|

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस सांसदहरूले धौडधुप थालेका छन्। शनिबार सांसदहरूले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरेका छन्।

कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलसहितको टोलीले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम सरकारले सत्ता गठबन्धन अनुरुप काम नगरेको भन्दै मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरेका हुन्। सुदूरपश्चिममा कांग्रेसले मुख्यमन्त्री पाउनुपर्ने उनीहरूको देउवासँग माग राखेको भेटमा सहभागी एक सांसदले बताए। 

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री भेट्न दलका नेता रावलसहित प्रमुख सचेतक गोबिन्द बोहरा र सांसद भरत खड्का पुगेका थिए। तीनै जनाले प्रदेशमा गठबन्धनले कांग्रेसलाई सहयोग नगरेको देउवालाई जानकारी गराएका थिए।


‘सुदूरपश्चिम प्रदेशमा हामीले सरकारलाई सहयोग गरिरहेका छौँ। तर, सरकारले हामीलाई सहयोग गरेन’ देउवासँगको भेटमा कांग्रेस सांसदहरूले भनेका थिए ‘के सुदूरपश्चिम प्रदेशमा दुई पार्टीको मात्रै गठबन्धन हो।’ केन्द्रमा गठबन्धन हुँदा प्रदेशमा भने बेवास्ता गरिएको उनीहरूले प्रधानमन्त्रीलाई गुनासो गरेका थिए।

गठबन्धनको नीति अनुसार सुदूरपश्चिम सरकारले काम नगरेको उनीहरूले जानकारी गराएका थिए। माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेशमा अहिले नेकपा (एकीकृत समाजवादी)  र नेकपा मा‍ओवादी केन्द्रकाे मात्रै सरकारमा छन्। 

तीनै जनाको गुनासोपछि देउवाले गठबन्धनको बैठक याे विषय राख्ने बताएको भेटमा सहभागि एक सांसदले बताए। गठबन्धनको बैठक राखेर आवश्यक निर्णय लिइने उनले बताएका थिए। 'यो गठबन्धन सबैको साझा कुरा हो। यसमा सबै मिलेर अघि बढ्नुपर्छ’ प्रधानमन्त्रीले भनेका थिए, ‘सम्बन्धित पार्टीका नेताहरूले पनि बुझ्नु पर्छ। मैले प्रस्ताव राख्छु।’ केही दिनमै यस विषयमा छलफल गर्ने तयारी रहेको र ठोस निर्णय लिने प्रधानमन्त्रीको भनाई रहेको बताइएको छ।

नेपाली कांग्रेसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका कांग्रेसले नेतृत्व पाउनु पर्ने बताउँदै आइरहेका छन्। कांग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको छ। माओवादीले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीसमेत गरी तीन वटा प्रदेशमा मुख्यमन्त्री पाएको छ। सुदूरपश्चिम प्रदेशमा कांग्रेसले नेतृत्व लिए कांग्रेस माओवादी र एसले २/२ प्रदेशको नेतृत्व पाउने छन्।

हाल सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। उनलाई एकीकृत समाजवादीको समर्थन छ। यसअघि विश्वासको मत लिँदा भट्टलाई नेपाली कांग्रेसले मतदान नगरी तटस्थ बसेको थियो। हाल ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादीका १३ र कांग्रेसका १२ सांसद छन्।

प्रतिपक्षी एमालेसँग १० सांसद छन् भने साना दुई दलमा २ सांसद छन्। दुई मध्ये एक जना जसपा र एक जना लोसपाका सांसद हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.