|

काबुलः अफगान नागरिक समाजका प्रतिनिधिले युवाबीचको वैमनष्य रोक्न सके युद्ध अन्त्य हुने बताएका छन्।

उनीहरूले युवालाई नभड्काउन विभिन्न पक्षसँग अनुरोध पनि गरेका छन्। युवाहरूलाई भड्काउँदा उनीहरूबीच वैमनष्य बढ्ने र यसबाट समाजमा द्वन्द्व हुने अफगान नागरिकको बुझाइ छ। यसका साथै उनीहरूले सम्बद्ध पक्षलाई लडाइँ रोक्न र वार्ता तालिकामा फर्कन आह्वान गरेका छन्।

अधिकारकर्मी शय्या महराबानले युद्धबाट महिला र युवा सबैभन्दा पीडित भएको जानकारी दिइन्। यस्तो अवस्थामा पनि युवाबीच वैमनष्य बढ्ने काम भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।

अफगान संकटबाट बढी पीडित बनेको यो समूह नै युद्धको विपक्षमा उभिनुपर्नेमा उनले जोड दिइन्। युद्ध यसको समाधान होइन। सबैले दुःख भोग्नुपरेको र युद्धमा आफन्त गुमाएकाले युवालाई यसका बारेमा सोच्न पनि उनीहरूले आग्रह गरेका छन्।

कार्यक्रममा पञ्जशीर, परवान र कपिसा प्रान्तका धार्मिक संस्था, नागरिक समाज, महिला परिषद्लगायतका क्षेत्रमा प्रतिनिधित्व गर्ने वक्ताले हिंसा, सशस्त्र द्वन्द्व र ज्यान गुमाउनुको कुनै औचित्य नरहेको पनि स्पष्ट पारेका छन्।​

कापिसा प्रान्तीय परिषद्‌का पूर्वसदस्य नजिबुल्लाह रहिमीले युद्धलाई शरिया र अन्तरराष्ट्रिय कानुन दुवैले निषेध गरेकाले युद्धका लागि उकास्न नहुनेमा जोड दिए। उनले भने, ‘युद्ध रोक्न आफ्नो भूमिका निर्वाह गर्नु हरेक अफगानको धार्मिक र नैतिक जिम्मेवारी हो।’ लामो समय युद्धमा बिताएका अफगानीले थप युद्ध सहन नसक्ने बताए।

अर्का वक्ता शर्मिला बेगीले तर्क र शान्तिपूर्ण माध्यमद्वारा एकअर्काको विचारलाई सहनु र आदर गर्नु महत्वपूर्ण भएको धारणा राखिन्। उनले अफगानिस्तानमा शान्तिको विकल्प नभएको भन्दै सबै जातीय, धार्मिक र क्षेत्रीय मतभेद सम्बोधन गरी युद्ध अन्त्य गर्नुको विकल्प नभएको बताइन्।

रोया साबेतले युद्धले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन बढी कष्टकर बनाएको स्मरण गरिन्। उनले युद्धरत पक्षलाई एक अर्कालाई आक्रमण गर्ने काम रोकी नयाँ र समृद्ध अफगानिस्तान निर्माणमा जुट्न आग्रह गरिन्।

उक्त कार्यक्रममा पञ्जशीरका मौलवी अहमदुल्ला हाशेमिनाजादले अफगानिस्तानका जनताले विश्वकै सबैभन्दा लामो युद्ध लडेको र यसबाट ठूलो क्षति ब्यहोरेको भन्दै युवाले आपसमा वैमनष्य गर्न नहुने बताए। 

-एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.