|

कञ्चनपुर : पश्चिमी सीमानाका गड्डाचौकी भएर भारतबाट घर फर्कनेको लर्को लागेको छ। सीमाक्षेत्रमा खटिएका प्रहरीका अनुसार भारतबाट दैनिक एक हजारभन्दा बढी फर्कन थालेका छन्।

भारतबाट फर्कनेको संख्या बढेसँगै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको व्यस्तता बढेको छ। सामान चेकजाँचमा प्रहरीले कुकुर सहितको टोली परिचालन गरेको छ। सीमाक्षेत्र भएर फर्कने यात्रुको सुरक्षाका लागि कुकुरसहितको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

सीमाक्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्न र अवैध सामान ओसारपसार नियन्त्रण गर्न सादा पोशाकमा प्रहरीलाई परिचालन गरिएको उनले बताए।
‘यात्रुलाई नशालु पदार्थ खुवाएर लुटपाट हुने कार्य रोक्न समेत प्रहरी सक्रिय रूपमा लागेको छ’, उनले भने, ‘तोकिएको भन्दा बढी भाडा लिने सवारीसाधन माथि निगरानीका साथै कारबाही गर्दै आएका छौं।’ प्रहरीले सीमाक्षेत्र भएर फर्कनेको विवरण राख्न थालेको छ।

स्वास्थ्यकर्मीको टोलीले सीमाक्षेत्रमै रहेको हेल्थ डेस्कमा भारतबाट घर फर्किने व्यक्तिलाई गड्डाचौकीमै कोरोना परीक्षण तथा खोप लगाउने व्यवस्था मिलाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, कञ्चनपुरले भारतबाट आउने १८ वर्षमाथि उमेर समूहका खोप नलगाएका मानिसलाई नाकामै कोरोनाविरुद्धको खोप लगाउने थालेको छ। कोरोना महामारीबाट बच्न भारतबाट फर्कनेको एन्टीजेन परीक्षण गर्ने गरिएको गड्डाचौकी नाकामा खटिएका स्वास्थ्य कार्यालय, कञ्चनपुरका स्वास्थ्य अधिकृत महेश महराले बताए।

‘भारतमा कोरोना खोप नलगाएकालाई खोप लगाउने गरेका छौं’’‚ उनले भने, ‘खोप लगाएकालाई एन्टीजेन परीक्षण गरिरहेका छौं।’

दशैंमा घर आउन पाउँदाको खुशी

भारतको नयाँदिल्लीमा १५ वर्षदेखि गाडी चलाउँदै आएका बाजुराका रामबहादुर रोकाया घर फर्किन पाउँदा निकै खुशी छन्।

कोरोना महामारीका कारण दुई वर्षदेखि घर आउन नपाएका रोकाया यसपालि परिवारसँगै दशैँ मनाउन घर फर्केका हुन्। उनले भने, ‘धेरै वर्षपछि परिवारसँग दशैं मनाउन पाउने भएकाले उत्साहित छु। अर्काको देशमा रोजगारी गर्न सहज छैन।’

विदेशमा कमाइ भए पनि परिवारसँग बस्दा मिल्ने खुशी बेग्लै भएको उनले बताए। अब नेपालमै रोजगारी गर्ने योजना रहेको रोकायाले सुनाए। ‘अब गाडी त चलाउँदिनँ’, उनले भने, ‘गाउँमै व्यापार व्यवसाय गर्छु।’

कैलालीको गौरीगंगाका राधेश्याम चौधरी बेरोजगार भएपछि गत वर्ष कोरोना कहरकै वेला भारततर्फ लागेका थिए। उनी गौरीगंगाकै एउटा उद्योगमा पानी ढुवानी गर्थे। चौधरीले भने, ‘कोरोनाले त्यो रोजगारी खोस्यो, घर खर्च जुटाउन समस्या भएपछि भारत गएँ।’

भारतमा एक वर्ष काम गरेर घर खर्चको जोहो गरेपछि उनी फिरेका हुन्। ‘दशैँ मनाउन घर आएको हुँ’, उनले भने, ‘दशैँतिहार सक्किएपछि फेरि काम गर्न उतै जान्छु।’

चौधरीको जस्तै अनेक बाध्यताले भारत गएकाहरू दशैँ मनाउनकै लागि घर फर्किरहेका छन्। बाजुराकी लक्ष्मीदेवी बुढा दशैँ खर्च जुटाउन तीन महिनाअगाडि भारत पुगेकी थिइन्।

उनले अल्मोडामा तीन महिना खोटो संकलन गरिन्। त्यो काम गरेबापत आएको पैसाले दशैँ मनाउन घर फर्किएको उनले बताइन्। ‘खोटो संकलन गरेर थोरै भए पनि दशैँ खर्च ल्याएकी छु’, उनले भनिन्, ‘यो वर्ष दशैँ खुशीमय बन्ने भयो।’

पश्चिमी गड्डाचौकी नाकाबाट दशैँ सुरु भएपछि घर फर्किनेको ओइरो लागेको छ। असोज १ देखि २२ गतेसम्म स्वदेश भित्रिनेको संख्या १८ हजार २ सय रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.