|

काभ्रेपलाञ्चोक : मण्डनदेउपुर नगरपालिकाले कोभिड–१९ बाट मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई नगद सहयोग प्रदान गरेको छ। नगरपालिकाले शुक्रबार सहयोग रकम वितरण कार्यक्रम आयोजना गरी प्रतिमृतक ५० हजार रुपैयाँका दरले १८ जनाको परिवारलाई रकम सहयोग प्रदान गरेको हो।

नगरपालिका स्वास्थ्य शाखाका अधिकृत दीपक घिमिरेले नगरपालिकाभित्रका कोभिड–१९ को संक्रमणका कारण उपचारको क्रममा मृत्यु भएकाको परिवारलाई उक्त रकम वितरण गरेको बताए। कोभिड–१९ को संक्रमणबाट संक्रमित भई जिल्लाभित्रैका अस्पताल तथा जिल्लाबाहिरका अस्पतालमा उपचारको क्रममा पहिलो लहरमा मृत्यु भएको चार र दोस्रो लहरको संक्रमणमा परी मृत्यु भएका २२ गरी २६ जना नगरभित्रका बासिन्दाको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ।

जसमध्ये १८ जनाको परिवारलाई सहयोग रकम वितरण गरेको र वितरण गर्न बाँकीलाई पनि नाता प्रमाणित र वडा कार्यालयको सिफारिससहित आवश्यक कागजात पुर्‍याएर सम्पर्कमा आउनेलाई छिट्टै रकम वितरण गर्ने जनाइएको छ। नगरपालिका प्रमुख टोकबहादुर वाइबाले कोभिड–१९ संक्रमणको कारण मृत्यु भएकाको परिवारलाई नगरपालिकाको तर्फबाट सान्त्वनास्वरुप नगद सहयोग प्रदान गरेको बताए।

‘संक्रमणमा परेकालाई बचाउन हरतरहले उपचारका लागि सहयोग गर्दा पनि बचाउन नसकेपछि मृत्यु भएकाको परिवारमा विचल्लीमा रहेकालाई सान्त्वनास्वरुप सहयोग गरेका हौँ,’ नगर प्रमुख वाइबाले भने, ֲविपद् र समस्यामा नगरबासीको साथमा सधैँभरि नगरपालिका रहेको छ भन्ने उदारहणको लागि पनि यो सहयोग रकम प्रदान गरेका हौँ।’ नगरपालिकाको नवौँ नगरसभाले नै पारित गरेको निर्णयअनुसार शुक्रबार मृतक परिवारलाई रकम सहयोग वितरण गरेको प्रमुख वाइबाले बताए।

त्यस्तै संक्रमण भएर भेन्टिलेटरमा उपचार गराएका विपन्न बिरामीलाई पनि २५ हजार रुपैयाँका दरले रकम सहयोग गर्ने भएको वाइबाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.