत्पादन गर्दा रहेछन्, त्यसैले दशैँमा अभाव हुँदैन,’उनले भनिन्।

वर्षातको समयमा झनै समस्या

अझै पनि विकट जिल्लाका अधिकांश क्षेत्रमा सडक सञ्जालमा जोडिएको छैन। जोडिएको पनि कालाेपत्रे छैन। कच्ची सडक पानी पर्दा सबै भत्किने गर्छ। कुनै सडक पुरिएका छन्। जिल्ला प्रशासन कार्यालय मुगुका अनुसार बढी पानी परेको बेला सडक अवरुद्ध हुँदा समयमा खाद्य वस्तुहरूको आयात गर्न नसकिने समस्या छ।

मुगुका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले भने,‘वर्षातको सिजनमा बाटो बिग्रिन्छ,त्यही भएर खाद्यान्न ल्याउनै सकिन्न,अहिले दशैँको लागि भने अभाव छैन, म आफै पनि बजार अनुगमन गर्छु, यो दशैँमा स्थानीयले सहज रुपमै खाद्यान्न पाउने छन्।’

उनका अनुसार नाक्माघाट-गमगडी सडकबाट मुख्य गरी खाद्यान्न ल्याइने गरिन्छ। ‘यो बाटो मर्मत गरिसकेका छौँ,सूचारु छ,’उनले भने। स्थानीयको भनेजस्तै खाद्यान्न नपाएको गुनासो आए त्यसलाई समाधान गर्ने उनको भनाइ छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.